Comments Add Comment

प्रदेश ५ को नाम लुम्बिनी राख्न नेकपा मसाल सहमत

१८ असोज, काठमाडौं । नेकपा मसालले प्रदेश ५ को नाम लुम्बिनी राख्ने गरी प्रदेशसभामा पेश भएको प्रस्तावमा सहमति जनाएको छ । यद्यपि प्रदेश राजधानी दाङको भालुवाङ राख्ने प्रस्तावमा भने उसले असहमति जनाएको छ ।

मसालका महामन्त्री मोहन बिक्रम सिंहले विज्ञप्ति जारी गरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावलाई स्वागत गरेका छन् । तर प्रदेशको राजधानी तोक्न अधिकार सम्पन्न आयोगको गठन गर्नुपर्ने र त्यसको सिफारिस अनुसार तोक्नुपर्ने पार्टीको धारणा राखेको मसालले जनाएको छ ।

‘हाम्रो यो स्पष्ट विचार छ कि प्रदेश वा प्रदेशसभाले राजधानीको स्थान तोक्दा अनावश्यक रुपमा विवाद पैदा हुन्छ र स्थिति तनावपूर्ण बन्न जान्छ’ महामन्त्री सिंहले विज्ञप्तिमा भनेका छन् ‘त्यस्तो हुन नदिन हामीले अधिकार सम्पन्न आयोगको गठन गरेर त्यसबारे निर्णय गर्नुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौँ र अहिले पनि त्यही कुरामा जोड दिन्छौँ ।’

मसालले प्रदेश ५ को राजधानी कहाँ राख्नु उपयुक्त छ भन्ने विषयमा भने मुख खोलेको छैन । ‘त्यसबारे हाम्रो पार्टीले पहिले पनि कुनै मत प्रकट गरेको थिएन र अहिले पनि गर्दैन तर त्यसबारे निर्णय गर्ने जुन प्रक्रिया अपनाइएको छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

प्रदेश ५ को प्रदेशसभामा नेकपा मसालको मोर्चा संगठन राष्ट्रिय जनमोर्चाको एक जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment