Comments Add Comment

२१ जिल्लामा ३१ जनप्रतिनिधिका पद रिक्त

कोही डिभी परेर अमेरिका गए, कोही जागिर खोज्दै कोरिया !

११ मंसिर, काठमाडौं । बिभिन्न २१ जिल्लाका स्थानीय तहमा ३१ पदाधिकारीको पद रिक्त भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार धेरै स्थानको पद पदाधिकारीको मृत्यु भएका कारण रिक्त छ ।

यसका अलावा डिभी परेर अमेरिका पुगेका कारण र वैदेशिक रोजगारीका लागि विदेश गएका कारण पनि पदाधिकारीको पद खाली भएको पाइएको छ ।

गत निर्वाचनमा निर्वाचित मकवानपुरको भिमफेदी गाउँपालिका ८ का वडाअध्यक्ष जगतमान घिसिङ डिभी परेर अमेरिका पुगेका छन् । घिसिङ अमेरिका हानिएपछि उनको स्थान १ भदौ ०७६ देखि रिक्त छ ।

यस्तै, संखुवासभा खाँदबारी नगरपालिका ५ का वडाअध्यक्ष बम बहादुर घले वडाअध्यक्ष पद त्यागेर जागिर खान भन्दै कोरिया गएका छन् । वडाअध्यक्ष नै कोरिया गएपछि ०७५ मंसिरदेखि खाँदबारी नगरपालिका वडा नं. ५ का वडावासी नेतृत्वविहीन छन् ।

सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् । प्रदेश नम्बर एकमा पर्ने सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ

तनहुँको भानु नगरपालिकाका वडा नं. ५ का वडाअध्यक्ष प्रकाश मल्ल नागरिकता किर्ते गरेको अभियोगमा जेल परेका छन् । जनप्रतिनिधि नै किर्ते नागरिकता दिलाउने कार्यमा संलग्न भएपछि मल्लको पद गयो र २२ भदौ ०७७ देखि उनको स्थान खाली छ ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिका ५ का श्रवण कुमार यादव भ्रष्टाचारको अभियोगमा निलम्बित छन् । यादवलाई निलम्बित भएपछि सम्मरीमाई गाउँपालिका–५ का वडावासी पनि ९ चैत ०७६ देखि नेतृत्वविहीन छन् ।

यस्तै, पाल्पाका जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्यालको निधन भएपछि उनको स्थान ०५ मंसिर ०७६ देखि खाली छ ।

संघीय मामिला मन्त्रालयले गत कात्तिक १७ गते ७७ वटै जिल्ला समन्वय समितिलाई पत्राचार गरेर स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको नाम र स्थान पठाउन भनेको थियो ।

हालसम्म ६१ जिल्लाबाट मात्र विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । त्यसमा २१ जिल्लाका बिभिन्न स्थानीय तहमा ३१ जना पदाधिकारी रिक्त रहेको पाइएको मन्त्रालयले जनाएको छ । ‘बाँकी जिल्लामा रिक्त नभएर नआएको हुन सक्छ । तथापि हामीले पुनः पत्र पठाएका छौं,’ मन्त्रालयका शाखा अधिकृत महेश कुमार दाहालले अनलाइनखबरसँग भने ।

धेरै पद लुम्बिनी प्रदेशमा रिक्त

मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी लुम्बिनी प्रदेशका स्थानीय तहका पदाधिकारी पद रिक्त छन् । लुम्बिनी प्रदेशको ७ जिल्लाका १० वटा स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ ।

प्रदेश नम्बर एकको चार जिल्लाका सात स्थानीय तहमा पदाधिकारीको पद रिक्त छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ११ मा वडा अध्यक्ष र सबै वडा सदस्यहरुको पद रिक्त छ ।

प्रदेश दुईको सप्तरीमा तीन वडा अध्यक्ष र रौतहटमा एक वडाअध्यक्ष पद रिक्त छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका दुई/दुई जिल्लाका दुई/दुई स्थानीय तहमा दुई/दुई वडाध्यक्षको पद खाली छ ।

रिक्त पदमा उपनिर्वाचन कहिले ?

रिक्त पदहरुको पूर्ति उपनिर्वाचनबाट हुने व्यवस्था छ । सोहीअनुसार गत कात्तिक पहिलो साता निर्वाचन आयोगले स्थानीय तहमा रिक्त पदको संख्या र स्थानको विवरण मन्त्रालयसँग माग गरेको थियो ।

उपनिर्वाचनको पूर्वतयारी स्वरुप स्थानीय तहका पदाधिकारीहरुको रिक्त रहेको पद र स्थानको विवरण संकलन गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ बताउँछन् ।

‘निर्वाचन गर्ने कि नगर्ने भन्ने सरकारको कुरा हो । आयोगको परामर्श लिने आफ्नो ठाउँमा छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘तर, कुन–कुन ठाउँमा कुन–कुन पद रिक्त छ भनेर पूर्व तयारीका लागि आयोगले सरकारसँग विवरण माग गरेको हो ।’

सरकारले यसअघि ०७६ संसिरमा रिक्त भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका पदाधिकारीको उपनिर्वाचन गरेको थियो । त्यसबेला दाङ र भक्तपुरमा प्रदेशसभा तथा कास्कीमा प्रतिनिधिसभाको उपनिर्वाचन भएको थियो ।

धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उपनिर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment