Comments Add Comment

कोरोना कहरबीच यसरी लिइयो १२ कक्षाको परीक्षा

९ मंसिर, काठमाडौं । लामो समयको अन्यौलपछि अन्ततः कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सुरु भएको छ । कोरोना संक्रमण सुरु भएपछि गत वैशाखमै हुनुपर्ने परीक्षा झण्डै सात महिनापछि सुरु भएको हो ।

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको समन्वयमा कोरोना सम्बन्धी मापदण्ड अपनाएर देशभर एक साथ परीक्षा सन्चालन गरेको हो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले पहिलो दिनको परीक्षा देशभर सहजरुपमा सम्पन्न भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘आज पहिलो दिन भएकाले कतैकतै केही मिनेट ढिलो सुरु भएको छ, तर समग्रमा परीक्षा शान्तिपूर्ण र सहजरुपमा नै भएको रिपोर्ट हामीलाई आएको छ ।’

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले काठमाडौं उपत्यकाका केही परीक्षा केन्द्रको स्थलगत अनुगमन पनि गरेका थिए । विश्वनिकेतन माविको अवलोकनपछि उनले सही व्यवस्थापनबाट सहजरुपमा परीक्षा सन्चालन भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

विश्वनिकेतन माविका प्रध्यानाध्यापक हेरम्बराज कँडेलले विद्यार्थीहरुले भयरहित वातावरणमा परीक्षा दिएको बताए ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टा तोकिएको थियो । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको छ । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । कक्षा १२ को परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थीहरु सहभागी छन् ।

बोर्डका अध्यक्ष प्रा. डा. पौडेलले परीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गरी एउटा कोठामा २० जनासम्म मात्र राखेर परीक्षा सन्चालन गरिएको बताए ।

परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउने र सबैको ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । परीक्षा केन्द्रहरुमा सेनिटाइजर र हात धुनका लागि साबुन पानीको समेत व्यवस्था गरिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

यसपटक परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाएका छन् ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ भने परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन् । परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment