Comments Add Comment

ट्यांकरभित्र स्थायी फल्स च्याम्बर बनाएर पेट्रोल चोरी

५ मंसिर, काठमाडौं । ट्यांकर भित्रै स्थायी फल्स च्याम्बर बनाएर पेट्रोल चोरी गर्ने गरेको पाइएको छ । भारतको बरौनीबाट काठमाडौंको थानकोट डिपोमा पेट्रोल ढुवानी गर्ने दुईवटा ट्यांकरले यसरी पेट्रोल चोरी गर्ने गरेको नयाँ तथ्य फेला परेको नेपाल आयल निगमले जनाएको छ ।

वीर बेताल आशिर्वाद कम्पनीको ना ७ ख ३९९६ र ना ७ ख २९९५ नम्बरका दुईवटा ट्यांकरमा मापदण्ड विपरीत थप अर्को च्याम्बर बनाएर चोरी गर्ने गरेको भेटिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिए । ‘स्थायी रुपमै वेल्डिङ गरी ट्यांकरमा नयाँ च्याम्बर बनाएर चोरी गरेको भेटिएको छ, कारबाही अघि बढाएका छौं,’ पौडेलले भने ।

प्रारम्भिक अध्ययनमा एउटा ट्यांकरले एक पटकमा झण्डै एक लाख रुपैयाँ बराबरको एक हजार लिटर पेट्रोल चोरी गर्ने गरेको देखिएको उनको भनाइ छ । प्राविधिक बाहेकले पत्ता लगाउन नसक्ने गरी जडान भएको फल्स च्याम्बर मालिकको मिलोमतो बिना चालक मात्रैले गर्न नसक्ने निगमको अनुमान छ ।

पेट्रोल चोरी गर्ने सो ट्यांकरका मालिकहरु प्रज्ज्वलराज भट्ट, दीपेन्द्र बहादुर बम र सदेन व्यञ्जनकार हुन् । ट्यांकरका चालक तथा सहचालक फरार छन् ।

पेट्रोल चोरीमा संलग्न ट्यांकरलाई निगमले १५ लाख रूपैयाँ हर्जना तिराउने प्रारम्भिक निर्णय भएको र थप कारबाहीको लागि गुणस्तर तथा नापतौल विभागलाई पत्राचार गरिएको निगमका प्रवक्ता बिनित मणि उपाध्यायले जानकारी दिए ।

यसरी पत्ता लाग्यो चोरी

गत बुधबार बरौनीबाट २०–२० हजार पेट्रोल बोकेर दुईवटा ट्यांकर निगमको बागमती प्रदेशिक कार्यालय थानकोट आइपुगेका थिए । सधैंजस्तो गरी डिपोमा पेट्रोलको नाप लिँदा ट्यांकरमा पेट्रोल कम पाइएको थियो तर कारण फेला परेको थिएन ।

घटनाबारे डिपोले केन्द्रीय कार्यालयलाई जानकारी गराएपछि थप अनुसन्धान गर्न निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल निगमका प्राविधिक र गुणस्तर तथा नापतौल विभागका महानिर्देशकसहितको टोली लिएर बिहीबार डिपो पुगेका थिए ।

डिजिटल लकिङ र ताल्चा दुरुस्त रहनु तर ट्यांकरमा तेल कम हुनुको रहस्य पत्ता लगाउने क्रममा प्राविधिकले ट्यांकरमा भएको तेल खन्याएर च्याम्बर चेक जाँच गर्दा नयाँ फल्स च्याम्बर फेला परेको निगमले जनाएको छ ।

डिजिटल लकिङको लुप होल र पेट्रोल चोरीबारे गत भदौदेखि आक्रामक अनुसन्धान र कारबाही थालिएको निगमले जनाएको छ । चार महिना अवधिमा पेट्रोलियम पदार्थको मिसावट र चोरीका झण्डै एक दर्जन घटना फेला पारिएको र घटनामा संलग्नलाई पहिलोपटक कालोबजारी मुद्दा चलाइएको निगमले जनाएको छ । चोरी र मिसावटविरुद्धको अप्रेसनका लागि सुराकी परिचालन गरिएको निगमका कार्यकारी निर्देशक पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment