Comments Add Comment

एक ठाउँ विद्युत् अवरुद्ध हुँदा चार जिल्ला अन्धकार

३१ भदौ, गलकोट । साविक धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वतमध्ये एक जिल्लामा विद्युत् अवरोध हुँदा चार जिल्ला नै अन्धकार हुँदै आएका छन् ।

राष्ट्रिय प्रसारण ग्रिडको एक लाख ३२ हजार भोल्ट क्षमताको मोदी पावरहाउसबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा एउटै फिडरबाट विद्युत् वितरण भइरहेका कारण समस्या हुँदै आएको छ । दैनिकजसो चार जिल्लामध्ये कतै न कतै समस्या भएको हुन्छ, तर त्यस जिल्लाको समस्याले मोदी फिडर नै बन्द गर्नुपर्ने कारणले चार जिल्लामै विद्युत् आपूर्ति बन्द हुन्छ ।

लोडसेडिङमुक्त भए पनि विभिन्न जिल्लामा आउने समस्याका कारण विद्युत् अनियमित भइरहने विद्युत् प्राधिकरण वाग्लुङ वितरण केन्द्रका प्रमुख इञ्जीनियर शिवनारायण गोशलीले जानकारी दिए । ‘लोडसेडिङ होइन, विद्युत् आपूर्ति अनियमित भएको हो’, केन्द्र प्रमुख गोशलीले भने, ‘मोदी पावरहाउसबाट एउटै फिडरबाट क्रमशः पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङ वितरण हुन्छ, कुनै जिल्लामा सानो समस्या आउँनासाथ मोदीबाटै विद्युत् काट्नुपर्ने समस्या छ ।’

चार जिल्लामध्ये कुनै एक जिल्लामा विद्युत् पोल, तार तथा सबस्टेशनको ब्रेकरमा समस्या आउनासाथ अन्य जिल्लामा समेत विद्युत् आपूर्ति नहुनु नै मुख्य समस्या रहेको गोशलीको भनाइ छ । यसको दीर्घकालीन समाधानका लागि चार जिल्लाका छुट्टाछुट्टै फिडर निर्माण गर्नुको विकल्प नरहेको गोशलीले बताए ।

उनका अनुसार पुरानो विद्युत् वितरणको संरचना हटाएर चार जिल्लामा नयाँ प्रसारण लाइन विस्तार गर्न अर्बौँ बजेट लाग्ने छ । अहिले वाग्लुङको रामरेखा सबस्टेशनभन्दा अगाडि प्रसारण लाइनका अवरोध, रुख तथा अन्य संरचना हटाउनुपरेमा मोदीबाटै विद्युत् बन्द गर्दा अन्य जिल्लामा समेत विद्युत् जान्छ ।

अहिले प्रत्येक जिल्लामा बाढीपहिराका कारण विद्युत् पोलमा क्षति हुँदा बढी अनियमित भइरहेको, विद्युत् प्रसारणको अवरोधका रूपमा रहेको रुख हटाउने कार्य भइरहेका कारण चार जिल्लामा पटक–पटक विद्युत् आपूर्ति अनियमित भइरहेको छ । पछिल्लो समय प्रत्येक शनिबारको दिन भने चारै जिल्लाका विद्युत् कार्यालयले सूचना निकालेर मर्मतका लागि विद्युत् बन्द नै गर्दै आइरहेका छन् । यसरी चार जिल्लाका सबस्टेशन, ब्रेकरलगायतका उपकरणमा समस्या आउँदा विद्युत् नियमित हुनसकेको छैन ।

विद्युत उत्पादन र क्षमताका हिसाबले एक मिनेट पनि विद्युत् सेवा अवरुद्ध हुन नपर्ने अवस्थामा दिनमै पटक–पटक विद्युत् आउनेजाने समस्याले व्यवसायमा समेत नराम्रो असर पर्ने वाग्लुङ होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment