Comments Add Comment

हिरासतमा मृत्यु प्रकरण : स्थानीयद्वारा प्रहरी कार्यालयबाहिर नाराबाजी

२८ भदौ, कैलाली । कैलालीमा हिरासतमा युवकको मृत्यु भएको विषयलाई लिएर आफन्त र स्थानीय वासिन्दाले आइतबार पनि धनगढीमा प्रदर्शन गरेका छन् ।

शुक्रबार हिरासतमा धनगढी उपमहानगरपालिका– ५ का रोशन विकको मृत्यु भएपछि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग गर्दै आफन्त र स्थानीयले प्रहरी कार्यालयबाहिर नाराबाजी गरेका हुन् ।

२२ गते डाँका चोरी मुद्दामा पक्राउ परेका रोशन ४ दिनपछि हिरासतमा मृत भेटिएका थिए । प्रहरीले भने उनले हिरासतको शौचालयमा आफ्नै सर्टको पासो लगाएर आत्महत्या गरेको दावी गरेको छ । तर परिवारका सदस्यले रोशनको आँखा, शरीरका विभिन्न भागमा निलडाम र घाउ देखिएको भन्दै हत्या भएको दावी गरेका छन् ।

छानबिन टोलीले सुरु गर्‍यो काम

हिरासत कक्षमा युवकको मृत्यु भएको घटनाको छानबिनका लागि प्रदेश प्रहरी कार्यालयले गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ ।

सशस्त्र प्रहरी गण धनगढीका प्रहरी उपरीक्षक राजीव बस्नेतको नेतृत्वमा गठन भएको ५ सदस्यीय छानबिन टोलीले घटनास्थलको अवस्थाका साथै थुनुवासँग समेत घटनाबारे जानकारी लिइरहेको छ ।

‘हामीले छानबिन गरिरहेका छौँ’ टोली प्रमुख प्रहरी उपरीक्षक बस्नेतले भने ‘हामीले पहिले घटनास्थल हे¥यौं । अहिले थुनुवासँग कुरा बुझिरहेका छौं ।’

पत्रकार पनि आन्दोलित

हिरासतमा युवकको मृत्यु भएकै दिन त्यसै विषयको समाचारलाई लिएर धनगढीको दिनेश सञ्चार गृहमा आक्रमण भएको थियो । आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै आइतबार धनगढीमा पत्रकारले पनि प्रदर्शन गरेका छन् ।

शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए । दिनेश खबर डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सञ्चार गृहमा पुगेको समूहले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेको थियो ।

कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको २ दिनसम्म पनि आक्रमणमा संलग्नहरू पक्राउ परेका छैनन् । आइतबार धनगढीको पार्क मोडबाट जिल्ला प्रशासनसम्म पत्रकारले र्‍याली निकालेका छन् ।

प्रशासन कार्यालय अगाडिको कोणसभामा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगत साउदले पत्रकारलाई कुटपिट गर्नेमाथि कारबही नगरेसम्म आन्दोलन नरोकिने बताए ।

आयोगद्वारा छानबिनको माग

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले विकको मृत्युको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दे दिनेश सञ्चार गृहमा भएको आक्रमण र बिक मृत्यु प्रकरणलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका सुदूरपश्चिम प्रदेश संयोजक झंकर रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा दुवै घटनाका दोषीलाई कानुनको दायरामा ल्याई यथाशीघ्र कारबाही गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment