
२७ कात्तिक, काठमाडौं । सरकारले गैरकानुनी रुपमा आफ्नो आवास क्षेत्रमा डोजर लगाएको विरोधमा बालाजु बाइपासवासीले प्रदर्शन गरेका छन् । सरकारले सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरे भन्दै उनीहरूले बिहीबार प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतको ८ चैत २०७३ मा ‘छलफलबाट टुँगो नलागेसम्म निवेदकहरूको घर आँगनमा प्रवेश गर्ने, अनधिकृत कब्जा गर्ने भत्काउने जस्ता कुुनै पनि कार्य नगर्नु नगराउनु’ भन्ने आदेश दिएको थियो । त्यो आदेश कार्यान्वयन गर्नुपर्ने स्थानीयको माग छ ।
काठमाडौं उपत्यकाका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ अनुसार शाखा सडकको चौडाइ १४ मिटर हुनुपर्दछ । त्यसअनुसार जग्गा दिन आफूहरू तयार रहेको स्थानीय भीमदेव श्रेष्ठ बताउँछन् । तर पहुँचवालाको घर जोगाउन सरकारले एकातर्फमात्रै १४ मिटर सडक विस्तार गरेको उनको भनाइ छ ।
उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंले भने बालाजु बाइपासदेखि महेन्द्रपार्क क्षेत्रमा २६५ मिटर दुरी सडक निर्माणका लागि डोजर लगाएको जनाएको छ ।
तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4