
५ कात्तिक । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले हरेक प्रदेशमा कम्तीमा एउटा कृषिको राष्ट्रिय गौरवको आयोजना बनाउने बताएका छन् । धनुषामा प्रदेश २ को कृषि राष्ट्रिय गौरव आयोजना अघि बढाउने क्षेत्रको स्थलगत निरीक्षण गर्दे मन्त्री भुसालले यस्तो बताएका हुन् ।
जिल्लाको कमला र जनक नन्दनी नगरपालिकाको १४ हजार भन्दा धेरै विघा जमिनमा सहकारी तथा सामुहिक खेतीमार्फत कृषि आयोजना अघि बढाउन पूर्व सम्भाव्यता अध्ययन गरिने पनि उनले घोषणा गरे ।
‘जमिन उपयोग गरेर माछा पालन, तरकारी, फलफुल खेती वा अन्य प्रयोजनका लागि जमिनको प्रयोगका सम्बन्धमा पूर्व सम्भाव्यता अध्ययन गरिने छ,’ मन्त्री भुसालले भने । हरेक प्रदेशमा कम्तीमा एउटा कृषिका गौरवका योजना बनाउने सोच मन्त्रालयले रहेको भन्दै उनले प्रदेश २ को आयोजनालाई मूर्त रुप दिएरै छाड्ने बताए ।
२०६४ सालमा कमला नदीले धार परिवर्तन गरेर अलपत्र परेको हजारौं बिघा जमिनलाई उचित प्रयोग गरेर आयोजना अघि बढाउन सकिने प्रदेश सरकारको राय छ । आयोजना क्षेत्र १० किलोमिटर लामो र २ किलोमिटर चौडाइको छ ।
कृषि मन्त्रालयको मत्स्य विकास महाशाखाको टिमले स्थलग निरीक्षण गरेर सकारात्मक राय दिएपछि मन्त्री भुसालले उक्त स्थानको निरीक्षण गरेका हुन् । संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा जमिनको स्वामित्व किसानकै कायम रहने गरी सबै वडामा सहकारीमार्फत आयोजना अघि बढाइने प्रारम्भिक तयारी छ ।
प्रतिक्रिया 4