१६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद क्रान्तिशिखा धितालले विपद् व्यवस्थापनमा काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन आरोप लगाउन नमिल्ने बताएकी छन् । पछिल्लो समय पूर्वाधार विकासमन्त्री सुनील लम्सालले विपद् व्यवस्थापनमा स्थानीय तह र स्थानीय प्रशासन स्वत: एक्टिभेट नभएको भन्दै टिप्पणी गरेका थिए ।
त्यसयता रास्वपाका नेता कार्यकर्ताले यस्तो प्रश्न उठाइरहेका बेला रास्वपा सांसद धितालले फेसबुक अभिव्यक्तिमार्फत स्थानीय तहको बचाउ गरेकी हुन् ।
‘काठमाडौंमा बसेर स्थानीय तह सक्रिय भएन, हामीसँग समन्वय भएन भनेर मात्र आरोप लगाउनु किमार्थ उचित हुँदैन,’ धितालले लेखेकी छन्, ‘अरे हामीले कस्तो नसम्झेको स्थानीय तह आफैं पनि यो विपद्को पीडित हो । उसको आफ्नै सहर बाढीले बगाएर बगर बनेको छ ।’
उनले आफै क्षतिग्रस्त भएको अवस्थामा भूमिकाको अपेक्षा गर्नु न्यायोचित नहुने भन्दै प्रश्न उठाएकी छन् । ‘जसले आफैं गाँस, बास र कपास गुमाएको छ, उसैबाट पूर्ण क्षमतामा सोच्न, निर्णय गर्न र अरूलाई सम्हाल्न अपेक्षा गर्नु कति न्यायोचित हो ?’ उनले प्रश्न गरेकी छन् ।
प्रभावित प्रदेश र स्थानीय तहलाई कठघरामा उभ्याउने नभई उनीहरूलाई उभिनसक्ने बनाउने सरकारको जिम्मेवारी रहेको उनले उल्लेख गरेकी छन् ।
‘विपद्मा सरकारका तहहरू प्रतिस्पर्धी होइनन्, एकअर्काका सहारा हुन् । हामी सहारा बनौँ,’ सांसद धितालले लेखेकी छन् ।
प्रतिक्रिया 4