Comments Add Comment
कोभिड–१९ :

वीरगञ्जमा देखिन थाल्यो सुखद् संकेत !

३० भदौ, वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को  ‘वेभ टू’को सुरुवात वीरगञ्जबाट भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको पहिलो वेभ (पहिलो चरण) को अन्तिम विन्दु साउन ३ थियो, जुन दिन देशभरमा ५७ जनामा संक्रमण पुष्टि भएको थियो । पर्सामा पनि त्यो दिन ८ जना मात्र नयाँ संक्रमित थपिएका थिए । जसमा बहुसंख्यक संक्रमित भारतबाट फर्किएका र क्वारेन्टिनमा बसेकाहरु थिए ।

४ साउनबाट संक्रमितको संख्या फेरि बढ्दै गयो । र, संक्रमितमा कतै यात्रा नगरेका स्थानीय मानिसहरु भेटिए । त्यसैले मन्त्रालयका अधिकारीहरुले यसलाई वेभ टू अर्थात दोस्रो लहर भनेका छन् ।

यसको आउट ब्रेक भने वीरगञ्जमा भयो । भारतसँग सीमा जोडिएको वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ माइस्थानका ७० वर्षीय वृद्धको साउन ६ गते मृत्यु भयो ।

एक सातादेखि ज्वरो आएर उनलाई कोरोना संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल गण्डकमा उपचार गर्दागर्दै मृत्यु भयो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पुष्टि भएपछि चिकित्सकहरु संक्रमण समुदायमा पुगिसकेको त छैन भनेर झस्किए

कोभिड अस्पतालको आइसोलेसन बेडमा २९ जना मात्र भए पनि परिस्थिति बिग्रंदै गएको देखेर जिल्ला प्रशासन कार्यालयले मानिसहरुको आवतजावत रोक्ने गरी १० साउनबाट वीरगञ्जमा निषेधाज्ञा जारी गर्‍यो ।

तर भुसको आगोझैं भित्रभित्र फैलिएको संक्रमणले यसरी प्रकोपको रुप लियो कि सम्हाल्न मुश्किल भयो । साउन १९ गते जिल्लामा संक्रमितको संख्या ५७३ पुगिसकेको थियो, आइसोलेसन सेन्टरमा ८४ जना उपचाररत थिए । अस्पतालमा बेड अभाव भएका कारण १४६ संक्रमित संस्थागत आइसोलेसनबाहिर थिए ।

कोरोना संक्रमितको संख्यासँगै मृत्युका घटना पनि बढिरह्यो । ३२ साउनमा संक्रमितको संख्या १२२५ पुग्यो, २९८ जना कोरोनामुक्त भएक थिए भने २१ जनाले ज्यान गुमाइसकेका थिए । १२४ जना अस्पताल र ७२ जना होम आइसोलेसनमा थिए । बाँकी संक्रमित होटल, स्कुल र सामुदायिक आइसोलेसनमा थिए ।

पर्सामा दोस्रो लहरको उच्चतम विन्दु भदौ २ गतेलाई मानियो । त्यसदिन १५३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो, जसमध्ये वीरगञ्जका ११६ जना थिए । भदौ ३ गते १०९ जना, ४ गते ५५ जना, ५ गते ७५ जना, ६ गते ५४ र ७ गते १२० जना संक्रमित थपिए ।

भदौ ७ गतेसम्म पर्सामा संक्रमितको कुल संख्या २४ भारतीयसहित १९१० पुगिसकेको थियो ।

सुखद संकेत देखिन थाल्यो

भदौ दोस्रो सातादेखि भने पर्सामा कोरोना संक्रमितभन्दा संक्रमण मुक्त हुनेहरुको संख्या धेरै देखिन थाल्यो ।

१० भदौमा १९ जनामा संक्रमण पुष्टि हुँदा ६६ जना डिस्चार्ज भए भने ११ गते २४ जनामा कोरोना देखिँदा १०३ जना कोरोनामुक्त भए । १२ भदौमा ५७ जनाको रिपोर्ट पोजेटिभ आउँदा ३९ जना र १३ गते ३१ जनामा कोरोना देखिँदा ६१ जना कोरोनामुक्त भए । संक्रमितको मृत्यु हुने क्रमले भने चलिरह्यो ।

भदौ १७ गते १४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १०९ जना संक्रमणमुक्त भएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले भदौ १८ गते सार्वजनिक गरेको विवरण अनुसार त्यस दिनसम्म कोरोना संक्रमितको संख्या २३४४ पुगेको थियो । संक्रमित हुनेमा २४ जना भारतीय नागरिक, १३६ जना स्वास्थ्यकर्मी, १२० जना सुरक्षाकर्मी, १४ पत्रकार, १२० कैदी–थुनुवा, ४९ अस्पतालका सफाइकर्मी, गार्ड, कार्यालय सहयोगी र ३ जना एम्बुलेन्स चालक थिए । भदौ १८ सम्म १२७३ जना कोरोनामुक्त भएका  थिए भने ३९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए ।

पछिल्लो साता दैनिक भेटिने संक्रमितको संख्या अझ घटेको छ । भदौ २३ गते ६ जना, २४ गते ७ जना, २५ गते २ जना, २६ गते ९ जना, २७ गते ३ जना, २८ गते ८ जना, २९ गते ९ जना र ३० गते १ जना संक्रमित भेटिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साको भदौ २९ गते साँझको तथ्याङ्क अनुसार जिल्लामा २२ हजार ८२२ स्वाब नमुना परीक्षण गर्दा २४५१ जनामा संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये १८३३ जना कोरोनामुक्त भई घर फर्किएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । कोभिड अस्पतालमा ३४ जना उपचाररत छन् भने होम आइसोलेसनमा २३ र सामुदायिक आइसोलेसनमा ७४ जना छन् । नयाँ संक्रमितको संख्या घटेसँगै २४ भदौबाटै १२० वेडको वीरगञ्ज हेल्थ केयर आइसोलेसन बन्द भएको छ । होटल र सामुदायिक आइसोलेसनमा पनि संक्रमित कम भएका छन् । यो पर्सामा सुखद संकेत मानिएको छ ।

‘ग्रिन जोन’ भन्न हतार नगरौं

संक्रमण घटेसँगै १९ भदौयता जिल्लामा निषेधाज्ञा खुकुलो बनाइएको छ, सार्वजनिक यातायातका साधन नचले पनि पसल खुलेका छन् र बजारमा चहलपहल विस्तारै बढेको छ ।

त रसंक्रमित कम भेटिएकै आधारमा पर्सा कोरोना संक्रमणमुक्त जिल्ला अर्थात ‘ग्रिन जोन’ बन्न लाग्यो भन्नु गलत हुने जनस्वास्थ्य विज्ञहरुले बताएका छन् । परीक्षणको दायरा खुम्चिएकाले संक्रमित कम भेटिएको त होइन भन्ने उनीहरुको प्रश्न छ ।

हुन पनि पछिल्ला दिनमा जिल्ला प्रशासन कार्यालयले थालेको मास टेष्टिङ र वीरगञ्ज महानगरपालिकाको ‘एक घर एक पीसीआर’ अभियान सेलाएको छ । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका, कोरोनाको लक्षण देखिएका र विभिन्न कामले अन्यत्र जानु परेकाहरुको मात्र पीसीआर टेष्ट हुने गरेको छ ।

कोभिड अस्पताल, गण्डकका संयोजक डा. उदयनारायण सिंह पनि अहिले नै पर्सा ‘ग्रिन जोन’ बन्न लाग्यो भन्ने निष्कर्ष निकाल्नु हतार हुने बताउँछन् । ‘समुदायस्तरमै कोरोना फैलिएको ठाउँमा एकातिरको चेन ब्रेक भएपनि अर्कोतिर संक्रमण बाँकी नै हुनसक्छ’, उनले अनलाइनखबरसँग भने, ‘परीक्षण र स्वास्थ्य सुरक्षा सतर्कता अबलम्बन गर्न चुक्यौं भने फेरि पुरानै अवस्था दोहोरिनसक्छ ।’

उनका अनुसार, अहिले पनि नारायणी अस्पतालको आकस्मिक कक्षमा  उपचार गराउन आउनेमध्ये आधाभन्दा बढीमा संक्रमण देखिने गरेको छ । व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम राख्ने, मास्क लगाउने, साबुन पानीले हात धुने जस्ता सुरक्षा सतर्कतामा लापरबाही भयो भने संक्रमण फेरि फैलिनसक्ने डा. सिंहले बताए ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जय ठाकुर पनि लापरबाही भए स्थिति पूनः बिग्रनसक्ने बताउँछन् । ‘बजार पुरै खुल्दैछ, ठूला चाडबाड नजिकिँदैछन्’, उनी भन्छन्, ‘मास्क नलगाउने, सामाजिक दुरी कायम नगर्ने र साबुन पानीले हात नधुने जस्ता लापरबाही भयो भने त संकट अवश्यंभावी छ ।’

त्यसैले स्वास्थ सुरक्षामा कुनै लापरबाही नगर्न वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको अपिल छ । ‘कसैले लापरबाही नगर्नु होला’, कोरोना नियन्त्रणकै दौडधुपमा आफैं संक्रमित भएका उनी भन्छन्, ‘पसलमा पनि लाइन लागेर एक–एक जनाले किनमेल गरिदिनु होला, सचेतना नै यो संकटको निदान छ ।’

साथै मेयर सरावगी नेपाल भारत सीमा व्यवस्थापनमा पनि गम्भीर समस्या देख्छन् । नेपाल–भारतीय ओहोर–दोहोर नरोकिँदा यता जोखिम कायम रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment