Comments Add Comment

भार प्रेषण केन्द्रमा पुगे उर्जामन्त्री

२९ कात्तिक, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन (अनन्त) नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुगेका छन् ।

देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन् ।

नेपालीहरुको दोश्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ । उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ ।

विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस् भन्ने आफ्नो चासो रहेको मन्त्री पुनले बताए । ‘तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मी पूजा गर्ने अवस्था होस् भन्न माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि आएको हुँ’, मन्त्री पुनले भने ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशबासीलाई अपिल गरेका छन् । सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरुलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ ।

भार प्रेषण केन्द्रले देशभरको विद्युत आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्छ । अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत गृहबाट कति विद्युत उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ ।

प्राधिकरणका अनुसार शुक्रबार पिक आवरमा अधिकतम विद्युत माग १२ सय मेगावाट थियो । प्राधिकरणको वितरण प्रणालीमा हाल १३ सय मेगावाट विद्युत उपलब्ध छ ।

मागभन्दा बढी विद्युत भएकाले कतै पनि विद्युत अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ । मन्त्री पुनलाई भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत उत्पादन र वितरणको अवस्थाबारे जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment