+
+
Shares

बुंगमतीमा मनाइने जात्रापर्वहरू औपचारिकतामा सीमित राख्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २ गते १३:०४
बुंगमतीमा मनाइने नाङ्गचा प्याखंको क्रममा नाच्दै कलाकारहरू/फाइल तस्वीर

२ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नं २२ मा पर्ने बुंगमतीमा दशैंको समयमा मनाइने सबै जात्रा पर्वलाई यसवर्ष औपचारिकतामा सीमित गर्ने निर्णय भएको छ । आइतबार २२ नं वडाको पहलमा मोहनी नखः, आजु आजी तथा हनुमान जात्राको विषयमा विभिन्न सरोकारवाला संस्थासँग भएको छलफलले कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकोले यसवर्ष दशैंमा मनाइने जात्रा पर्वलाई क्षमापूजामा सीमित राख्ने निर्णय भएको हो ।

बैठकले गोरखा दरबारबाट हनुमान ढोका हुँदै बुंगमती ल्याउने फूलपाती पनि नल्याउने सम्भावना रहेकोले फूलपातीको दिन सोह्रखुट्टेसम्म नाङ्चा प्याख, बाजागाजा र बलीसहित फूलपाती लिन जाने परम्परालाई क्षमापूजामा सीमित राख्ने निर्णय गरेको छ ।

त्यस्तै, नवमीको दिन मच्छिन्द्रबहालमा गरिने कोतपर्वलाई पनि क्षमापूजामा सीमित गर्ने निर्णय भएको छ । नवमीकै राति गरिने मुकुन्द पुना लगायत आन्तरिक रूपमा गरिने सम्पूर्ण नियमित पूजा गर्ने र श्रीको जात्रा मच्छिन्द्रबहालमा मात्र सीमित गर्ने,

दशमीको दिन भारी पूजा, श्री मनकामना माई र हनुमान जात्रा सम्पन्न गर्ने, मनकामना माईलाई सुवालले बोकेको बिन्दु पात्र रहेको झौः द्य परिक्रमा गराई श्रीलाई यथास्थानमा विराजमान गराउने निर्णय भएको छ ।

अर्काेतर्फ, एकादशीको दिन पानेजुहरूको सम्पूर्ण आन्तरिक पूजा सकिएपछि श्रीलाई खटमा राखेर सम्पूर्ण भक्तजनहरूलाई पूजा गर्ने गराउने व्यवस्था मिलाउने र सोही दिन भक्तजनहरूको मच्छिन्द्रबहाल ३ पटक परिक्रमा गराई श्रीको मन्दिरमा विराजमान गराउने निर्णय भएको ललितपुर महानगरपालिका वडा नं २२ का वडाध्यक्ष अम्बिर राज शाक्यले जानकारी दिए ।

जात्राबारे निर्णय गर्ने बैठकमा पानेजु संघ, ग्वाला पाला, गुरुजु, बाजा खलहरू, राजनीतिक दलका प्रतिनिधिहरू आदि र प्रहरी प्रशासन तथा अन्य सरोकारवाला निकायहरूसँगको छलफलले सबै जात्रापर्वलाई औपचारिकतामा सीमित गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?