Comments Add Comment

शिखर नगरपालिकाको निर्माणाधीन भवनमा गुणस्तरहीन सामग्री प्रयोग भएको गुनासो

निर्माण भइरहेको पीपीसी भत्काउन थालियो

नगरपालिकाको निर्माणाधीन भवन / तस्वीर- झलक पाली

३० भदौ, डोटी । शिखर नगरपालिका डोटीको निर्माणाधीन नयाँ भवनमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको गुनासो आएपछि पीसीसी भत्काउन थालिएको छ ।

गत जेठ ३२ गते सम्झौता गरी सोही दिन कार्यादेश दिई निर्माण कार्य सुरु भएको भवनको भुईँ सतहको भागमै मापदण्ड विपरीत र गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएपछि उक्त काम भत्काउन थालिएको हो ।

भुईँ तलाको भागमा ४५ सेन्टिमिटरसम्म गिट्टी, बालुवा, सिमेन्ट मिसाएर पीसीसी गर्नुपर्नेमा भित्र माटो र ढुङ्गा भर्दै माथिल्लो सतहमा मात्रै सिमेन्ट प्रयोग भएको फेला परेको हो

तोकिएको मापदण्ड विपरीत भवन निर्माण भइरहेकोले तत्काल रोक्नु पर्ने भन्दै शिखर नगरपालिका-११ का जगन्नाथ बलायरले सामाजिक सञ्जालमा फोटोसहित सूचना पोष्ट गरेपछि उक्त कुरा बाहिर आएको थियो ।

मापदण्डविपरीत काम भइरहेको गुनासो आएपछि त्यो सबै भत्काउन थालिएको नगरपालिकाका सव-इन्जिनियर अमर रावतले जानकारी दिए । के कति काम मापदण्ड विपरीत भएको छ भन्ने बारेमा भत्काउँदै गएपछि मात्रै भन्न सकिने रावतले बताए ।

रातिको समयमा भवन निर्माण कार्य नगर्न भनिएको भए पनि कम्पनीले रातिराति काम गर्ने गरेको सब-इन्जिनियर रावतको भनाइ छ । तर नगरपालिकाले भन्दाभन्दै पनि नमान्ने निर्माण व्यवसायीलाई कस्तो कारबाही भयो, यसमा उनी मौन छन् ।

एक करोड ५६ लाख नौ हजार तीन सय ११ रुपैयाँ लागत इष्टिमेट रहेको शिखर नगरपालिकाको कार्यालय भवन निर्माणका लागि विभोर निर्माण सेवा डोटीसँग सम्झौता भएको छ ।

उक्त निर्माण सेवाले एक करोड सात लाख ७१ हजार ६ सय ९८ रुपैयाँ आर्थात् लागत इष्टिमेटको करिब ३० प्रतिशत घटीमा भवन निर्माण गर्ने कवोल गरेको सम्झौता पत्रमा उल्लेख छ । स्रोतका अनुसार उक्त निर्माण सेवा शिखर नगरपालिकाकै लेखा शाखाका एक कर्मचारीका छोराको नाममा छ ।

कर्मचारीको छोराको नाममा उक्त निर्माण सेवा रहेको स्वीकार गर्छन् नगरपालिकाका ईन्जिनियर लोकेन्द्र खड्का । उनी भन्छन्, ‘ई-बिडिङ्गमार्फत टेण्डर आहृवान भएको हुँदा यसले समस्या हुँदैन ।’

कम रकम जसले सकार गरेको छ, उसैलाई ठेक्का दिने कानूनी व्यवस्था रहेको उनी बताउँछन् । लागत इष्टिमेट अनुसारकै काम गर्नु पर्ने र २०७८ साल वैशाख १५ गतेभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने सम्झौता पत्रको सर्त छ ।

बिभोर निर्माण सेवासँग सम्झौता भएको भए पनि भवन निर्माणको सम्पूर्ण जिम्मा आफूलाई रहेको निर्माण व्यवसायी नृप खड्काले बताए ।

आफूले राम्रैसँग काम गरिरहेका बेला शिखर नगरपालिका-८ तिल्ताली गाउँका स्थानीय मानिसहरुको समूहले आफूहरुलाई पनि काम गर्न दिनुपर्ने माग राख्दै भदौ २७ गते राति निर्माणस्थलमा आएको एवं जवरजस्त र मापदण्डविपरीत निर्माण गरेको खड्काको भनाइ छ ।

सो समूहले आफू र भाइ हिमाल खड्कामाथि हातपातसमेत गरेको र प्रहरीको सहायताले विवाद साम्य भएको खड्काको भनाइ छ । तर ती समूहमा आएका मानिस को हुन् ? किन जवरजस्त काम गरे ? भन्ने प्रश्नको भने निर्माण व्यवसायी खड्काले बताएनन् ।

प्रहरीले विवाद साम्य पारेको भए हातपात गर्नेविरुद्ध कानुनी कारबाहीका लागि किन जाहेरी नदिएको ? भन्ने प्रश्नमा खड्काले नचिनेका समूह भएकाले उजुरी नगरेको जवाफ दिए ।

आफूहरुलाई इष्टिमेट अनुसारको काम चाहिने बताउँदै नगरपालिकाका इन्जिनियर खड्का भन्छन्, ‘जति काम मापदण्ड विपरीत भएको छ, त्यति सवै भत्काएर नयाँ निर्माण गर्न लगाइन्छ ।’ उनले निर्माण व्यवसायीको जे समस्या भएपनि कवोल गरेर सम्झौता गरिसकेपछि सो अनुसारको काम गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment