+
+
Shares

सरकारकै लापरवाहीका कारण बाढीपहिरोबाट जनधनको ठूलो क्षति : जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २९ गते १५:०७

२९ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले सरकारले विज्ञको सुझाव र जनताको मागलाई बेवास्ता गर्दा नै बाढी पहिरोबाट जनधनको ठूलो क्षति भएको निश्कर्ष निकालेको छ ।

२०७२ को विनाशकारी भूकम्पले गर्दा कैयन पहाडी जिल्लाका गाउँबस्ती जोखिमयुक्त रहेकोले ती गाउँबस्तीलाई स्थानान्तरण गर्न विज्ञहरूले सिफारिस गरेको तर सरकारले त्यसलाई वास्ता नगरेको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति निकालेर बताएका छन् ।

‘सिन्धुपाल्चोक जिल्लाका त्यस्ता गाउँबस्तीमा रहेका जनताले पनि बस्ती स्थानान्तरण गर्न प्रशासन समक्ष माग गर्दै आएका थिए, सरकारले विज्ञको सुझाव र जनताको मागलाई वेवास्ता गर्‍यो’ विज्ञप्तिमा भनिएको छ, ‘वास्तवमा सरकारको लापरवाहीका कारणले यति ठूलो जनधनको क्षति हुन पुगेको छ ।’

गत शनिबार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकामा ११ जनाको मृत्यु र २० जनालाई बेपत्ता पारेको पहिरोपछि जनमोर्चाले यस्तो विज्ञप्ति जारी गरेको हो ।

बागलुङ जिल्लाको ढोरपाटन–९ भुजी खोला क्षेत्रमा केही दिनअघि आएको बाढी र पहिरोबाट ७५ घर ध्वस्त हुनुमा पनि सरकारको लापरवाही जिम्मेवार रहेको उसको ठहर छ ।

‘खानी तथा भूगर्भ विभागका विज्ञ कर्मचारीहरूले भुजी खोलाको पहाडको अवस्थिति, माटो तथा भूबनोट समेतको अध्ययन गरेर ती बस्ती जोखिममा रहेको जनाएका थिए’ केसीले भनेका छन्, ‘त्यसबारे पनि सरकारले कुनै कदम चालेन र अहिले त्यति ठूलो जनधनको क्षति भयो, यसबारेमा हामी सरकारको कडा आलोचना गर्दछौं ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले जोखिमयुक्त गाउँबस्ती सुरक्षित ठाउँमा सार्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?