२६ असोज, काठमाडौं । व्यवसायीले दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउन अस्वीकार गरेका छन् । यातायात व्यवस्था विभागले असोज २० देखि बुकिङ खुलाउन व्यवसायीलाई प्रस्ताव गरेको थियो ।
तर, व्यवसायीले अहिले नै चलिरहेका बसमै पर्याप्त यात्रु नभएको भन्दै अग्रिम बुकिङ खोल्न नपर्ने बताएका छन् ।
विभागमा भएको छलफलमा व्यवसायीले देशभरमा लामो दूरीमा सवारी चलाउने कम्पनीले एकै निष्कर्ष निकालेको भन्दै यो वर्ष अग्रिम टिकट बुकिङ खुलाउन नपर्ने बताएका हुन् । व्यवसायीले अग्रिम बुकिङ खोल्न नपर्ने बताएपछि सरकारले थप निर्णय लिएको छैन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङबारे छलफल गर्न गत लामो दूरीमा सवारी चलाउने सदस्य कम्पनीका अध्यक्षहरुसँग छलफल गरेको थियो ।
बैठकले विगतको दशैंको तुलनामा ५ भागको एक भाग पनि यात्रु संख्या नभएको भन्दै अग्रिम बुकिङ खोल्नुपर्ने अवस्था नै नरहेको निष्कर्ष निकालेको महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्य बताए । उनका अनुसार अहिले महेन्द्रनगर जस्ता महत्वपूर्ण रुटमा चल्ने ४० सिट बसमा १० जना यात्रु पनि भेटाउन मुस्किल भएको छ ।
‘हामीले सरकारलाई यसको जानकारी गराएका छौं,’ उनले भने,’यस वर्ष दशैंमा करिब ३० प्रतिशत बढी सवारी यात्रु नभएका कारण नियमित चल्न नसकेर थन्किने अनुमान छ ।’
महासंघका अनुसार अहिले दैनिक १० देखि ११ हजार व्यक्ति काठमाडौं भित्रिरहेका छन् भने ८देखि ९ हजार व्यक्ति बाहिरिरहेका छन् ।
‘गत वर्ष यो समयमा दिनमा एक लाख व्यक्ति आवत-जावत गर्थे, बाहिरिने संख्या अधिक हुन्थ्यो,’ अध्यक्ष कर्मचार्यले भने,’यो वर्ष विद्यार्थी बस खुल्नासाथै घर गइसके, मजदुर धेरै लकडाउनमा गएपछि काठमाडौं फर्किएका छैनन् ।’
उनका दाबी अनुसार यो वर्ष दशैंमा सरकारले तोकेको आधा सिटमै पनि यात्रु भरिने अवस्था छैन ।
आफू घर जाने निश्चित गर्न अग्रिम टिकट बुकिङ गरिने भन्दै उनले अहिले जहिले जतिबेला बसपार्क गएपनि जुनसुकै गन्तब्यमा सहजै टिकट पाउने अवस्था रहेकाले पहिल्यै टिकट काट्न नपर्ने तर्क गरे ।
‘कहिले लकडाउन हुन्छ पत्तो छैन, अहिले टिकट काटेर पछि लैजान सकिएन भने पैसा फिर्ता गर्नुपर्ने लगायतका अरु तनाव हुन्छ,’ उनले भने,’सरकारले नै यात्रा नगर्न भनिरहँदा अग्रिम टिकट काटनु उपयुक्त हुन्न ।’
अग्रिम टिकट बुकिङ नखोल्दा घटस्थापनापछि यात्रुको व्यवस्थापन गर्न मुस्किल पर्ने सम्भवना पनि छ । तर, व्यवसायीले अगि्रम टिकट काट्न नमानेपछि यातायात व्यवस्था विभाग के गर्ने भन्ने अन्योलमा परेेको छ ।
व्यवसायीले भने दशैंको मुखमा यात्रु चाप बढेर समस्या परेमा अहिले यात्रु नपाएर थन्किएका बसहरु चलाउने बताएका छन् ।
सरकारले यो वर्ष दशैंका बेला ५ लाख व्यक्ति उपत्यकाबाट बाहिरिने अनुमान गरेको छ । विगतमा वर्षमा यस्तो संख्या २० लाख बढी हुन्थ्यो ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4