Comments Add Comment

आफ्नै ओटिटी प्लेटफर्ममार्फत नयाँ फिल्ममेकरसँग सहकार्य गर्नेछु –रुद्र गुरुङ

अन्तर्मुखी स्वभावका छन्, रुद्र गुरुङ । खुलेर बाहिर आउन वा झ्याली पिटेर आफ्नो प्रचार गर्न रुचाउँदैनन् । यद्यपि उनी वर्षौंदेखि अविछिन्न सिनेमा÷वृत्तचित्र निर्माण, निर्देशनमा खटिएका छन् । सुरुवाती दिनमा उनले नयाँ–पुराना सर्जकका गीत संकलन, रेकर्ड र गीति संग्रह निकाल्ने काम गरे । त्यस क्रममा अम्बर गुरुङ, फत्तेमान राजभण्डारी, मणिकरत्न, प्रेमध्वज प्रधानदेखि कुबेर राई, दावा ग्ल्यामोसम्मका गीति संग्रह निकाले ।

पछिल्लो समय उनी सिनेमाको पोस्ट प्रोडक्सनदेखि छायांकनसम्मका व्यवस्थामा खटिएका छन् । आरबिए फिल्म्स् अन्तर्गत उनी सिनेमा छायंकनका लागि आवश्यक क्यामेरा, ट्रली, जोनी जीपदेखि लइटसम्मको व्यवसाय गरिरहेका छन् ।

अहिले भने उनी ओटिटी प्लेटफर्मतर्फ तानिएका छन् । आफ्नो बेग्लै भिडियो स्ट्रिमिङ साइट आरबिएसिनेप्राइम अन्तर्गत सिनेमा, वृत्तचित्र, वेब सिरिज प्रदर्शनको तरखरमा लागेका छन् । विश्वव्यापी रुपमा बढिरहेको ओटिटी प्लेटफर्मको बजारलाई मध्यनजर गरेर गुरुङले नेपाली आरबिएसिनेप्राइम सुरु गरेका हुन् ।

त्यसो त अहिले कोरोना भाइरसको बढ्दो जोखिमले सिनेमा हलहरु ठप्प छ । प्रदर्शन मिति कुरेर बसेको सिनेमाहरु थन्किएका छन् । यस्तो पृष्टभूमीमा नेटफ्लिक्स जस्ता ओटिटी प्लेटफर्मले तिब्रताकासथ आफ्नो पकड जमाउँदैछ । यसले सिनेमा हेर्ने संस्कारमा नै परिवर्तन ल्याइदिएको छ । यही परिवर्तनलाई आत्मसात गर्दै ओटिटी प्लेटफर्म आरविएसिनेप्राइम सुरु गरेको गुरुङ बताउँछन् ।

आफ्नै भिडियो स्ट्रिमिङ साइट सञ्चालन गर्ने जाँगर कसरी चल्यो ?

त्यही क्षेत्रमा काम गर्दै आइरहेको हुँदा अहिलेको समय अनुसार कुन कुरा उचित हुन्छ भनेर सोचिन्छ । अहिले विश्वव्यापी रुपमै ओटिटी प्लेटफर्मको ट्रेन्ड फस्टाएको छ । हलहरु बन्द भएका कारण पनि धेरैजना ओटिटी प्लेटफर्मबाटै सिनेमा, बेवसिरिज हेर्न थालेका छन् । अहिलेको युग सुहाउँदो व्यवसाय हुन्छ भन्ने लागेर मैले पनि आरबिएसिनेप्राइम सार्वजनिक गरेको हो । अब सिनेमाको भविष्य ओटिटी प्लेटफर्ममै छ ।

अहिले हामीकहाँ नेटफ्लिक्स जस्तो प्लेटफर्म हावी छ । त्यसै मार्फत हाम्रा दर्शकहरु विश्वभरका सिनेमा हेरिरहेका छन् । यस्तो अवस्थामा घरेलु प्लेटफर्मले बजारमा प्रतिस्पर्धा गर्न सक्छ ?

तपाईंले भनेजस्तै स्थिती छ अहिले । नेटफिलिक्स, अमेजन प्राइम, डिज्नी हटस्टार आदिसँग हामी प्रतिस्पर्धा गर्न सक्दैनौं । त्यसैगरी भारतमा पनि थुप्रै ओटिटी प्लेटफर्म सञ्चालनमा छन् । तर, हामी तिनीहरुसँग डराएर चुपचाप बस्ने हो भने भोलिका दिनमा के होला ? कसै न कसैले चुनौती त लिनु नै छ । सुरुवात त गर्नु नै छ । यसबाट म रातारात पैसा कमाई हुन्छ वा पपुलर हुन्छ भनेर लागेको होइन । तर, यो एउटा थालनी हो र यसले एउटा थीति भने बसाउनेछ । कसै न कसैले यो काम गर्नु त छँदैछ ।

अब यसलाई कसरी सञ्चालन गर्नुहुन्छ ?

मैले विगतमा केही चलचित्र, वृत्तचित्र निर्माण गरेको छु । प्रणय लिम्बुले निर्देशन गरेको ‘द स्पोन्सर’ जस्ता चलचित्र हामीले सार्वजनिक गरेका थिएनौं । यही प्लेटफर्मबाट अब सार्वजनिक गर्नेछौं । त्यस्तै रामबाबु गुरुङको स्क्रिप्टमा मैले बनाएको द नेकलेस पनि राख्नेछु गर्नेछु । भारतका प्रमूख बैंकहरु र लोकल गेटवे,  इसेवा लगायत कुनैपनि पेमेन्ट गेटवेबाट पैसा भुक्तानी गरेर यहाँ सिनेमा हेर्न सकिनेछ ।

अरु सिनेमाहरुमा लगानी, निर्माण वा खरिद पनि गर्नुहुन्छ ?

सिनेमा खरिद गर्नेभन्दा पनि अहिले सहकार्यमा काम गर्ने सोंच छ । खासगरी नयाँ फिल्ममेकरहरु जोसँग राम्रो कन्सेप्ट छ, उनीहरुले हामीसँग सहकार्य गर्न सक्छन् । जस्तो मेरो आरबिए फिल्म्ससँग जतिपनि इक्विपमेन्ट छ, त्यसलाई साझेदारमा प्रयोग गर्न सकियो । पोस्ट प्रोडक्सनदेखि अरु थुप्रै काम हामी आफै गरिरहेका छौं । खासमा मैले एउटा प्लेटफर्म तयार गरेको हो, स्रोत साधन पनि मसँग पर्याप्त छ । अब मलाई सिनेमा बनाउने क्रिएटिभ युवाहरुको खाँचो छ । यदि उनीहरुले राम्रो कन्सेप्ट लिएर आउँछन् भने म हरेक किसिमले सहकार्य गर्न तयार छु ।

जस्तो ?

अहिले बनिरहेको कमर्शियल जस्तो भन्दा पनि अलि फरक र आफ्नोपन भएको । मौलिक किसिमको । फिचर फिल्म होस् वा सर्ट फिल्म या त डकुमेन्ट्री नै, सबैमा काम गर्न सकिन्छ ।

तपाईंको खास व्यवसाय सिनेमाको लागि आवश्यक इक्विपमेन्ट हो । कस्ता कस्ता इक्विपमेन्ट छ हामीसँग ?

अहिले प्रचलनमा आएको राम्रो राम्रो इक्विपमेन्ट सबै मसँग छ । मसँग भएको इक्विपमेन्ट लिएर जस्तो पनि सिनेमा बनाउन सकिन्छ । अहिले हामीकहाँ आइरहेका टेलिभिजन रियलिटी शोहरुमा हाम्रै इक्विपमेन्ट प्रयोग भइरहेका छन् । नेपाल आइडल, द भ्वाइस अफ नेपाल, को बन्छ करोडपति, नेपाल स्टार, लोक स्टार, बुगी वुगी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment