
४ मंसिर, विराटनगर । विराटनगर महानगरपालिका – २ का कामत टोलका सुभाष कामतको परिवार सधै नजिकै रहेको सिंघिया घाटमा छठको पूजा गर्थ्यो । तर यो पटक घरमै छठ पर्व मनाउँदैछ । सूर्यलाई अर्घ दिन घरमै जलकुण्ड बनाएका छन् ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली पनि घरमै छठ पर्व माउदैछन् ।
संक्रमणको जोखिम बढेका कारण विगत वर्षमा जस्तो दण्डवत गर्दै घाट नजाने बताएका मेयर पराजुलीले घरमै पूजा गर्न लागेका हुन् । मेयर पराजुली १७ औं पटक छठको ब्रत बस्न लागेका हुन् ।
जनता समाजवादी पार्टीका नेता तेजलाल कर्णले छठ मनाउनका लागि घरमा नै जलकुण्ड बनाएका छन् । महामारीको त्रास भएकाले यो पटक घाट नजाने उनले बताए ।
पराजुली, कामत र कर्णमात्र होइन् विराटनगरमा छठ पर्व मनाउने अधिकांश नागरिक घरमै विधि पुर्याउन तयारीमा बसेका छन् । श्रद्धालु भक्तजनले घरमा नै विधि पुर्याउनका लागि जलकुण्ड बनाएका छन् । जलकुण्ड बनाउनका लागि जमिन नभएकाहरुले ठूलो भाडामा पानी राखेर सूर्यलाई अर्घ दिने तयारी गरिरहेका छन् ।
महामारीको जोखिममा प्रशासनले नदी किनारमा नजान आग्रह गरेकाले घरमै मनाउन लागिएको कामतले बताए ।
मेयर पराजुली संक्रमणको जोखिम बढेकाले घाटमा नजाने बताउँछन् । १६ औं पटक घरबाट सिंघिया घाटसम्म दण्डपत (घस्रिएर) पुग्ने गरेका मेयर पराजुलीले १७ औं पटक घरमै छठ पर्व मनाउने बताए ।
खोला सिंगारिएन
तिहारलगत्तै सुरु हुने छठ पूजाका लागि नदी तलाउ सफा गरिन्छ । तर छठको दोस्रो दिनसम्म विराटनगर हुँदै बग्ने खोला र नहर सिंगारिएको छैन ।
महामारीका कारण सर्वसाधारणलाई घरमै सतर्कताका साथ पर्व मनाउन आग्रह गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए । प्रशासनको आग्रहलाई स्थानीयबासीले सहयोग गरेको उनले बताए ।
प्रतिक्रिया 4