Comments Add Comment

उखु किसानको ९५ करोड अनुदान रकम जिल्लामा पठाइयो

६ असोज, काठमाडौं । दशैंअघि नै उखु किसानलाई  उपलब्ध गराउन सरकारले अनुदानबापतको रकम  जिल्लामा पठाएको छ । नेपालमा धेरै उखुखेती हुने तराईका ८ जिल्लाका किसानलाई वितरण गर्न ९५ करोड २० लाख ५० हजार रुपैयाँ पठाइएको कृषि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए ।

किसानले दशैंमा पैसाको अभाव नझेलुन् भनेर यसपटक छिट्टै रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालय पठाइएको उनको भनाइ छ ।

‘आर्थिक वर्ष ७६/७७ को पुसदेखि क्रसिङ भएको उखुको आधारमा मन्त्रालयलाई प्राप्त रकम पठाइएको छ, अझै केही अपुग हुने देखिएको छ,’ सहसचिव डा. केसीले भने ।

जिल्लामा पठाइएको रकम जिल्लास्तरीय समितिको रोहोबरमा छिट्टै वितरण सुरु हुने मन्त्रालयको भनाइ छ । गतवर्ष  १ करोड ४८ लाख ५५ हजार ५ सय ९४ क्विन्टल उखु क्रसिङ भएको रिपोर्ट मन्त्रालयलाई उखु मिलहरुले बुझाएका छन् । उक्त उत्पादनको आधारमा अनुदान रकम अझै एक करोड ९७ लाख अपुग भएको मन्त्रालयले जनाएको छ ।

जिल्लामा पठाइएको रकम वितरण सुरु भएसँगै थप अपुग रकम अर्थ मन्त्रालयसँग मागिने मन्त्रालयले जनाएको छ । सरकारले उखु उत्पादक किसानलाई प्रति क्विन्टल उत्पादनमा ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment