Comments Add Comment

डीभीबारे अमेरिकी दूतावास कन्सुलर प्रमुखलाई ६ प्रश्न

'छनौट प्रक्रिया शिक्षा र अनुभवमा निर्भर हुँदैन, तर प्लस टु पास हुनुपर्छ'

काठमाडौं । माइकल म्युसी सन् १९८८ मा पहिलो पटक अमेरिकी पिस कोरसँग नेपाल आएका थिए । जुम्लाको नाराकोटस्थित श्री भैरव माध्यमिक विद्यालयमा एक वर्ष गणित, विज्ञान र अङ्ग्रेजी भाषा पढाए । जुम्ला सदरमुकाम कर्णालीका चार जिल्लाका शिक्षकलाई गणित र विज्ञान पढाउने तालिम पनि दिए ।

२००२ मा अमेरिकी विदेश सेवामा प्रवेश गरेका उनले इजिप्ट, बहराइन, थाइल्याण्ड, इराक, जर्मनीमा काम गरिसकेका छन् । हाल काठमाडौंस्थित अमेरिकी दूतावासमा कन्सुलर मामिला प्रमुखका रुपमा कार्यरत छन् । उनै म्युसीसँग २१ असोजबाट सुरु भएको २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको आवेदन दर्ताबारे अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट अमेरिका पनि नराम्ररी प्रभावित बनेको छ । यले डाइभर्सिटी भिसा (डिभी) को कुनै नियम परिवर्तन भएको छ कि छैन ? यसवर्ष कम मानिसलाई मात्र डीभी प्रदान गरिने हो ?

डीभी कार्यक्रम अमेरिकी कानुनमा आधारित कार्यक्रम हो । प्रत्येक वर्ष ५५ हजार मानिसले डीभी पाउँछन् । यसवर्ष पनि डीभी पाउनेको संख्या त्यति नै राखिएको छ । डिभी चिÝामा दर्ताका लागि कुनै शुल्क बुझाउनु पर्दैन । इलेक्ट्रोनिक डीभी -ई-डिभी) इन्ट्री फारम आधिकारिक ई-डीभी वेबसाइटमा पाउन सकिन्छ ।

डीभी कार्यक्रम अमेरिकाको आर्थिक वर्षसँग जोडिएको छ । अमेरिकी आर्थिक वर्ष अक्टोबर १ देखि सुरु हुन्छ र सेप्टेम्बर ३० मा सकिन्छ । प्रत्येक आर्थिक वर्षमा डीभीको दुई वर्षका कार्यक्रमहरू प्रक्रियामा हुन्छन् । यो आर्थिक वर्षमा २०२१ सालको डीभी कार्यक्रमका लागि छनोट भएका धेरैले अन्तर्वार्ताको अवसर पाउनेछन् । अहिले तत्कालका लागि भने राष्ट्रपतिले नयाँ डीभीबाट अमेरिका आउन रोक लगाउने घोषणा गरेका छन् । यो घोषणा डिसेम्बर ३१ सम्म लागू हुनेछ ।

यस्तै ७ अक्टोबरदेखि २०२२ का लागि डीभी कार्यक्रमको रजिष्ट्रेसन सुरु भएको छ । छनोटमा परेकाहरूलाई मे ८ देखि सूचना आउन सुरु हुनेछ र, डीभी भर्ने प्रक्रिया यस वर्ष पनि अघिल्लो वर्षको जस्तै हुनेछ ।

अघिल्लो वर्ष डिभी परेका धेरै नेपालीले अमेरिका जान पाएनन् भन्ने सुन्नमा आएको छ । के यो सत्य हो ?

अमेरिकाको श्रम बजारको संरक्षणका लागि अमेरिकी राष्ट्रपतीय घोषणासँगै केही आप्रवासीको प्रवेशमा रोक लगाइएको छ, जसमा डिभी बाहक पनि पर्छन् । त्यसैले नयाँ आवेदकको अन्तर्वार्ता अस्थायी रूपमा रोकिएको थियो । भिसा अन्तर्वार्ताको लागि उपलब्ध समय घटेकाले अन्तर्वार्ताको संख्या पनि घट्यो र भिसा पाउनेको संख्यामा पनि कमी आयो ।

डिभी पर्न आवश्यक योग्यताका आम मापदण्ड के छन् ?

छनोट प्रक्रिया केन्टकी कन्सुलर सेन्टर (केसीसी) ले गर्ने पूर्ण रूपमा अनियोजित (र्‍यान्डम) छनोटको प्रक्रिया हो । मानिसहरूले डिभी वेबसाइटमा प्राप्त निर्देशनअनुसार डीभी भर्न सक्छन् । यसमा परिवारका सबै सदस्यको नाम राख्ने, जीवनी र पासपोर्टको जानकारी राख्ने, व्यक्तिगत इमेल राख्ने र परिवारका प्रत्येक सदस्यको फोटो समावेश गर्नुपर्छ ।

छनोटमा परेर अन्तर्वार्ताको समय तालिका पाएपश्चात् भिसाका लागि योग्य ठहरिनु यस प्रक्रियाको दोस्रो चरण हो । सामान्य मापदण्डहरू यस्ता छन् :-

१. छनोटमा परेका आवेदकको शैक्षिक योग्यता कम्तिमा प्लस टू पास हुनुपर्छ ।

२. छनोट भएका आवेदकको स्वच्छ प्रहरी रिपोर्ट हुनुपर्छ ।

३) आवेदकको स्वास्थ्य राम्रो हुनुपर्छ ।

४) आवेदकसँग आफू र आफ्नो परिवारका लागि जीविकोपार्जन गर्नसक्ने विश्वसनीय भविष्यको योजना हुनुपर्नेछ ।

राम्रो शैक्षिक योग्यता र क्षमता भएका मानिसलाई डिभी पर्ने सम्भावना बढी हुन्छ ?

छनोट प्रक्रिया कम्प्युटरद्वारा पूर्ण रूपमा र्‍यान्डम हुन्छ । यो प्रक्रिया शिक्षा र अनुभवमा कदापि निर्भर हुँदैन । यद्यपि छनोट भइसकेपछि भने प्लस टु पास गरेका र अन्तर्वार्ता दिएका मानिसकोे डीभी पर्ने सम्भावना बढी हुन्छ ।

डीभीका लागि छानिएका नेपालीले अमेरिकी नागरिकले जस्तै अवसर पाउँछन् त ?

डीभी परेका मानिसहरू अमेरिकाको जुनसुकै ठाउँमा आफ्नो चाहना अनुसार बस्न पाउँछन्, उनीहरूलाई क्षमताअनुसार चाहेको ठाउँमा काम गर्ने अवसर मिल्छ । उनीहरू आफ्नो इच्छा अनुसारको ठाउँमा पढ्न पनि पाउँछन् । साथै उनीहरूले चाहेमा अमेरिकामा व्यवसाय सञ्चालन गर्न पनि पाउँछन् । त्यसैले उनीहरू कहाँ र कसरी आफ्नो नयाँ जीवन बाँच्ने भन्ने कुरामा स्वतन्त्र हुन्छन् ।

कन्सुलर मामिला प्रमुखको रूपमा अमेरिका जान चाहने नेपालीहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?

यसअघि नै प्लस टू लेभलको शिक्षा प्राप्त गरेका व्यक्तिलाई डीभीले अमेरिका जाने अवसर प्रदान गर्नसक्छ । तर, अहिलेसम्म प्लस टु पास नभएका व्यक्तिले भने आफ्नो प्लस टुको प्रमाणपत्र नआउँदासम्म डीभी भर्नुहुँदैन । साथै अमेरिकामा आफ्नो नयाँ जीवनको सुरुवात गर्छु भनेर निर्णय गर्नुभन्दा पहिला बलियो योजना बनाउनु निकै महत्वपूर्णर् हुन्छ, किनकि यो त्यति सजिलो छैन ।

अर्को मुलुकमा गएर नयाँ जीवनको सुरुवात गर्नु निकै कठिन हुन्छ र धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । त्यसैले डीभी भर्नुभन्दा पहिला सोचविचार गर्नु राम्रो हुन्छ । छनोट भइसकेपछि पनि अन्तर्वार्ताको प्रक्रिया सुरु गर्ने कि नगर्ने भन्नेबारे पनि राम्रोसँग सोच्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment