Comments Add Comment

पाकिस्तानले हटायो टिकटकमाथिको प्रतिबन्ध, कारण यस्तो

काठमाडौं । पाकिस्तानले लोकप्रिय भिडियो शेयरिङ एप टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । अश्लीलता फैलाएको आरोपमा टिकटकमाथि केही हप्ताअघि मात्र प्रतिबन्ध लगाएको पाकिस्तान सरकारले त्यस्तो प्रतिबन्ध फुकुवा गरेको हो ।

आफ्ना अकाउन्टमा अश्लील भिडियो राख्ने वा अनैतिक चीजहरुको प्रसार गर्ने सबै प्रयोगकर्ताको अकाउन्ट टिकटकले ब्लक गरिदिएसँगै पाकिस्तानले यस्तो कदम चालेको बताइएको छ ।

टिकटकले पाकिस्तान सरकारका शर्तहरु पालना गरी आफ्नो सामाग्री नीतिलाई थप मजबुत बनाएको र टिकटकमा कुनैपनि अश्लील तथा आपत्तिजनक सामाग्रीको प्रशारमा रोक लगाएको पाकिस्तानस्थित टिकटकका अधिकारीको भनाइ छ ।

भारत र अमेरिकापछि टिकटकले पाकिस्तानमा पनि दीर्घकालीन प्रतिबन्ध व्यहोर्नुपर्ने चर्चा चलिरहेको बेला पाकिस्तान सरकारको पछिल्लो कदमले चिनियाँ एप टिकटकलाई राहत मिलेको विश्लेषण गरिएको छ ।

पाकिस्तानको दूरसञ्चार प्राधिकारणका प्रवक्ताले स्थानीय नियमहरुको पालना गरी आफ्नो नीतिमा परिवर्तन गर्नका लागि टिकटक सहमत भएको बताएका छन् । अब पाकिस्तानमा टिकटकको माध्यमबाट अश्लीलता र अभद्रताको प्रसार नहुने उनको भनाई छ ।

पाकिस्तानमा टिकटकका २ करोड भन्दा धेरै प्रयोगकर्ता रहेका छन् । पछिल्लो एक वर्षमा पाकिस्तानमा सबैभन्दा धेरै डाउनलोड हुने एपमा फेसबुक र ह्वाट्सएपपछि टिकटक तेश्रो स्थानमा रहेको छ ।

केही महिनाअघिको सीमा विवादसँगै भारतले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा टिकटक प्रयोगकर्ताको संख्या १० करोड थियो । त्यसपछि अमेरिकाले पनि टिकटकमाथि प्रतिबन्धको घोषणा गरिसकेको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment