
२६ कात्तिक, काठमाडौं । पूर्वराज्यमन्त्री खोभारी राय जिल्ला अदालत, काठमाडौंको आदेशपछि छुटेका छन् । जिल्ला अदालत, काठमाडौंले तीन हजार रुपैयाँ धरौटी लिएर छोड्न आदेश दिएपछि काठमाडौं प्रहरीले उनलाई हिरासतमुक्त गरेको हो ।
धरौटी रकम बुझाएपछि शुक्रबार उनीसहित जुवाखालबाट पक्राउ परेका १० जना जुवाडेलाई छाडिएको काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई बताए ।
यसअघि १६ कात्तिकमा महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई १ लाख ५३ हजार रुपैयाँसहित जुवाखालबाट पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, बिक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत भण्डारी, कान्छा तामाङ, धर्मलाल तामाङ लगायत थिए ।
खोभारी राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका उनी २०७४ सालमा तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
विवादित छविका खोभारी राय त्यसयता राजनीतिमा निष्कृय थिए ।
प्रतिक्रिया 4