Comments Add Comment

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान

२२ कात्तिक, काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा बुझाउनु पर्ने छ ।

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न सरकारले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको छ ।

सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दी अनुसार रिक्त शिक्षक तथा कर्मचारी पदको नियुक्ति तथा त्यस्तो पदमा नियुक्त शिक्षक तथा कर्मचारीको बढुवाको लागि सिफारिस गर्ने जिम्मेवारी शिक्षक सेवा आयोगलाई तोकिएको छ ।

एक अध्यक्ष र दुई जना सदस्य (एक महिला) गरी ३ सदस्यीय शिक्षक सेवा आयोग गठन हुने प्रावधान शिक्षा ऐनमा छ । पदाधिकारीहरुको नियुक्ति ५ वर्षको लागि हुन्छ । शिक्षा ऐनमा शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा पुनः नियुक्ति हुने व्यवस्था छ ।

आयोगका अध्यक्ष ताना गौतमको पनि कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल आयोग पदाधिकारीविहीन छ । त्यसअघि नै आयोगका एक जना सदस्य ज्ञानी यादवको पद गत असारमा र अर्का सदस्य सिताराम पोख्रेलको पद २०७५ मंसिरदेखि रिक्त भएको थियो ।

सरकारले आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकेको छ ।

अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment