Comments Add Comment

नेपालमा रहेका अमेरिकी नागरिकले राष्ट्रपति निर्वाचनमा कसरी भोट हाल्दैछन् ?

तस्वीर : नेपालस्थित अमेरिकी दूतावास ।

२१ असोज, काठमाडौं । अमेरिकामा राष्ट्रपति निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । चुनावी अभियान तीव्र बनिरहेकै समयमा राष्ट्रपति निर्वाचनका एक उम्मेदवार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको छ । यद्यपि नोभेम्बर ३ मा हुने निर्वाचनको तयारी भने अगाडि बढिरहेका छन् ।

अमेरिकाले मुलुकभित्र मात्र होइन, मुलुक बाहिर रहेका आफ्ना नागरिकहरुका लागि राष्ट्रपति निर्वाचनमा मत खसाल्ने अधिकार प्रदान गरेको छ । नेपालस्थित अमेरिकी राजदूतवासले पनि पटक–पटक सूचना प्रकाशित गरेर आफ्ना नागरिकलाई मतदानको प्रक्रिया अगाडि बढाउन आग्रह गरिरहेको छ ।

अनाइखबरसँग कुरा गर्दै अमेरिकी दूतावासका एक अधिकारीले भने, ‘हामीले बारम्बार त्यहाँ रहेका हाम्रा नागरिकलाई आफ्नो राज्यमा हुने निर्वाचन र त्यहाँको डेडलाइन हेर्न तथा समयमा नै सबै प्रक्रिया पुरा गर्न आग्रह गरिरहेका छौं ।

कसरी गर्छन् भोट ?

सबैभन्दा पहिला अमेरिकी नागरिकले आफ्नो राज्यमा कुन मितिमा मतदान हुन गइरहेको पत्ता लगाई निर्वाचन कार्यालय यकिन गर्नुपर्छ । त्यसपछि उनीहरुले फेडरल पोष्ट कार्ड सिस्टममा दर्ता गराउनुपर्छ ।

आफूले जुन राज्यमा मतदान गर्नुपर्ने हो, त्यहाँ इमेल मार्फत दर्ता गराउनुपर्छ । यसरी दर्ता गराएपछि निर्वाचन कार्यालयले अनुपस्थित मतपत्र (एबसेन्टी ब्यालेट) इमेलमा पठाउँछ । त्यही मतपत्रमा भोट गरेर त्यसलाई सम्बन्धित दूतावासमा दिने तथा मेल र अन्य माध्यमले पनि पठाउन सकिन्छ । उनीहरुले सो मतपत्र मेल, फ्याक्स र इमलेका माध्यमले पठाउन सक्छन् ।

अमेरिकाको कुनै राज्यमा इमेल अथवा कुनै राज्यमा फ्याक्सको मात्र व्यवस्था गरिएको हुन्छ । यति मात्र होइन, आफ्नो ब्यालेट पेपरको अवस्था समेत उनीहरुले पत्ता लगाउन सक्छन् ।

अन्य बर्षमा भन्दा पृथक यस बर्ष कोरोना भाइरसका कारण कतिपय मुलुकमा भने मेल सेवा पठाउन समेत समस्या उत्पन्न भएको छ । विशेषगरी द्वन्द्वग्रस्त मुलुक र कोभिडको कारणले १० बर्षभन्दा बढी मुलुकको मेल सेवा स्थगन भएको अमेरिकी सरकारले जानकारी गराएको छ । कतिपय सेवा प्रदायकले नै मेल लैजान नसक्ने जानकारी गराएका छन् ।

मतदातालाई कुनै समस्या आएमा त्यसलाई सम्बोधन गर्नका लागि टोल फ्रि नम्बर र फ्याक्स नम्बरको व्यवस्था गरिएको छ ।

मतदान गर्नु नागरिकको दायित्व भएको भन्दै अमेरिकाले संसारभरी रहेका आफ्ना नागरिकहरुलाई मतदानको लागि आग्रह गरेको छ । यसरी मतदान गर्नका लागि केही निश्चित मापदण्डहरु निर्माण गरेको हुन्छ, जसलाई पूर्ण रुपमा पालना गरेको हुनुपर्छ ।

नेपालमा पनि केही वर्षयता विदेशमा रहेका नेपाली नागरिकहरुका लागि मतदानको व्यवस्था गर्न माग भइरहेको छ ।

सर्वाेच्च अदालतले सन् २०१८ मा काम, विद्यार्थी र भिसा प्रयोजनका लागि विदेशमा रहेका नागरिकहरुलाई मतदानको व्यवस्था गर्न सरकारलाई आदेश दिएको थियो । निर्वाचन आयोगले पनि यससम्बन्धमा तयारी भइरहेको बताउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment