भारतकी कंग्रेस नेता सोनिया गान्धीको संस्मरण पुस्तक ‘बिलंगिङ : अ जर्नी अफ् लभ‘ पढ्दै गर्दा म न्युयोर्कमा थिएँ। नेपालजस्तो स्वाभाविक, आफ्नोपनले भरिएको परिवेशबाट एकाएक न्युयोर्कजस्तो व्यवस्थित, वैज्ञानिक र असाध्यै तीव्र गतिमा चल्ने सहरमा पहिलोपल्ट पुग्दा म कतै हराइरहेकी थिएँ। त्यहाँ सबै कुरा आफ्नो समय र गतिमा चलिरहेका थिए। शब्द नै छ– न्युयोर्क मिनट ।
सहरलाई कतै पुग्नु थियो, मानिसहरूलाई कतै पुग्नु थियो, राजनीतिलाई पनि कतै पुग्नु थियो। सबैलाई हतार थियो। तर मलाई भने घर फर्किन हतार भइसकेको थियो। पहिले पनि म विदेशका सहरहरुमा पुगेकी थिएँ, तर यति ठूलो सहरमा आफूलाई यति एक्लो र अपरिचित कहिल्यै महसुस गरेकी थिइनँ। वरिपरि संसार आफ्नै गतिमा दौडिरहेको थियो, तर म आफ्नै मनभित्र कतै रोकिएकी थिएँ।
सायद यही एक्लोपनका बीच मैले सोनिया गान्धीको बिलंगिङलाई अझ नजिकबाट महसुस गर्न सकेँ। इटलीमा जन्मेकी सोनिया मैनोले बेलायतको क्याम्ब्रिजमा राजीव गान्धीलाई भेट्छिन् । इटलीको मध्यमवर्गीय परिवारबाट आएकी १९ वर्षीया युवतीको पहिलो नजरमै राजीवसँग माया बस्छ । उता राजीवलाई पनि यस्तै हुन्छ । स्वतन्त्र भारतका निर्मातामध्येका एक नेता जवाहरलाल नेहरुका नाति रहेछन् राजीव, सोनियालाई पछि थाहा हुन्छ । त्यसपछि त धेरै कुरा हुन्छ । राजनीतिक दाउपेच, समाजका उहापोह, कुटनीतिका अनेक रंग लगायत धेरै कुरा किताबमा छन् । तर किन किन मेरो ध्यान प्रेम र अस्तित्वको खोजीमै बढ्ता गयो । किताब सुरु गर्दा मसँग इबुक थियो । बीचका केही भाग अडियोमा सुनें । तर आधाजति पुग्दा मसँग हार्डकपी हात परिसकेको थियो । अनि त म हाइलाइटरले कागजकै अनुच्छेदहरुमा कोर्दै पढ्न थालें ।
अँ, म एक्लोपन र आफ्नोपनको कुरा गर्दै थिएँ । किनभने सोनियाको प्रेमकथाले प्रेमबारे समाजमा गहिरोसँग जरा गाडेर बसेका कैयौँ धारणालाई निर्मम ढङ्गले चुनौती दिएको छ। दूरी बढ्दै जाँदा प्रेम घट्छ, लामो समय टाढा रहँदा अर्को कोही मन पर्न थाल्छ, समयसँगै प्रतिबद्धता फेरिन्छ र परिस्थितिले मानिसको रोजाइ बदलिदिन्छ भन्ने सहजै गरिने टिप्पणीहरूलाई उनको जीवनकथाले प्रश्नको कठघरामा उभ्याउँछ।
सायद मलाई पनि यस्तै चुनौतीहरूसँग अलि बढी नै लगाव छ। आफैँलाई प्रश्न गर्न, स्थापित मान्यताहरूलाई हल्लाउन र सजिला उत्तरमा चित्त बुझाउनुभन्दा असजिला प्रश्नहरूको सामना गर्न मलाई मन पर्छ। त्यसैले यो पुस्तक पढिरहँदा म सोनियाको राजनीतिक उचाइ, सत्ता र संघर्षका प्रसङ्गभन्दा बढी उनको प्रेम, प्रतीक्षा, धैर्य र प्रतिबद्धताका पानाहरूमा आफूलाई भेटिरहेँ।
सोनियाको जीवनमा अर्को देश, अर्को समाज र अर्को परिवारबीच आफ्नो ठाउँ खोज्नुपर्दाको असहजता पढिरहँदा मलाई आफ्नै अपरिचितपनको अनुभूति भइरहेको थियो। म केही समयका लागि घरबाट टाढा थिएँ, तर सोनियाले त प्रेमका लागि आफ्नो जन्मभूमि नै छोडेकी थिइन्। एउटा छोटो यात्रामा निस्कँदा त म घर फर्किने दिन गन्दै थिएँ, जबकि यी महिला भने एउटा अपरिचित भूमिलाई आफ्नो घर बनाउन सिकिरहेकी थिइन्।
हो, त्यहीँबाट मैले उनको कथा पढ्न मात्र होइन, अझ महसुस नै गर्न थालेँ।
कसैलाई प्रेम गर्नु एउटा कुरा हो, तर आफूले प्रेम गरेको मान्छे आफ्नो हुन्छ कि हुँदैन भन्ने अनिश्चितताबीच प्रेम गरिरहनु निकै कठिन कुरा हो। अझ आफूले प्रेम गरेको मान्छेको परिवार, समाज र संस्कृतिमा आफूलाई स्वीकार गराउनुपर्ने अवस्था हो भने त्यो प्रेमको यात्रा कति जटिल हुदो हो । प्रेममा अस्वीकार हुने डर एउटा कुरा हो, तर प्रेम गरेको मान्छेलाई स्वीकार गर्ने संसारले आफूलाई स्वीकार गर्छ कि गर्दैन भन्ने डर अर्कै कुरा हो। यो डर कस्तो डरलाग्दो कुरा हो ।
सोनियाको कथा पढ्दा मैले यस्तै असहजता महसुस गरिरहेँ ।
राजीव गान्धीसँग भएको भेट, प्रेम र त्यसपछि भारतसँग जोडिएको उनको जीवन। उनले कुनै राजनीतिक उद्देश्य बोकेर भारत रोजेकी पनि थिइनन्। न कुनै शक्तिशाली परिवारको सदस्य बन्ने आकाङ्क्षा उनीमा थियो। उनी त प्रेममा परेकी थिइन्। तर प्रेमले उनलाई जुन संसारमा पुर्यायो, त्यहाँ उनलाई प्रेमिका भएर मात्र पुग्दैनथ्यो। फरक भाषा, फरक संस्कृति, फरक सामाजिक परिवेश र नेहरू–गान्धी परिवारको राजनीतिक विरासतबीच उनले आफ्नो ठाउँ बनाउनुपर्ने थियो।
राजीवको परिवारबाट उनलाई दिइने ट्याग र त्यससँग जोडिएका असहजताहरू पढ्दा मैले एउटा कुरा महसुस गरेँ । प्रेममा दुई व्यक्ति एकअर्काका हुन तयार भए पनि उनीहरूलाई जोड्ने संसार सधैँ त्यति उदार हुँदैन। त्यस्तो अनुदारताले कहिलेकाहि प्रेमीहरु छुट्न सक्छन् । तर सोनिया र राजीव आफै छुट्नका लागि भेटिएका जोडी थिएनन् ।
सोनियाले आफ्नो देश छोडेकी थिइन्, तर आफ्नो पहिचान एकैपटक छोड्न सकेकी थिइनन्। उनले भारतलाई आफ्नो बनाउन समय लगाइन्। त्यो भाषा र संस्कृति सिक्ने समय मात्र थिएन,आफूलाई स्वीकार गराउने, नयाँ सम्बन्धहरूमा विश्वास निर्माण गर्ने र अपरिचित भूमिमा आफ्नो घर खोज्ने समय पनि थियो।
मलाई पुस्तकका सुरुवाती प्रेमका प्रसङ्गहरू असाध्यै सुन्दर लागे। सोनियाले राजीवसँगको प्रेमका विवरणहरू निकै खुलस्त रूपमा प्रस्तुत गरेकी छन्। उनीहरूको पहिलो भेट, आकर्षण, प्रेम, झगडा,विवाह, परिवारसँगको सम्बन्ध र सँगै बिताएका सामान्य दिनहरू पढ्दा एउटा राजनीतिक परिवारको सदस्यभन्दा पनि प्रेममा परेकी सामान्य युवतीको संसार देखिन्छ।
तर यही पुस्तक पढ्दै जाँदा एउटा बिन्दु आउँछ, जहाँ प्रेमको सुन्दरता अचानक जीवनको सबैभन्दा भयावह त्रासदीमा बदलिन्छ।
राजीव गान्धीको हत्या।
जति विस्तारमा सोनियाले प्रेमका दिनहरू लेखेकी छन्, त्यति नै कम शब्दमा उनले प्रेमको सबैभन्दा पीडादायी अन्त्यलाई समेटेकी छन्। उनको लेखनमा त्यहाँ एउटा अनौठो हतार देखिन्छ। पढ्दै गर्दा यस्तो लाग्छ, तीस वर्षभन्दा बढी समय बितिसक्दा पनि राजीवको हत्याको खबर सम्झनासाथ उनी अझै त्यहाँबाट भाग्न चाहन्छिन्। उनले आफ्नो पीडा पूर्ण रूपमा व्यक्त गर्न सकेकी छैनन् भन्ने अनुभूति हुन्छ। बरु, त्यो भयावह सत्यलाई सकेसम्म चाँडो पार गरेर अर्को पानामा पुग्न खोजिरहेकी छन् जस्तो लाग्छ।
सायद यो मेरो पाठकीय अनुभूति हो। तर कहिलेकाहीँ लेखकले लेखेका शब्दभन्दा उनले नलेखेका कुराहरूले बढी बोल्दा रहेछन्।
राजीवको हत्यासम्म आइपुग्दा र त्यसपछिका पानाहरू पढ्दा मैले आफूलाई पटक-पटक सम्हाल्नुपर्यो। सोनियाको पीडा र जीवनमा आएको शून्यतालाई पढ्दा धेरै ठाउँमा आँखा रसाए। उनले घटनाबारे जति कम लेखेकी छन्, त्यसले पाठकका मनमा उति नै धेरै प्रश्न र पीडा छोड्छ।
इन्दिरा गान्धी र राजीव गान्धीको हत्यापछि सोनियाका परिवारजन र साथीहरूले उनलाई इटाली फर्कन आग्रह गरेको प्रसङ्ग पनि उत्तिकै अर्थपूर्ण लाग्यो। उनीहरूका लागि भारतले सोनियालाई असाध्यै ठूलो दुःख दिएको थियो। जुन देशमा उनी प्रेम गर्न आएकी थिइन्, त्यही देशको राजनीतिक हिंसाले उनको परिवारका दुई अत्यन्त प्रिय सदस्य खोसेको थियो। यस्तो अवस्थामा उनलाई जन्मभूमि फर्कन सुझाव दिनु स्वाभाविक थियो।
तर म फेरि एउटा प्रश्नमा अड्किएँ के त्यसबेला भारत छोडेर इटाली फर्कनु उनलाई राजीवसँगको प्रेमप्रति विश्वासघात गरेजस्तो लाग्थ्यो होला? के आफूले प्रेम गरेको मान्छेले रोजेको देश छोड्नु भनेको उसले बनाएको संसार नै छोड्नुजस्तो लाग्थ्यो होला?
यसको उत्तर सोनियाले खुलेर दिएकी छैनन्। तर उनको भारतमै बसिरहने निर्णयलाई पढ्दा म यस्ता प्रश्नहरूबाट उम्किन सकिनँ।
सायद राजीवसँगको प्रेम उनका लागि एउटा सम्बन्धमा मात्र सीमित थिएन। त्यो प्रेमसँगै भारत उनको घर बनेको थियो। राजीव नरहे पनि उनले बनाएको घर, सम्झना र सम्बन्धहरू त्याग्न उनी तयार भइनन्।
म आफैँ राजनीतिमा छु। संसद्मा उभिएर सत्ता, प्रतिपक्ष, विचार, सिद्धान्त र राजनीतिक संघर्षका कुरा गर्छु। त्यसैले राजनीतिक जीवनले व्यक्तिको निजी जीवनमाथि पार्ने दबाबलाई नजिकबाट बुझ्ने प्रयास गर्छु। तर यो पुस्तक पढ्दा मैले आफूलाई सांसदका रूपमा भन्दा पहिले एउटा महिलाका रूपमा प्रश्न गरिरहेको पाएँ राजनीतिले मानिसबाट आखिर कति कुरा माग्न सक्छ? खोस्न सक्छ?
हामी राजनीतिमा प्रायः मानिसहरूको पद, शक्ति, निर्णय, विजय र पराजयको हिसाब राख्छौँ। इतिहासले पनि उनीहरूलाई त्यही परिचयमा सम्झिन्छ। तर इतिहासका ती ठूला पात्रहरूको निजी जीवनमा कति साना-साना सपना थिए? उनीहरूका पनि आफ्नै संसार थिए? उनीहरू पनि कसैलाई गुमाउने डरले काँप्थे? कसैको प्रतीक्षामा बस्थे? उनीहरु पनि कसैलाइ आफूभन्दा बढी प्रेम गर्थे ? प्रेमको चर्चाले गल्थे कि अझै बलियो हुन्थे? उनीहरुको जीवनमा अफवाहले बढ्ता ठाउँ पाउँदा कसरी जुध्थे?
सोनियाको जीवनमा साहसको अर्थ सधैँ अगाडि बढ्नु मात्र थिएन। आफ्नो जन्मभूमि र पहिचानबाट टाढा नयाँ समाजमा आफ्नो ठाउँ बनाउनु पनि साहस थियो। प्रेम गरेको मान्छे राजनीतिमा प्रवेश गर्दा त्यसले परिवारमा ल्याउने जोखिमसँग जुध्नु पनि साहस थियो। इन्दिरा गान्धीको हत्या र त्यसपछि उनका छोरा अर्थात् आफ्नै पति राजीवको हत्याले भत्काएको संसारमा दुई सन्तानलाई सम्हालेर बाँच्नु पनि साहस थियो। आमा भएर पनि केही समय राहुल र प्रियङ्काको छहारीमा बच्चाजस्तै रहनु र बलियो बन्नु पनि साहस थियो । र आफूले कहिल्यै रोज्न नचाहेको राजनीतिक मैदानमा उत्रिनु पनि साहस थियो।
मलाई लाग्छ, कुनै महिलाको या कसैको साहस मापन गर्न उनले कति शक्ति प्राप्त गरे भनेर मात्र हेर्नु पर्याप्त हुँदैन। उनले कति कुरा गुमाएर पनि आफूलाई सम्हाले भन्ने पनि हेर्नुपर्छ।
सोनियाको जीवनमा प्रेम एउटा निजी अनुभूति भएर सुरु भयो, तर त्यसको मूल्य सार्वजनिक इतिहासले निर्धारण गरिदियो।
पुस्तकको शीर्षक बिलंगिङ मलाई असाध्यै अर्थपूर्ण लाग्छ। हामी सामान्यतया अपनत्वलाई जन्मसँग जोड्छौँ। जहाँ जन्मियौँ, जहाँ हाम्रो रगतका सम्बन्ध छन्, जहाँ हाम्रो बाल्यकाल बित्यो, त्यही ठाउँलाई आफ्नो ठान्छौँ। तर के अपनत्वको परिभाषा यतिमै सीमित हुन्छ?
सोनिया आफ्नो प्रेम खोज्दै भारत आइन्। उनले आफ्नो जन्मभूमिबाहिर अर्को भूमिमा प्रेम बसाइन्, परिवार बनाइन्, सम्बन्ध गाँसिन् र त्यही भूमिलाई आफ्नो घर बनाइन्। त्यसैले उनको जीवनले हामीलाई सिकाएको यो ठुलो सिकाइ हो । आफ्नोपन सधैँ रगतको सम्बन्धबाट मात्र जन्मिँदैन। कहिलेकाहीँ त्यो प्रेमबाट जन्मिन्छ, सम्झनाबाट हुर्किन्छ र दुःख सहेर पनि निर्णयबाट पछि नहटेको सत्यबाट स्थापित हुन्छ।
पुस्तकको नाम बिलंगिङ छ, तर यसले हामीले अपनत्वबारे बनाएको परम्परागत परिभाषालाई नै चुनौती दिन्छ।
इतिहासले सोनिया गान्धीलाई एउटी शक्तिशाली राजनीतिक महिलाका रूपमा सम्झेला। कसैले उनलाई भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वसँग जोडेर सम्झेला, कसैले उनका राजनीतिक निर्णय र प्रभावको चर्चा गर्ला। तर मैले यो पुस्तकमा एउटी प्रेमिका भेटेँ, जसले प्रेमका लागि एउटा देश छोडिन्, त्यही प्रेमका कारण अर्को देशलाई आफ्नो बनाइन् र त्यही देशको इतिहाससँगै आफ्नो सबैभन्दा प्रिय मान्छेको मृत्यु पनि बाँचिन् ।
अचेल समाजमा प्रेमलाई निकै हलुका रूपमा लिइन्छ। एउटा गए अर्को आउँछ भनिन्छ। करियर, सफलता र स्वार्थका लागि प्रेमलाई सजिलै त्यागिन्छ। प्रेमलाई यति सजिलै प्रतिस्थापन गर्न सकिन्छ भन्ने सोच्नेहरूले सोनिया गान्धीको बिलंगिङ एकपटक पढून्। प्रेम गर्न नसक्नेहरूले प्रेम गर्नेहरूलाई कम्तीमा प्रेमपूर्वक बाँच्न दिऊन्। प्रेमको मूल्य बुझ्न नसक्नेहरूले प्रेमको अपमान नगरून्।
प्रतिक्रिया 4