Comments Add Comment

रोकियो कर्णालीको मन्त्रिपरिषद् पुनर्गठन

१६ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन आज नहुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजै मन्त्रिपरिषद् पुनगर्ठनको तयारी गरेका थिए ।

तर, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन मन्त्रिपरिषद् पुनर्गठन नगर्न भनेपछि मुख्यमन्त्री शाहीको तयारी रोकिएको स्रोतले जनाएको छ ।

आज (आइतबार) मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारीसहित मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई राजीनामा दिन हिजो साँझ नै आग्रह गरेका थिए ।

तर, प्रधानमन्त्री ओली निकट मन्त्रीहरु दल रावल र नन्दसिंह बुढाले राजीनामा नदिने, बरु हटाए हट्ने अडान लिएपछि मन्त्रिपरिषद् पुनर्गठनको तयारी रोकिएको हो ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा उभिएका मन्त्रीहरु रावल र बुढालाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन जनालाई मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री शाही जुटेका छन् ।

नेता नेपाल पक्षका सात सांसद अविश्वासको प्रस्तावबाट पछि हटेपछि मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री र एक जनालाई सचेतक बनाउने सहमति गरेका छन् । सोही सहमतिअनुसार, कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् ।

ओली निकट यमलाल कँडेलको नेतृत्वमा नेकपाकै १८ सांसदले हस्ताक्षर गरी तयार भएको अविश्वासको प्रस्ताव अगाडि बढाउने गुलाबजंग शाहलाई प्रमुख सचेतकबाट बर्खास्त गर्दै मुख्यमन्त्री शाहीले सीता नेपालीलाई प्रमुख सचेतक नियुक्ति गरिसकेका छन् ।

तर, ओली-प्रचण्डले थप निर्णय नलिन निर्देशन दिएपछि मुख्यमन्त्री शाही आफूले गरेको सहमति कार्यान्वयन गर्नबाट रोकिएका थिए । कर्णालीका नेताहरुसँग छुट्टा-छुट्टै बसेका ओली र प्रचण्ड बीच पनि विवाद हल गर्नेबारे सहमति नजुटेपछि मुख्यमन्त्री शाही अगाडि बढ्न खोजेका छन् ।

त्यसैअनुसार, सामाजिक विकास विकासमन्त्री रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढालाई राजीनामा गर्न मुख्यमन्त्री शाहीले आग्रह गरे । तर, प्रधानमन्त्री ओलीले राजीनामा नगर्न, बरु हटाए हट्न भनेपछि मन्त्री रावलले सामाजिक सञ्जाल मार्फत् मन्त्रालयबाट विदाइ हुने संकेत दिएका थिए । जुन फेसबुक स्टाटस उनले हटाइसकेका छन् ।

तर, प्रचण्डको निर्देशनपछि ओली पक्षका दुवै मन्त्रीलाई मुख्यमन्त्री शाहीले आजै हटाउने तयारी भने रोकिएको छ । नेपाल समूहले मन्त्रीका लागि चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापाको नाम सिफारिस गरेको छ ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा ३३ सांसद नेकपाका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment