Comments Add Comment

गण्डकीमा ४ जनामा रेम्डिसिभिर प्रयोग, २० जनालाई पुग्ने स्टक

फाइल तस्वीर

९ असोज, पोखरा । गण्डकी प्रदेशमा कोभिड–१९ को गम्भीर अवस्थाका ४ संक्रमितलाई रेम्डिसिभिर औषधी चलाइएको छ । विशेषगरी कोभिडका कारण अक्सिजन कम भएका संक्रमितलाई रेम्डिसिभिर प्रयोग गर्दा सुधारसमेत देखिएको चिकित्सकले बताएका छन् ।

एरेम्डिसिभिरको प्रयोगबारे नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले अध्ययन गरिरहेकाले सीमित संख्यामा यो मुख्य अस्पतालहरुमा मात्र उपलब्ध छ । गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा गम्भीर प्रकारका संक्रमितको उपचार हुँदै आएको छ ।

प्रतिष्ठानलाई स्वास्थ्य विभागमार्फत सरकारले १ सय वटा उपलब्ध गराएको छ भने प्रतिष्ठान आफैंले ३० वटा खरिद गरेको छ । ‘बंगलादेशबाट आएको रेम्डिसिभिर स्वास्थ्य विभागमार्फत १ सय वटा प्रतिष्ठानमा आएको हो । प्रतिष्ठानले ३० आफैं खरिद गरेको थियो,’ कोभिड अस्पतालका फोकल पर्सन डा. वुद्धिसागर लामिछानेले भने, ‘प्रतिष्ठानमा ४ जनामा रेम्डिसिभिर प्रयोग गरिएको छ । एक जना निको भएर घर जानुभयो । एक जना आजभोलिमा जाँदै हुनुहुन्छ । २ जना उपचाररत नै हुनुहुन्छ ।’

एक जनामा ६ वटासम्म प्रयोग हुने जानकारी दिँदै लामिछानेले अब २० जनासम्मलाई प्रयोग गर्न सकिने बताए । यसको प्रयोगबारे अध्ययन भइरहेकाले देशभरको अवस्था हेरेर एनएचआरसीले रिजल्र्ट सार्वजनिक गर्ने लामिछानेले जानकारी दिए ।

प्रतिष्ठानको आइसोलेसनमा अहिले ४ जनाको अक्सिजनको सहायतामा उपचार भइरहेको छ । अक्सिजनको सहायतामा उपचार गरिने बिरामीमा यो औषधी प्रयोग हुने उनको भनाइ छ ।

एनएचआरसीले अध्ययन गरिरहेकाले सबै ठाउँमा यो औषधी उपलब्ध नभएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

‘आफैं खरिद गरेर औषधि प्रयोग गरे पनि पछि एनएचआरसीले पैसा फिर्ता गर्ने भनिएको छ,’ आचार्यले भने, ‘यहाँ त्यति धेरै बिरामीको चाप नभएकाले रेम्डिसिभिरको अहिलेसम्म अभाव छैन । चाप हुने ठाउँमा अभाव भएको हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment