Comments Add Comment

वृत्तचित्रमा प्लास्टिकमुक्त तिलोत्तामा

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका क्षेत्रमा वातावरणसम्बन्धी वृहत् जनचेतनामूलक कार्यक्रम शून्य पोलिथिन तिलोत्तमा अभियान सम्पन्न भइसकेको छ । २०७६ साल मंसिर महिनाबाट सुरु भएको सो अभियान फागुन मसान्तसम्म लगातार चलेको थियो ।

सो अभियानले तिलोत्तमा नगरपालिकालाई नेपालकै पहिलो शून्य पोलिथिन क्षेत्र बनाउन सफल भएको थियो । करिब एक लाख ३० हजार जनसंख्या रहेको तिलोत्तमा नगरको १२६ वर्गकिलोमिटर क्षेत्रफललाई पूर्णपोलिथिन मुक्त गराएर २०७६ फागुन ३० गते नेपाल सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री माननीय घनश्याम भुसालको प्रमुख आतिथ्यमा तिलोत्तमा नगरलाई शून्य पोलिथिन क्षेत्र घोषणा गरिएको थियो ।

खुला रूपमा फालिएका पोलिथिन र प्लास्टिकसहित खाद्य वा अखाद्य वस्तुका प्लास्टिकका खोलहरू, तार तथा विद्युतीय सामग्री, टायर, खेलौना, प्लास्टिकका भाँडाहरू, जुत्ताचप्पल, कपडा, बोरालगायत सबै काम नलाग्ने पोलिथिनजन्य पदार्थ संकलन गरेर तिलोत्तमा नगरलाई शून्य पोलिथिन नगर घोषणा गरिएको थियो ।

शिक्षा तथा जनचेतनाको माध्यमबाट नगरवासीलाई प्रोत्साहन गर्दै करिब ८० हजार बोरा पोलिथिनजन्य पदार्थ संकलन गर्ने अभियान सफल भएको थियो ।

सो अभियानमा तिलोत्तमा नगरभित्रका सामुदायिक तथा संस्थागत ८५ विद्यालयमा वातावरण तथा पर्यावरणसम्बन्धी हरेक विद्यालयमा दुई दिन कार्यक्रम सम्पन्न गरिएको थियो । त्यस्तै, नगरका १७ वडाभित्रका १८९ टोल विकास संस्थामा बृहत् कार्यक्रम गरिएको थियो ।

कयौं वर्षसम्म नकुहिने दिन प्रतिदिन थपिँदै गएका यी पोलिथिनजन्य पदार्थबाट माटोको गुणस्तरमा ह्रास, इकोसिस्टममा असन्तुलन हुनुका साथै यसलाई जलाउँदा मानव स्वास्थ्यमा पार्ने प्रभावको बारेमा सम्पूर्ण नगरवासीहरूलाई प्रशिक्षित गरिएको थियो ।

दिन प्रतिदिन थुप्रिदै गएको पोलिथिनजन्य पदार्थको यदि यो समयमा व्यवस्थापन र न्यूनीकरण गर्न सकिएन भने भविष्यमा यसको व्यवस्थापनमा लाग्ने समय, स्रोतसाधन र लगानी जति गर्दा पनि नसकिने जटिल समस्या हुने निश्चित भएको हुँदा तिलोत्तमा नगरपालिकाले पहिलो पटक यो अभियान सुरु गरेको मेयर वासुदेव घिमिरेले बताएका छन् ।

शून्य पोलिथिन अभियानले सरसफाइका अधिकांश सूचक समेटेको हुँदा उक्त दिन अर्थात् फागुन ३० गते घनश्याम भुसालबाट तिलोत्तमा नगरपालिकालाई नेपालको पहिलो सरसफाइ युक्त नगरपालिका पनि घोषणा गरिएको थियो ।

‘जुटौं सारा गाउँ र सहर, शून्य पोलिथिन तिलोत्तमा नगर’ भन्ने नारा दिइएको सो अभियान सिम नेपाल संस्थाको आयोजना, तिलोत्तमा नगरपालिकाको सहकार्यमा हरियाली नेपालले समन्वय गरेको थियो ।

विश्व कीर्तिमानी तथा शून्य पोलिथिन तिलोत्तमा अभियन्ता, वातावरणविद् निपेश ढाकाको निर्देशनमा सो अभियानमा आममानिसलाई पोलिथिनजन्य पदार्थको व्यवस्थापन र न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने उद्देश्यमा यो शून्य पोलिथिन वृत्तचित्र बनेको छ । अभियन्ता ढाकाले यसअघि ३६५ जना कलाकारहरूद्वारा वातावरणसम्बन्धी गीत रेकर्ड गरेर विश्व कीर्तिमानी कायम गरिसकेका छन् । विगत एक दशकदेखि नेपालका विभिन्न भू–भागमा भौगोलिक, सामाजिक र पर्यावरणीय अध्ययन तथा अनुसन्धान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment