५ असोज, काठमाडौं । यति एयरलाइन्सले करिब डेढ दर्जन पर्यटकीय गन्तब्यमा सस्तो मूल्यमा प्याकेज बिक्रि गर्ने भएको छ । कम्पनीले स्थापनाको २२ औं वाषिर्कोत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालका अनुसार करिव ७ महिना लामो प्रतिवन्धपछि खुला भएको हवाई र पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्नेछन् । ‘अब एयरलाइन्सले यात्रुलाई गन्तब्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन्,’ उनले भने, ‘सोहीकारण आकर्षक मूल्यमा प्याकेज ल्याएका छौं ।’
त्यसकारण यतिले ‘अब एयरलाइन्स उड्न मात्र होइन, घुम्न पनि हो’ भन्ने सन्देश प्रवाह गर्न लागिएको जनाएको छ ।
एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधिहरु सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुने गरी प्याकेज बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ ।
उता, नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ । यी गन्तब्यमा होटेलको स्तर अनुसार मूल्य राखिएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हिक्मतसिंह ऐरले यो प्याकेजमा पूर्वमा पाथिभरा र पश्चिममा खप्तडलगायतका गन्तव्यलाई समेत जोड्न आह्वान गरे ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले यस प्रकारका प्याकेजले ठप्प रहेको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिने बताए । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका अध्यक्ष अच्युत गुरागाँईले आन्तरिक पर्यटनलाई प्राथमिकता दिएर एयरलाइन्स कम्पनहरुले ल्याएका प्याकेजले मुलुकभित्र घुमफिरको वातावरण बनाउन सहयोग पुग्ने उल्लेख गरे ।
प्याकेज घोषित गन्तव्यको सबैभन्दा नजिकको विमानस्थलसम्म यति र तारा एयरबाट हवाई यात्रा गराइने भएको छ ।
यतिले ल्याएका मूख्य गन्तब्यको प्याकेज यस्तो छ
एभरेष्ट ट्रेल : १३,९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम १० यात्रु आवश्यक)
रारा : २४९९९ प्रतिव्यक्ति (२ रात, ३ दिन, न्यूनतम ५ यात्रु आवश्यक)
पोखरा : ५९९९-७९९९ प्रतिव्यक्ति (२ रात, तीन दिन)
चितवन : १२९९९-१६९९९ प्रतिव्यक्ति (२ रात, तीन दिन)
मुक्तिनाथ दर्शन : १२९९९ प्रतिव्यक्ति (३ रात, चार दिन, न्यूनतम ६ यात्रु आवश्यक)
मुक्तिनाथ दर्जन : १६९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ७ यात्रु आवश्यक)
अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक : ११९९९ प्रतिव्यक्ति (५ रात, ६ दिन, न्यूनतम ६ यात्रु आवश्यक)
अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल : १९९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ८ यात्रु आवश्यक)
टिकट एप्सबाट
यसैबीच, अब यति एयरलाइन्सका ग्राहकले टिकट आफ्नै मोवाइल फोनबाट काट्न सकिने भएको छ । सोही प्रयोजनका लागि कम्पनीले मोवाइल एप सार्वजनिक भएको छ ।
अब मोवाइलबाट टिकट बुकिङ, स्काई क्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4