Comments Add Comment

शवको प्रतीक्षामा आफन्तहरु चिता कुरेको कुर्‍यै

२ कात्तिक, विराटनगर । आइतबार बिहान नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित ७५ वर्षीय वृद्धको मृत्यु भयो ।

विराटनगर महानगरपालिका– ३ का वृद्धको शव नेपाली सेनाले दिउँसो ११–१२ बजे घाटमा ल्याइदिने भनेपछि आफन्तले परोपकार घाटमा चिता बनाए । तर शव उठाउने सेनाको टोली आएन । १ घण्टा, २ घण्टा भन्दै रोक्दै रह्यो । शव ल्याउने प्रतीक्षामा चिता रुङ्नेहरु अलमलमा परे । सेनाको टोलीले गाडी बिग्रिएका कारण शव उठाउनका लागि केही समय लाग्ने जानकारी दियो ।

आफन्तहरु कोही शवको पर्खाईमा नोबेल मेडिकल कलेजमा बसे । केही परोपकार घाटमा चिता कुरेर बसे । ‘हामी आफै लैजान्छौं भन्दा पनि दिँदैनन्, एकछिन एकछिन भन्दै दिनभर रुँघाए’ छोरा दीपेन्द्र रेग्मीले भने ‘बिहान ४ बजे मृत्यु भयो । शव अस्पतालमै छ । घण्टौं बित्दा पनि अत्येष्टि गर्न पाइएन् ।’

….

आइतबार बिहान करिब ९ बजे नोबेल मेडिकल कलेजमै विराटनगर– ७ का ८२ वर्षीय वृद्धको मृत्यु भयो । मृत्यु प्रश्चात आफन्तले अन्त्येष्टि गर्ने बताएपछि नेपाली सेनाको टोलीले चाँडो चिता बनाउन भन्यो । आफन्तले हाटखोलास्थित परम बिश्रान्ति घाटमा चिता बनाए ।

१–२ घण्टामा ल्याइपुर्‍याउने अनुमान गरेको शव आइतबार साँझसम्म पुगेन । दिउँसोदेखि साँझसम्म आफन्तले शव आउने आशमा घाटमा चिता रुँघेर बसे । ‘एकै छिनमा आउँछ भन्दै थिए । तर ५–६ घण्टासम्म पनि ल्याएनन्’ मृतक वृद्धका छोरा प्रज्वल आचार्यले भने ‘दिउँसोदेखि हामी चिता रुँघेर बसेका छौं तर, शव अझै ल्याइएन ।’

….

विराटनगर महानगरपालिका–४ जामुनगाछीका ८५ वर्षीय वृद्धको आइतबार बिहान १० बजे घरमै मृत्यु भयो ।

उनको मृत्यु भएपछि सेनाले घरबाट घाटसम्म शव पुर्‍याइदिने भएपछि आफन्त र छिमेकीले परोपकार घाटमा चिता बनाए । आइतबार दिउँसो ४ बजे चिता बनाएर आफन्तहरु शव पर्खिएर बसेका बसे ।

परोपकार घाटमा दुईवटा चिता छेउछाउमा बनाएर मृतकका आफन्तहरु शव पर्खिएर बसेका छन् । तर शव कतिबेला घाटसम्म पुग्ने टुंगो छैन ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बढ्न थालेपछि नेपाली सेनाको टोलीबाट शव व्यवस्थापन र्न ढिलासुस्ती हुन थालेको छ । सेनाको शव व्यवस्थापन गर्ने टोली विराटनगरबाट करिब तीन घण्टा टाढाको दुरीमा रहेका कारण शव व्यवस्थापनमा समस्या हुन थालेको हो । शव उठाउन ढिलासुस्ती हुँदा आफन्त गुमाउँदाको पीडामा रहेकाहरु झन् तनावमा बस्नुपरेको बताउँछन् ।

पहाडमा सेनाको क्वारेन्टिन

नेपाली सेनाले शव व्यवस्थापनका लागि छुट्टै टोली बनाएको छ । टोलीका लागि बनाइएको क्वारेन्टिन भने विराटनगरबाट ८० किलोमिटर टाढा मिक्लाजुङको टाडीमा छ । पहाडी क्षेत्रमा रहेको क्वारेन्टाइनबाट विराटनगर आइपुग्न करिब तीन घण्टा लाग्छ ।

आइतबार भने शव व्यवस्थापनमा प्रयोग हुने सवारी साधन बिग्रिएका कारण समस्या भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले जानकारी दिए ।

‘शव व्यवस्थापनमा प्रयोग हुने गाडी बिग्रिएका कारण समस्या भएको हो’ उनले भने ‘गाडी बनिसकेको छ । आजै शव व्यवस्थापन हुन्छ ।’ शव व्यवस्थापनमा प्रयोग हुने गाडी एउटा मात्रै भएकाले बिग्रदा ढिलाई भएको उनले बताए ।

क्वारेन्टिन सार्न माग

शव व्यस्थापनमा खटिएका टोलीका लागि विराटनगरमा नै क्वारेन्टिन बनाउनका लागि पहल भइरहेको नेपाली सेनाको सूर्यदल गण थलाहाका गणपति महेश बाटाले बताए ।

‘क्वारेन्टिन टाढा भएकाले आउन जान अलिक गाह्रो भएको हो’ उनले भने ‘विराटनगर आसपास क्वारेन्टाइन व्यवस्थापनका लागि प्रदेश सरकारलाई पत्र पठाएका छौं ।’
प्रदेश सरकारले स्थान उपलब्ध गराइदिए तत्काल शव व्यवस्थापन गर्ने टोलीलाई राखिने उनले बताए ।

सेनाको टोली २४ सै घण्टा शव व्यवस्थापनमा खटिएको बताउँदै उनले आइतबार शव व्यवस्थापनमा प्रयोग हुने गाडी बिग्रिएका कारण समस्या भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment