Comments Add Comment

दलहरूलाई निर्वाचन आयोगको प्रश्न- संघीयतामा कहिले जाने ?

१३ असोज, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको ५ वर्ष भइसक्यो । तर त्यही संविधान जारी गर्ने राजनीतिक दलहरूले आफ्ना संरचनालाई भने अझैसम्म संघीय स्वरूपमा ढाल्न सकेका छैनन् ।

दलहरूले संविधान अनुसारका संरचना बनाएको विवरण प्राप्त नभएको भन्दै निर्वाचन आयोगले उनीहरूलाई ध्यानाकर्षण गराएको छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतम भन्छन्, ‘राजनीतिक दलहरू संघीयता अनुसारका संरचनामा किन भएनन् भनेर सोधेका छौं ।’

आयोगले साउन २५ गते स्मरण पत्र लेखेर दल र पदाधिकारीको विवरण अभिलेखीकरण गर्न प्रदेश समितिका पदाधिकारीको विवरण प्रदेश राजधानी रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा उपलब्ध गराउन आग्रह गरेको छ । जिल्ला र स्थानीय तहको समितिका पदाधिकारीको विवरण जिल्ला निर्वाचन कार्यालयमा पठाउन भनेको छ । तर हालसम्म कुनै पनि दलले पार्टीको संघीय संरचनाअनुसारको पूर्ण विवरण आयोगमा बुझाएका छैनन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नयाँ दल दर्ता गर्दा संघका साथसाथै जिल्ला र प्रदेशको संरचनागत विवरणलाई अनिवार्य गरिएको छ ।

यसअघि नै दर्ता भइसकेका दलहरूलाई मात्रै संघीय संरचनाअनुसारको विवरण माग गरिएको हो । आयोगले दलहरूलाई लेखेको पत्रमा कहिलेसम्म संघीय संरचना अनुसारको विवरण बुझाउनुपर्ने हो त्यसबारे कुनै मिति भने किटान गरेको छैन् ।

नेकपाको अधिकांश समिति बन्नै बाँकी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश र जिल्ला तहको नेतृत्व चयन भएका छन् । अधिकांश स्थानीय तहमा पनि नेतृत्व चयन भएर आएका छन् । तर विधानत: उल्लेख भएका संरचनाहरू भने सबै ठाउँमा बनेका छैनन् । संसदीय दल अन्तर्गत रहने संसदीय बोर्ड गठन भएको छैन ।

केन्द्रीय लेखा समिति, केन्द्रीय अनुशासन समिति, निर्वाचन समितिहरू पनि गठन भएका छैनन् । कर्मचारी एकिकरण बाँकी नै छ । यहि कारण २४ असोजमा गर्ने भनिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन सरेको कतिपयको दाबी छ ।

नेकपाको पोलिटब्युरो पनि गठन भएको छैन । केन्द्रीय विभागहरूमा नेतृत्व तोकिए पनि सदस्यहरु चयन हुन बाँकी छ । विदेश विभाग लगायतमा काम बाँकी छ ।

नेकपा केन्दीय कार्यालय सचिव इश्वरी रिजाल भन्छन्, ‘संघीय ढाँचा अनुसार पार्टीको संरचना अधिकांश निर्माण भइसक्यो । केही पालिका र वडामा बन्न बाँकी हुनसक्छ ।’

‘संघीय ढाँचा अनुसारको संरचनाको विवरण प्रदेश र जिल्ला तहबाट पनि धमाधम बुझाउने काम भइरहेको छ । जिल्ला र प्रदेशलाई पनि सर्कुलेसन गरेका थियौं’ रिजालले भने ।

महाधिवेशनसँगै गर्ने कांग्रेसको दाबी

प्रमुख विपक्षी नेपाली कांग्रेसले पनि पार्टीमा संघीय संरचना निर्माण गर्न सकेको छैन । पार्टीको १४औं महाधिवेशनसँगै पार्टी संघीय ढाँचा अनुसारको संरचनामा पुग्ने नेताहरु बताउँछन् ।

नयाँ संरचना अनुसार स्थानीय तह र जिल्ला तहहरूमा संरचना निर्माण भइरहेका छन् । ‘हामी महाधिवेशनको तयारीमा छौं । सोही अनुसारको गतिविधि भइरहेका हुन्’ पार्टीका मुख्य सचिव कृष्ण पौडेलले भनका छन्, ‘पार्टीको संघीय ढाँचा अनुसारको पूर्ण संरचना महाधिवेशन सँगसँगै पुरा हुन्छ ।’

कांग्रेस महाधिवेशन आगामी फागुनमा तोकिएको छ । तर, नोवेल कोरोना भाइरस -कोभिड-१९) को महामारीका कारण फागुनमा तोकिएको महाधिवेशन प्रभावित हुने आंकलन छ।

महाधिवेशन धकेलिएसंगै कांग्रेसको संघीय ढाँचा अनुसारको पार्टी संरचना निर्माण पनि धकेलिने छ ।

जसपामा पनि अलमल

संघीय संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) एकीकरणको काम सकाउने प्रक्रियामा छ । तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादीको पार्टी संरचना बनिसकेको छैन ।

एकीकरण संघीय संरचना अनुसार हुने भएकाले आगामी मंसिरसम्म पार्टी पूर्णरुपमा संघीय संरचनामा देखिने जसपा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ बताउँछन् । ‘बटम टु टप एकता प्रक्रियामा छौं । अहिले धमाधम स्थानीय तहमा एकताको काम भइरहेको छ । आगामी मंसिरसम्म सकाउने योजना छ । त्यसपछि हाम्रो पार्टी संघीय संरचनामा देखिन्छ’ नेता श्रेष्ठले भने ।

जसपाको विधान मस्यौदा समितिका संयोजक समेत रहेका श्रेष्ठ भन्छन् ‘हामीले विधानमै संघीय स्वरुपको पार्टी भनेका छौं । त्यसकारण जतिसक्दो छिटो सोही अनुसार संरचा बनाउँछौं ।’ संघमा भने ५१ सदस्यीय केन्द्रीय कार्यसमिति छ । जसको टुङ्गो लागेर पनि निर्वाचन आयोगले स्वीकृत गरिसकेको छ ।

संसदमा बाहिर रहेका अन्य केही साना दलहरूको पनि ठूला दलहरुको जस्तै चाल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment