Comments Add Comment

सालाहको ह्याट्रिकमा लिभरपुलको जित

२८ भदौ, काठमाडौं । साविक विजेता लिभरपुलले नयाँ सिजनको प्रिमियर लिगको पहिलो खेलमै जित हात पार्न संघर्ष गर्नुपर्‍यो । शनिवार भएको रोमाञ्चक खेलमा मोहम्मद सालाहको ह्याट्रिक मद्दतमा लिभरपुलले नवप्रवेशी लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको हो ।

लिभरपुलको घरेलु मैदान एनफिलडमा भएको खेलको पहिलो हाफमै गोलको वर्षा भएको थियो । पहिलो हाफमा पाँच गोल भएको खेलको अन्तिम समयतिर सालाहले निर्णायक गोल गरेका थिए । सालाहले दुई गोल पेनाल्टीमा गरेका थिए ।

खेलको सुरुमै लिभरपुलले अग्रता लिएको थियो । सन् २००४ पछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको लिड्सले लिभरपुललाई सुरुवातदेखि नै चुनौती दिएको थियो ।

चौथो मिनेटमै सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । १२ मिनेटमा ज्याक ह्यारिसले लिड्सका लागि बराबरी गोल फर्काए । २०औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । त्यसको दश मिनेटपछि प्याट्रिक बामफोर्डले लिड्सका लागि फेरि बराबरी गोल फर्काए । तर ३३औं मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुले ३-२ को अग्रता बनायो ।

३३ मिनेटपछि नै माटेउस क्लिसचले लिड्सका लागि बराबरी गोल फर्काउँदा खेल ३-३ को प्रतिस्पर्धात्मक अवस्थामा पुगेको थियो ।

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला ८८औं मिनेटमा लिभरपुलले अर्को पेनाल्टी पायो । लिड्सका रोड्रिगोले फाबिन्होलाई फाउल गरेपछि लिभरपुलले पेनाल्टी पायो जसमा सालाहले सहजै गोल गरे ।

क्रिस्टल प्यालेसको विजयी सुरुवात

शनिवारै भएको खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको १३औं मिनेटमा विलफ्रड जाहाले गरेको गोल नै प्यालेसको जितमा निर्णायक बन्यो ।

यस्तै शनिबार रात भएको खेलमा न्यूकासल युनाइटेडले वेष्टहम युनाइटेडलाई २-० ले पराजित गरेको छ । त्यसअघि उद्घाटन खेलमा आर्सनलले फुलहमलाई ३-० ले पराजित गरेको थियो । न्यूकासलका लागि कलुम विल्सन र जेफ हेन्ड्रिकले एक-एक गोल गरे ।

म्यानचेष्टर सिटी र एस्टल भिल्ला तथा म्यानचेष्टर युनाइटेड र बर्नलीबीचको खेल भने पछि सारिएको छ । प्रिमियर लिगको खेल तालिका अनुसार यी खेल पहिलो दिनमै परेपछि दुई म्यानचेष्टर क्लबले युरोपियन प्रतियोगिता खेलेकाले उनीहरुलाई आरामको लागि खेल पछि सारिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment