१ असोज, काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारत चीनविरुद्ध जति ठूलो कदम उठाउनु परे पनि पछि नहट्ने बताएका छन् । भारतको राज्यसभामा बोल्दै राजनाथ सिंहले पूर्वी लद्दाखको सीमाक्षेत्रमा जारी तनावको विषयमा बोल्दै उनले यस्तो बताएका हुन् । सिंहले भारतले आफ्नो शिर पनि नझुकाउने र कसैले शिर झुकाओस् भन्ने पनि नचाहने बताएका छन् ।
रक्षामन्त्री सिंहले भारतीय सेना कुनै पनि कदम चाल्नका लागि तयार रहेको बताएका छन् । उनले आफ्ना सैनिकहरुको मनोबल उच्च रहेको बताएका छन् । उनले लद्दाखमा भारत चुनौतीको सामना गरिरहेको भए पनि भारतले त्यसको सामना गर्ने बताएका छन् ।
सिंहले द्विपक्षीय सम्बन्ध विकास गर्दै वार्ताको माध्यमबाट सीमाको विवाद समाधान गर्न सकिने बताएका छन् । सीमा विवाद पूर्णरुपमा समाधान नहुँदासम्म कडाइका साथमा एलओसीको सम्मान र पालना गर्ने उनको भनाइ छ । सिंहले सदनमा बोल्दै चीनको भनाइ र गराइमा अन्तर रहेको आरोप लगाए । उनले २९ अगष्ठटको राति भएको झडप चिनियाँ तर्फबाट गरिएको आरोप लगाए । उनले सीमाको सम्बन्धमा दुई मुलुकबीच भएको सम्झौताको पालना चीनले नगरेको आरोप लगाए ।
यसअघि चीनले भारतलाई आफ्नो गल्ती सुधार्दै चिनियाँ सेनामाथि जाइलाग्न बन्द गर्न आग्रह गरेको थियो । साथै हालै दुई मुलुकका सेनाबीच भएको झडपको जिम्मेवार भारत रहेको बताएको थियो । साथै भारतले यसअघिका सम्झौता पालना नगरेको र सेनालाई सीमा पार गर्न उक्साएको चीनको आरोप छ ।
स्रोत : बीबीसी