Comments Add Comment

धनगढीको सरकारी आइसोलेसनमा ३६ जना मात्रै, १२१ संक्रमित कहाँ छन् ?

२७ भदौ कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा तयार गरेको आइसोलेसनका शय्याहरु खाली जस्तै छन् । ठूलो संख्यामा संक्रमितहरू सरकारी आइसोलेसनमा छैनन् ।

अहिले धनगढी उपमहानगरपालिकामा १५७ जना सक्रिय संक्रमित छन् । तर, उनीहरु सरकारी आइसोलेसनभन्दा बढी घरमै बसिरहेका छन् । आइसोलेसनभन्दा घरमा धेरै संक्रमितहरु रहेकाले जिल्लामा कोरोना संक्रमण फैलिने हो कि भन्ने चिन्ता स्वास्थ्य अधिकारीहरुलाई छ ।

धनगढीमा स्थानीय तहले २ वटा आइसोलेसन बनाएका छन् । प्रदेश सरकारले एउटा कोरोना अस्पताल तयार पारेको छ । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १५ कनरीमा तयार पारेको २ सय बढी क्षमताको आइसोलेसन कक्षमा हाल १५ जना मात्रै संक्रमित छन् । उपमहानगरपालिकाले बी पोलिटेक्निकलाई पनि आइसोलेसन बनाएको छ । १२ शय्याको उक्त आइसोलेसनमा ४ जना मात्रै संक्रमित छन् ।

प्रदेश सरकारले संक्रमितहरुको उपचारको लागि अस्थायी कोरोना अस्पताल तयार गरेको छ । ४८ शय्याको उक्त अस्पतालमा अहिले १८ जना मात्रै संक्रमित उपचाररत छन् ।

यीबाहेक १२१ सक्रिय संक्रमित अहिले पनि घरमै रहेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्याय भन्छन्- सबैको घरमा मापदण्ड नहुन सक्छ त्यसले संक्रमण रोक्नभन्दा बढी फैलिने खतरा छ

धनगढीमा रहेका ४१ प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरूलाई प्रहरीले छुट्टै आइसोलेसन तयार पारेर राखेको छ । २ महिलालाई नगरपालिकाले बनाएको आइसोलेसनमा राखिएको र ३९ पुरुष प्रहरीलाई धनगढीकै प्रहरी अवासीय विद्यालयको आइसोलेसनमा राखिएको बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

जोखिम

बढी संक्रमितहरू सरकारी आइसोलनमा नभई घरमै बस्दा संक्रमण फैलने खतरा बढेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । ‘हामीसँग बेड हुँदाहुँदै उहाँहरू घरमा बस्नु भएको छ । केही व्यक्तिहरू त बजारमा समेत आउने गरेको गुनासो बढेको छ,’ उनले भने, ‘घरमै बस्दा मापदण्ड पूरा नगरे खतरा बढ्ने संकेत देखिएको छ ।’

एउटै परिवारका धेरैलाई संक्रमण हुँदै पूरै परिवारले घरलाई नै आइसोलेसन बनाएर बसिरहेको समेत उनले जानकारी दिए ।

प्रदेश सरकारले तयार गरेको कोरोना अस्थायी अस्पतालमा भने लक्षण देखिएका संक्रमितहरूलाई मात्रै ल्याउने गरिएको छ । ‘कोरोना लक्षण भएका व्यक्तिहरूलाई मात्रै हामी अस्पतालमा भर्ना गर्छौं ‘अस्पतालका सूचना अधिकारीले भने, ‘अहिले १८ जनाको उपचार भइरहेको छ ।’

धनगढीमा मात्रै अहिलेसम्म २ हजार ५ सय बढीको नमुना परीक्षण गरिएको छ । उनीहरुमध्ये ३७० जना संक्रमित फेला परेका छन् ।  तीमध्ये १९५ जना स्थानीय हुन् । धनगढीमा ५२ प्रतिशत स्थानीयमा संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ ।

‘ठूलो संख्यामा स्थानीयमा संक्रमण फैलिएपछि समुदायमै संक्रमण फैलिएको आशंका छ,’ उपाध्यायले भने, ‘हामीले परीक्षणको दायरा समेत बढाएका छौं ।’

अहिले संक्रमितमध्ये झन्डै ९० प्रतिशत व्यक्तिलाई समुदायबाटै संक्रमण भएको उनले बताए । यस्तो अवस्थामा ठूलो संख्यामा संक्रमितहरू घरमै बस्दा थप जोखिम हुन सक्ने उनी बताउँछन् । पछिल्लो २ हप्तायता देखिएका ९० प्रतिशत संक्रमित समुदायकै हुन् ।

‘हामीले आइसोलेसनमा रहेकाहरूको १० दिनमा स्वाब परीक्षण गर्छौं तर घरमा रहेकाहरुलाई घरमै स्वाब परीक्षण गर्ने व्यवस्था छैन । उहाँहरू सम्बन्धित ठाउँमा आउँदा पनि संक्रमण फैलिन खतरा छ,’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयले पनि सरकारी आइसोलेसन हुँदाहुँदै घरमा रहनु उपयुक्त नभएको बताएको छ । उपाध्याय भन्छन्, ‘सबैको घरमा मापदण्ड नहुन सक्छ त्यसले संक्रमण रोक्नभन्दा बढी फैलिने खतरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment