३ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लगातार चौथो जित हात पारेको छ । गएराति भएको खेलमा उरुग्वेलाई उसैको मैदानमा २-० ले पराजित गर्दै ब्राजिलले अपराजित यात्रा कायम राखेको हो ।
जितपछि १० टिम सम्मिलित छनोटमा ब्राजिल १२ अंक जोड्दै शीर्ष स्थानमा छ । समान खेलबाट ६ अंक रहेको उरुग्वे पाँचौ स्थानमा छ । छनोटमा उरुग्वेको यो दोस्रो हार हो ।
खेलमा ब्राजिलले दुवै गोल पहिलो हाफमा गरेको थियो । ब्राजिलका लागि ३४औं मिनेट आर्थर र ४५औं मिनेटमा रिचार्लिसनले गोल गरेका थिए ।
७१औं मिनेटमा एडिनसन कभानीले रातो कार्ड पाएपछि उरुग्वे दश खेलाडीमा झरेको थियो ।
इक्वेडरको ६ गोल
यस्तै छनोट अन्तर्गत अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६-१ ले पराजित गर्दै तेस्रो जित हात पारेको छ । इक्वेडरको लि रोवर्ट अर्बोलेडा, एन्जन मेना, माइकल एस्ट्राडा, जेभिए र अरेगा, गोन्जालो प्लाटा र पर्भिस इस्टुपिएनले एक-एक गोल गरे । कोलोम्बियाका लागि जेम्स रोड्रिगेजले एक सान्तवना गोल फर्काए ।
जितपछि ४ खेलबाट ९ अंक जोडेको इक्वेडर तेस्रो स्थानमा उक्लेको छ । कोलम्बिया ४ खेलबाट ४ अंकसहित सातौं स्थानमा छ ।
भेनेजुएलाको पहिलो जित
चिलीलाई २-१ ले पराजित गर्दै भेनेजुएलाले छनोटमा पहिलो जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा भेनेजुएलालाई जित दिलाउन लुइस डेल पिनो र सालोमोन रोन्डोनले एक एक गोल गरे । चिलीका लागि अर्टुरो भिदालले एक गोल गरे ।
जितपछि भेनेजुएलाले ४ खेलबाट ३ अंक जोडेको छ र आठौं स्थानमा उक्लेको छ छनोटमा दोस्रो हार व्यहोरेको चिलीको ४ खेलबाट ४ अंक छ र छैटौं स्थानमा छ ।
पाराग्वेको तेस्रो बराबरी
ब्राजिल र अर्जेन्टिनासँगै अपराजित यात्रा कायम राखेको पाराग्वेले छनोटमा तेस्रो बराबरी खेलेको छ । पाराग्वे घरेलु मैदानमा बोलिभियासँग २-२ को बराबरीमा रोकिएको हो ।
पाराग्वेको लागि एन्जल रोमेरो र काकुले गोल गरे । बोलिभियाका लागि मार्सेलो मोरेनो र बोरिस सेस्पेडेसले गोल गरे ।
बराबरीपछि ४ खेलबाट ६ अंक जोडेको पाराग्वे चौथो स्थानमा छ । पहिलो अंक जोडेको बोलियाल ४ खेलबाट १ अंकसहित दशौ स्थानमा छ ।
प्रतिक्रिया 4