Comments Add Comment

लेखाले अख्तियारलाई सोध्यो : वाइडबडी र सेक्युरिटी प्रेस खरिदको छानबिन कहाँ पुग्यो ?

फाइल तस्वीर

८ असोज, काठमाडौं । सार्वजनिक लेखा समितिले वाइडबडी जहाज र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको छानबिनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग विवरण माग गरेको छ ।

वाइडबडी विमान खरिद प्रकरणमा तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी, पूर्वमन्त्रीहरु जीवनबहादुर शाही र जीतेन्द्र देव, सचिवहरु, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारमाथि समेत अनियमितताको आरोप लागेको छ ।

वाइडबडी विमान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै आवश्यक अनुसन्धान गरी कारबाही गर्न करिब दुई वर्ष अगाडि अख्तियारलाई पत्राचार गरेको थियो ।

तर, हालसम्म त्यसको अनुसन्धानका विषयमा भएको प्रगतिबारे जानकारी नभएको भन्दै लेखाले विवरण माग गरेको हो ।

बिहीबार अख्तियारलाई पत्र लेखी वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेसको छानबिनबारे विवरण माग गरेको लेखा समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए ।

करिब ६ महिनाअघि अनुसन्धान कहाँ पुग्यो ? भनेर पत्र लेख्दा अनुसन्धान हुँदै गरेको भन्ने जवाफ आएको उल्लेख गर्दै सचिव पाण्डेले पुनः पत्र लेखिएको जानकारी दिए ।

महालेखा परीक्षकको कार्यालयले ५५ औं वार्षिक प्रतिवेदनले पनि वाइडबडी खरिद प्रक्रियामा प्रश्न उठाएको थियो । महालेखाको प्रतिवेदनलाई नै आधार बनाएर लेखा समितिले छानविन गरेको थियो ।

वायु सेवा निगमले वाइड बडी विमान खरिद गर्न १ मार्च २०१७ मा १० लाख र १९ जून २०१७ मा ७ करोड ९० लाख गरी ८ करोड अमेरिकी डलर पेस्की दिएको भन्दै महालेखाले अनियमितता भएको दाबी गरेको थियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेसको विषय तामेलीमा गएको त होइन ?

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको छानबिन पनि अख्तियारले तामेलीमा राख्न खोजेको चर्चा छ । लेखा समितिले पनि यसबारे आशंका गर्दै अख्तियारलाई पत्र पठाएको छ ।

‘साँच्चै तामेलीमा राखिसकेको हो कि अनुसन्धान भइरहेको हो ? अनुसन्धान भइरहेको भए प्रगति विवरण के छ ?’ लेखाले सोधेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सम्बन्धमा ७० करोड कमिसनको मोलमोलाइ भएको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका थिए ।

स्वीट्जरल्याण्डको केबीए–नोटासिस एसए कम्पनीको नेपाल प्रतिनिधि दाबी गर्ने विजयप्रकाश मिश्रले बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा करिब ७० करोड कमिसन मागेको आरोप लगाउँदै त्यससम्बन्धी अडियो टेप सार्वजनिक गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment