
६ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाका कार्यकर्ताबीच झडप भएको छ । गाउँपालिका कमिटिको सपथग्रहण कार्यक्रममा विवाद भई झडप भएको हो । झडपमा ६ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये उत्तम तिवारी र मुकेश चौरसियाको अवस्था गम्भीर छ । अन्य ४ जना सामान्य घाइते छन् ।
नारायणी अस्पतालमा प्रारम्भिक उपचार पछि मुकेश चौरसियालाई थप उपचारका लागि वीरगञ्जकै एलएस न्युरो अस्पतालमा रिफर गरिएको छ ।
विन्दवासिनी गाउँपालिकामा सर्वसम्मतिमा विक्रम चौरसियाकोे नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो । नेकपाका पर्सा संयोजक प्रभु हजराका अनुसार बिहीबार राखिएको सपथग्रहण कार्यक्रममा कार्यकर्ताबीच झडप भएको हो ।
‘विन्दवासिनीमा कुनै समस्या थिएन, सर्वसम्मतीमा कमिटि गठन भएको थियो । संयोजक हजराले भने ‘तर आधालाई निम्तो दिएछन्, आधालाई बोलाएनछन् । त्यही विषयमा सवाल जवाफ हुँदा कार्यकर्ताबीच नै झडप भएछ ।’
आफू कार्यक्रममा सहभागी हुनका लागि तिलावे पुल पुग्दै गर्दा झडप भएर घाइते कार्यकर्तालाई मोटरसाइकलमा राखेर ल्याएको देखेको उनले बताए । ‘सम्झाउने बुझाउने मौकासमेत मिलेन, म पुग्नुअघि नै झडप भइसकेको रहेछ’ संयोजक हजराले भने ‘पार्टीमा केही नेताको तिकडमबाजीले समस्या भइरहेको छ ।’
बहुदरमाई नगरपालिकामा सपथ ग्रहण गर्दा आफूलाई जानकारी नै नदिई गरिएको उनले बताए ।
प्रतिक्रिया 4