+
+

दसैँका बेला भारतबाट फर्किनेहरु नगन्य, सुनसान छ बेलहिया नाका

टोपराज शर्मा टोपराज शर्मा
२०७७ कात्तिक ४ गते १४:०१

४ कात्तिक, बुटवल । दसैँको बेला विगतका वर्षमा भारतबाट घर फर्किनेको लर्को लाग्ने रुपन्देहीको बेलहिया नाका यो वर्ष सुनसान छ ।

भारतका विभिन्न प्रान्तमा रोजगारी र अन्य कामले रहेका नेपालीहरु दसैँ मनाउन घर फर्कने गरेपनि यो वर्ष कोरोना महामारीका कारण घर फर्कनेको संख्या नगण्य छ ।

विगतमा दसैँका बेला भारतबाट दैनिक २ देखि ३ हजार जना नेपाली घर फर्किए पनि हिजोआज दैनिक चारसय हाराहारी मात्र फर्किएका छन् ।

प्रहरी चौकी बेलहियाका इन्चार्ज प्रहरी निरीक्षक ईश्वरी अधिकारीका अनुसार असोज १५ गतेदेखि कात्तिक २ गतेसम्मको १८ दिनमा बेलहिया नाकाबाट ७ हजार ९६ जना नेपाल आएका छन् । यो संख्यामा नेपालका उद्योगमा काम गर्ने भारतीय मजदुर, व्यवसायी, मेडिकल कलेजका विद्यार्थी पनि करिब तीन सयजना छन् ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएसंगै भारतमा रहेका नेपालीहरु चैत महिनाबाटै नेपाल फर्किन शुरु गरेकाले यो वर्ष दसैँंमा नगण्य संख्या हुन गएको हो ।

‘दसैँको टीकाअघिका १५ दिनमा मात्रै भारतबाट बेलहिया नाका हुँदै कम्तीमा ५० हजार जना नेपाली आउँथे’ रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले भने, ‘यो वर्ष त कोरोनाका कारण बेलहिया नाका सुनसान जस्तै छ, नेपाल फर्कने संख्या नगण्य छ ।’

नेपाल फर्किनेलाई लक्षित गरी सञ्चालन गरिएका पसलमा मानिसहरुको चहलपहल छैन । ‘पोहोर यो बेला रेष्टुरेन्टमा ग्राहकको खचाखच भीड हुन्थ्यो, ब्यापार पनि राम्रो थियो’ बेलहियाका रेष्टुरेन्ट व्यवसायी नवीन गुरुङले भने, ‘अहिले भारतबाट मान्छे नै आएका छैनन्, दिनभर कुर्दा पनि एक हजारको व्यापार छैन ।’

अघिल्ला वर्ष दशैंका बेला बेलहिया नाकाबाट देशका सातै वटा प्रदेशका लागि दैनिक ५ सय वटा बस सञ्चालन गरेको पश्चिम नेपाल बस व्यवसायी प्रालिले यो वर्ष दैनिक २ वटा बस मात्र चलाएको प्रालिका सञ्चालक जीवन बन्जाडेले बताए ।

‘गत वर्ष नियमित २ सय ५० वटा र क्यु फ्रि २ सय ५० वटा गरी दसैँमा पाँच सय वटा बसले लामो दूरीका यात्रु बोक्थे’ बन्जाडेले भने, ‘यो वर्ष दिनमा दुई वटा मात्र बस चलेका छन्, ती बस पनि भरिन्नन्, हरेक ट्रिपमा ३ देखि ५ हजार घाटा हुने गरेको छ ।’

करिब २६ सय बस रहेको प्रालिले कोरोना महामारीका कारण यात्रु घटेकाले ३० प्रतिशत बस मात्रै चलाउन सकिने गरी व्यवसायीका लागि आलोपालोको व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाका अनुसार चैत ११ देखि कात्तिक २ गतेसम्म भारतबाट बेलहिया नाका हुंदै ४५ हजार ६ सय ९४ जना नेपाली घर फर्केका छन् ।

कोरोना महामारी नभएको भए यी नेपालीमध्ये अधिकांश दसैँमा घर फर्कने थिए । कोरोना संक्रमणको जोखिम रोक्न प्रदेश सरकारले नेपालीहरुलाई भारततर्फ जान पनि कडाइ गरेका कारण सुनौलीमा किनमेल गर्न जानेहरु स्थानीय बजारमै रोकिएका छन् ।

यसले स्थानीय नेपाली व्यवसायीलाई सकारात्मक प्रभाव पारेको उद्योग ब्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?