News Summary
Generated by OK AI. Editorially reviewed.- बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा गरिएका अतिक्रमण हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
- तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाए नगरपालिका आफैंले भत्काउने र त्यसको खर्च सम्बन्धित पक्षबाटै असुल गर्ने जनाएको छ ।
- स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व अन्तर्गत नगरपालिकाले यो कदम चालेको हो ।
२८ जेठ, गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले अतिक्रमण भएको जग्गा र संरचना खोज्न थालेको छ । बागलुङ बजारसहित वडाभर सार्वजनिक जग्गा मिचिएको र अवैद्य संरचना निर्माण गरिएको विषयमा नगरपालिकाले चासो दिएको हो ।
बागलुङ नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गामा भएका अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए ।
अतिक्रमण गरी निर्माण गरिएको संरचना र अतिक्रमण जग्गा खाली गर्न निर्देशन दिँँदै समयभित्र खाली नगर नगरपालिकाले भत्काउन र खाली गर्न सुरु गर्ने बताए ।
नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गाको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि लगत सङ्कलन गरिरहेको छ ।
सडक, खोला तथा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना नगरपालिकाले खाली गर्न आग्रह गरेको हो । मुलुकी देवानीसंहिता, २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व स्थानीय तहको भएकाले तत्काल अतिक्रमण गरिएको जग्गा तथा संरचना हटाउन सूचना जारी गरेको हो ।
नगरपालिकाका अनुसार विभिन्न स्थानमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी घरटहरा, पसल, पर्खाललगायत संरचना निर्माण गरिएका कारण सवारी आवागमन, सडक सुरक्षा तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा समस्या भएको भन्दै नगरपालिकाले सूचना जारी गरेको हो ।
पन्ध्र दिनभित्र स्वःस्फूर्त रूपमा अतिक्रमित जग्गा खाली तथा संरचना हटाउन सम्बन्धित सबै व्यक्ति, संस्था तथा घरधनीलाई अनुरोध गरिएको र त्यसो नभएमा नगरपालिका आफँैले संरचना हटाउन थाल्ने शर्माको भनाइ छ ।
तोकिएको अवधिभित्र अतिक्रमण हटाइएमा नगरपालिकाले प्रचलित कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइ त्यस्ता संरचना हटाउने, भत्काउने वा व्यवस्थापन गर्ने कार्यमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गरिने बागलुङ नगरपालिकाकाले जनाएको छ ।
प्रतिक्रिया 4