Comments Add Comment

हिरासतमा मृत्यु भएको घटना अध्ययन गर्न संसदीय टोली धनुषामा

१३ असोज, जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न संघीय सांसदको टोली जनकपुर आइपुगेको छ ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको टोली मंगलबार जनकपुर आई सरोकारवालासँग छलफल सुरु गरेको छ । देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिनअघि उक्त समितिले ६ सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।

उक्त समितिका पदाधिकारीले सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै मृत्यु भएका शम्भु सदाका परिवारसँग छलफल गरेका छन् । मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा, श्रीमतिसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको समितिका सदस्य एवं धनुषाकै सांसद उमाशंकर अरगरियाले जानकारी दिए ।

उनका अनुसार नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि शम्भु सदाको मृत्युबारे जानकारी लिइएको छ ।

सवारी ज्यान मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएका सबैला १२ निवासी २३ बर्षीय शम्भु २७ जेठमा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । शम्भुको हत्या भएको उनको परिवारले बताउँदै आएको छ ।

संसदीय अध्ययन समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद शेरबहादुर तामाङको संयोजकत्वमा जनता समाजवादी पार्टीका सांसद उमाशंकर अरगरिया, नेपाली कांग्रेसका पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, नेकपाका लालबहादुर थापा र समीमा हुसैन सदस्य छन् ।

समितिका पदाधिकारी मंगलबार धनुषाबाट टोली रौतहटतर्फ जाने सदस्य अरगरियाले बताए । बुधबार इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment