 
																			५, असोज, चितवन । चितवनको कालिका नगरपालिका-३ की दुर्गा चौधरीले ३ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा फड्के किराले आतंक मच्चायो । ५/७ मुरी धान फल्ला र जहान परिवारलाई खुवाउँला भन्ने आशा उनको त्यतिबेला मर्यो जतिबेला हेर्दा हेर्दै हरियो धान पराल बन्दै गयो ।
धानमा बाला लाग्ने बेलामा भयो यस्तो विपत्तिले उनलाई निकै तनाब दिएको छ । ‘मुखमा आएको भाग कसैले खोसेको जस्तो भयो,’ दुर्गाले भनिन्, ‘अब फर्किएर आउँला जस्तो लाग्दैन ।’
धान बचाउन सकिएला कि भनेर उनले आइतवार बजारबाट विषादी ल्याएरसमेत धानमा हालिन् । तर, धान अब आउला भन्ने उनलाई लागेको छैन । यसअघि पनि उनले धानमा विषादी हालेकी थिइन् । तर, फड्केले छाडेन ।
दुर्गाको जस्तैं समस्याको कथा सुनाए माडी नगरपालिका-२ किरौलीका किसान अविनास महतोले । उनले २ विगाहामा धान खेती लगाएका छन् ।
करिब दुई कठ्ठाको धान फड्केले स्वाहा परिदियो । बाला लाग्ने बेलाको धानलाई फड्के खाएर पराल जस्तैं सुकाइदिएको छ ।
आफ्नो मेहनत, लगानी र परिश्रम त्यसै खेर गएकोले दुःख लागेको अविनासले अनलाइनखबरसँग बताए । ‘त्यहीँ खेतबाट उब्जाउ आएर परिवार पाल्ने म जस्ता किसानलाई यसपटक फड्केले रुवायो,’ अविनासले भने, ‘अरु धान पनि मर्दै गएको छ, फल्ने बेलासम्म सबै सकिन्छ जस्तो लागेको छ ।’
अविनासको मात्रै नभई उनको वरपरका अन्य छिमेकीहरुको नि हालत उस्तै छ । उनले लगाएको सावित्री धानमा अन्यमा भन्दा बढी फड्केको प्रकोप देखिएको छ ।
एक बोटमा दुई हजारसम्म फड्के किराले धानको डाँठ चुसिरहेको देख्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले बताए ।
उनले चितवनको इच्छाकामना बाहेकका सबै स्थानीय तहका किसानहरुको खेतमा फड्के किराले आतंक फैंलिएको बताए । उनले गत वर्षभन्दा यस वर्ष चितवनको धानमा बढी रोग र किरा देखिएको बताए ।
किसानले झोल र दाना विषादी छरेको भए पनि रोग नियन्त्रणमा आएको छैन । किसानले विषादी छर्ने नाममा अन्धाधुन्ध रासायनिक विषादीको प्रयोग गरिरहेको तिमिल्सिना बताउँछन् ।
उनले कपितय किसानले धानमा विषादी हाले पनि सही तरिकाबाट नहाल्दा फड्के किरा नियन्त्रणमा नआएको बताए । उनले लगातार खेतमा पानी जम्दा त्यसको माथि फड्के किराले अधिक प्रजनन् गरेको पाइएको बताए ।
‘मैले किसानहरुलाई ४/५ दिन धान खेत पुरै सुकाउन भनेको छु, सेवा केन्द्रहरुलाई पनि भनिएको छ’ तिमिल्सिनाले भने, ‘फड्केले डाठ चुसेर बोट पुरै सुकाइदिने समस्या ब्यापक बन्दै गएको छ, यसलाई प्राविधिक शब्दमा होपर वर्न भनिन्छ ।’
उनले धानमा इभिडाक्लोपिड वा एसिफेट समूहका विषादीसहित तरिकाले धानको डाठमा पर्ने गरी दुईपटक हाल्नुपर्ने बताए ।
चितवनको धानमा पात र फेद डढ्ने डढुवा, सिथ ब्लाइट रोग तथा फड्के किरा र गवारो देखिएको छ ।
गवारो जिल्ला भरि कै धान खेतीमा देखिएको उनले बताए । धानमा नै सेतो झिङ्गा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पुर्याउने तिमिल्सिनाले बताए ।
सावित्री धानमा जरा कुँहिने रोग देखिन थालेको छ । किसानहरुले गलत धानको बिउ प्रयोग गरेकोले यो समस्या देखिदै आएको परियोजनाका प्रमुख तिमिल्सिना बताउँछन् ।
उनले सावित्री धानमा रोग प्रतिरोधी क्षमता एकदमै कम भएको बताए । आगामी वर्षदेखि सावित्रि धानको बिउ नलगाउने उनले किसानहरुलाई अपिल गरे ।
जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यस वर्ष लकडाउनका कारणले जिल्लामा तरकारी खेती बिक्री नभएपछि कपितय किसानहरुले धान खेती गरेका कारण धानको क्षेत्रफल बढेको छ ।
चितवनमा चैत्र र असारमा दुई सिजन धान रोपाइँ गरिन्छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ ।
वर्षे धान प्रतिहेक्टर ३ दशमलब ५२ मेट्रिक टन उत्पादन हुन्छ । जिल्लामा गत वर्ष १ लाख ६७२ मेटि्रक टन धान उत्पादन भएको थियो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4