Comments Add Comment

विगतको असक्षमताका कारण मैले गाली खानु परिरहेको छ- कृषिमन्त्री

३० असोज,काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले विगतको असफलता र अक्षमताका कारण आफूले गालि खानु परेको बताएका छन् । ४० औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले आफू आलोचनाहरुबाट बिचलित नभई कृषिको विकासका लागि निर्विकल्प अघि बढ्ने बताए ।

‘इतिहासका असफलता र असक्षमताका कारण वर्तमानले गाली खानु परिरहेको छ, तर गालीबाट विचलित नभइ अघि बढ्नुको विकल्प छैन,’ मन्त्री भूसालले भने ।

रासायनिक मल आयातको वर्तमान प्रणाली गतिलो र पारदर्शी नभएको मन्त्री भुसालको भनाइ थियो । मल वितरणका अपारदर्शी कार्यहरु बन्द गरिएको र अब पारदर्शी ढंगबाट मल वितरण गरिने उनको दाबी थियो ।

कोलकाताबाट दैनिक नेपालका लागि आउने रेल नचले अहिलेकै अवस्थामा शिवजी र ब्रम्हाजी आएपनि तुरुन्तै पाँच लाख मेटि्रकटन मल ल्याउन नसकिने उनको भनाइ थियो ।

मन्त्री भएर आएपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग राय सुझावका लागि ८ सयभन्दा बढीसँग भेट गरेको स्मरण गर्दै मन्त्री भुसालले अधिकांश कृषि विज्ञको सोचाइ असाध्यै प्राविधिक भएको बताए ।

‘माटो विज्ञ माटोमा मात्रै केन्दि्रत भएको छ, किट विज्ञ त्यसैभित्र हराएका छन्, यसरी कृषि क्षेत्रको विकास हुनसक्दैन, कृषि क्षेत्रको विकासका लागि समग्र कृषिको नेता हुने गरी सोच्नुपर्छ,’ मन्त्री भुसालले भने ।

कृृषि क्षेत्रको विकासका लागि कम्तिमा पनि हरेक वडामा एकजना कृषि प्राविधिकको व्यवस्था अनिवार्य शर्त भएको मन्त्री भूसालले बताए । उत्पादनमा मात्र जोड नदिई वितरणमा समेत उत्तिकै जोड दिए उत्पादन भएको खाद्यान्न समान रूपमा वितरण हुन उनको धारणा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment