Comments Add Comment

प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्न ओली र प्रचण्ड सहमत

चालु अधिवेशनबाटै राजधानी तय हुने नेकपा नेताको दाबी

१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो ।

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभमा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

पूर्वमाओवादीले भने पार्टी एकीकरण हुनुअघि नै प्रदेशको राजधानी दाङमा राख्ने औपचारिक निर्णय नै गरिसकेको थियो । माओवादीको प्रदेश कार्यालयसमेत दाङमै खोलिएको थियो । तर, पूर्वएमाले खेमाभित्र चाहिँ राजधानी दाङ राख्ने कि बुटवलमा राख्ने भन्नेबारे नेताहरुको मत बाझिँदै आएको थियो । शंकर पोखरेललगायतका नेताहरु दाङलाई राजधानी बनाउनुपर्ने पक्षमा थिए भने महासचिव विष्णु पौडेललगायतका नेताहरु बुटवललाई राजधानी बनाउने पक्षमा थिए ।

तर, अध्यक्षद्वयबीच दाङमै राजधानी राख्ने सहमति जुटेपछि अब चाँडै राजधानीको मुद्दा टुंगो लाग्ने नेकपा नेताहरुले बताएका छन् । प्रदेश ५ का एक नेताले अनलाइनखबरसँग भने, ‘राजधानी दाङमा राख्ने सहमति जुटिसकेको छ, अबको केही दिनमा चालु अधिवेशनबाटै राजधानीको मुद्धा टुंगिन्छ ।’

दाङको राप्ती गाउँपालिकास्थित भालुवाङ बजार । तस्वीर : कुलदीप न्यौपाने ।

गत पुसमा सम्पन्न स्थायी कमिटी बैठकमा मुख्यमन्त्री पोखरेलले राजधानीबारे पार्टी केन्द्रले नै निर्णय गरिदिन आग्रह गरेका थिए । बागमती प्रदेशको राजधानीबारे पनि केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो । प्रदेश–५ को राजधानीबारे पनि बागमती प्रदेशकै जस्तो शैली अपनाइने भएको छ ।

दुई अध्यक्षबीच दाङको भालुवाङमा स्थायी राजधानी बनाउने सहमति भएको र त्यसअनुसार प्रदेशमा निर्देशन गएको नेकपा उच्च स्रोतले जनाएको छ । ‘केही दिनभित्रै राजधानी टुंग्याउने तयारी भएको छ’ नेकपा केन्द्रीय सदस्य मेटमणि चौधरीले अनलाइनखबरसँग भने ।

राप्ती नदी नजिकै रहेको भालुवाङ बजार दाङको  राप्ती गाउँपालिकामा पर्छ । यो प्रदेश मध्ये भागमा रहेको भालुवाङबाट पहाडी जिल्ला प्युठान, अर्घाखाँची र रोल्पासमेत जोडिन्छन् भने कपिलवस्तु सीमामै पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment