Comments Add Comment

‘ब्राजिलमा गरिएको परीक्षणमा चिनियाँ खोप सुरक्षित’

४ असोज, काठमाडौं । चिनियाँ कम्पनी सिनोभ्याकले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ब्राजिलमा परीक्षणको क्रममा सुरक्षित देखिएको छ । सोमबार सार्वजनिक गरिएको अन्तिम चरणको क्लिनिकल परीक्षणको प्रारम्भिक नतिजाअनुसार सिनोभ्याकको उक्त खोप कोरोनाविरुद्ध प्रभावकारी पनि देखिएको छ ।

सिनोभ्याक अन्तिम चरणको क्लिनिकल परीक्षणको प्रारम्भिक नतिजा सार्वजनिक गर्ने पहिलो कम्पनी हो । ब्राजिलमा सिनोभ्याकको खोपको परीक्षण गरिरहेको साओ पाउलोको बुटानटान इन्स्टिच्युटकाअनुसार क्लिनिकल परीक्षणको तेस्रो चरणमा नौ हजार स्वयंसेवकमा गरिएको परीक्षणमा यो खोप सुरक्षित देखिएको छ । उनीहरुलाई खोपको दुई डोज दिइएको थियो ।

बुटानटानका निर्देशन डिमास कोभासले यो खोप कत्तिको प्रभावकारी छ भन्ने डेटा भने १५ हजार मानिसमा गरिएको विस्तारित परीक्षणपछि सार्वजनिक गरिने बताएका छन् । साओ पाउलोका स्वास्थ्य सेक्रेटरी जिन गोरिन्चटेइनले सिनोभ्याकको खोपले मानिसमा एन्टिबडी विकास भएको देखिएको बताएका छन् । उनले यो खोपले यस वर्षको अन्तिमसम्ममा नियामकहरुबाट अनुमति पाउने र सन् २०२१ को सुरुबाट मानिसहरुलाई यो खोप दिन सुरु गरिने विश्वास व्यक्त गरे ।

अहिले खोप निर्माणको क्रममा रहेको अन्य कम्पनीहरुमा अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले निर्माण गरिरहेको खोपको पनि अन्तिम चरणको परीक्षणको नतिजा केही समयमा नै सार्वजनिक हुन सक्ने बताइएको छ । अमेरिकी कम्पनी मोडर्नाले नोभेम्बरमा अन्तिम चरणको परीक्षणको नतिजा सार्वजनिक हुने बताएको छ । रुसको गामालेया इन्स्टिच्युटले पनि आगामी महिना आफ्नो खोपको अन्तिम चरणको परीक्षणको नतिजा सार्वजनिक गर्ने अपेक्षा छ ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment