Comments Add Comment

दोलखा भीमसेनलाई किन आउँछ ‘पसिना’ ?

वैज्ञानिक भन्छन्– अनिष्टको अफवाहमा नलागौं

१२ मंसिर, काठमाडौं । दोलखाको भिमेश्वर मन्दिरभित्र रहेको भीमसेनको अश्वेत मूर्ति बेलाबखत देशब्यापी चर्चामा आउने गर्छ । चर्चाको विषय एउटै हुन्छ– मूर्तिमा ‘पसिना’ आएको ।

पछिल्लोपटक गत मंगलबार उक्त मूर्तिमा पसिना आएको खबर फैलियो । यससँगै सरकारी निकायसमेतको संलग्नतामा विभिन्न परम्परागत विधी, अनुष्ठानहरु भए । दोलखा भीमसेनलाई पसिना आउँदा देशमा ‘अनिष्ट’ हुन्छ भन्ने पुरातन विश्वास छ ।

जिल्ला प्रशासन कार्यालय दोलखाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार मंगलबार मध्यान्न १ः४५ देखि ३ः१५ सम्म पटक–पटक पसिना आएको थियो । त्यसलगत्तै प्रचलित परम्पराअनुसार मन्दिरका गुठियार र पुजारीहरुले पूजापाठ गरेको जिप्रकाको विज्ञप्तिमा उल्लेख छ ।

पसिना आएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका अधिकारीहरु मन्दिरमा पुगेर प्रत्यक्ष अवलोकन गरेका थिए । जिप्रकाकै समन्वयमा मन्दिरको ‘महाप्रसाद’ काठमाडौं ल्याएर बुधबार विधिपूर्वक राष्ट्रपतिलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘महाप्रसाद’ बुझाएपछि

दोलखाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद सिवाकोटी दोलखा भीमसेनमा पसिना आएपछि परम्परादेखि चलिआएको प्रचलन अघि बढाइएको बताउँछन् ।

‘मूर्तिमा आएको पसिनालाई पुजारीहरुले कपासले पुछि उक्त कपासलाई अन्य फूल–प्रसादसहित राष्ट्रपति, प्रधानसेनापति र पर्यटनमन्त्रीलाई पठाउने पुरानो प्रचलन हो, अहिले हामीले पनि त्यही गरेका छौं,’ उनले भने ।

राजतन्त्रकालमा यसरी भिसेनलाई पसिना आउँदा दरबारले पञ्चवली पठाउने प्रचलन थियो । गणतन्त्रपछि त्यो परम्परा भने तोडियो । अहिले राष्ट्रपतिलाई महाप्रसाद पुर्याउने, राष्ट्रपतिले भेटिघाटी दिने तथा साइत निकालेर राष्ट्रपतिकै नाममा क्षमापूजा लगाउने प्रचलनले भने निरन्तरता पाइरहेको छ ।

राष्ट्रपतिलाई पुर्याइएको महाप्रसाद

पसिना आएको हेर्न मन्दिरमै पुगेका जिल्ला प्रशासन कार्यालयका प्रवक्ता बद्रीप्रसाद तिवारीले आफूले देखेको दृष्य यसरी सुनाए :

‘मन्दिरमा गुरुहरुले पसिना आएको प्रमाणित गरेपछि हामीलाई खबर गर्नुभयो अनि हामी तुरुन्तै गयौं । शिलाकै अगाडि बसेर हेर्यौं । मूर्तिलाई अरुले छुन र फोटो–भिडियो खिच्नचाहिँ नपाउने नियम रहेछ ।

मन्दिरभित्र रहेको भीमसेनको शिला कालो र चिल्लो छ । पसिना आउने बेला यो अचानक फुस्रो र ओभानो बन्दो रहेछ । अनि मूर्तिमा रहेका मसिना छिद्रहरुमा फोकाफोका देखिन थाल्दा रहेछन् । पाखुरामा बीसीजीको सुई लगाउँदा डाबर आउँछ नि, त्यस्तै । मैले हेर्दा तप्प–तप्प चुहिएको चाहिँ थिएन तर मूर्ति भिजेको स्पष्ट देखिएको थियो । फागुनमा चाहिँ तपतपी नै चुहिएको थियो रे ।

यसरी पसिना आएपछि तान्त्रिक विधिबाट बिस्तारै पुछेर सफा पारियो । फेरि एकछिनपछि अर्को साइडमा पसिना देखियो । यसरी साढे एक देखि ३ः५४ भित्र तीन पटक पसिना आएको मैले देखेँ । पुछेपछि त्यो चिसोपन पुरै हराउने र शिला जस्ताको तस्तै हुने रहेछ । अचम्मै लाग्यो मलाई त ।

भीमसेनलाई पसिना आएको सन्देश तत्काल जिप्रकाबाट राष्ट्रपति कार्यालयमा पुर्याउने काम भयो । राष्ट्रपतिबाट पनि तुरुन्तै रेस्पोन्स भएर हामीलाई भेटघाटको समय दिइयो । त्यस मुताबिक मेरै नेतृत्वमा पुजारीहरुसहितको टोली बुधबार काठमाडौं आएर दिउँसो राष्ट्रपतिज्यूलाई भेट्यौं र महाप्रसाद हस्तान्तरण गर्यौं । अब साइत हेराएर क्षमापूजाको आयोजना गरिनेछ ।

****

हिन्दू धर्मशास्त्रका ज्ञाता प्रा.डा. माधवप्रसाद भट्टराईका अनुसार दोलखा भीमसेनमा पसिना आएको यो १९ औं पटक हो । पछिल्लो कालखण्डमा वि. सं. १९९०, १९९७, २००७, २०१७, २०३६, २०४६ र २०५७ सालमा भीमसेनको मूर्तिमा पसिना आएको थियो । त्यस समयको आसपासमा भएका विभिन्न ठूला राजनीतिक परिवर्तन, प्राकृतिक विपत र अन्य दुःखदायी घटनाहरुलाई भीमसेनको पसिनाले पूर्वसंकेत गरेको दावी भट्टराईको छ ।

गत जेठमा काभ्रेको नालास्थित उग्रचण्डी भगवती माईको शिलामा पनि पसिना आएको भनिएको थियो । यतिमात्र नभएर मन्दिर भित्रबाट महिला स्वरमा रोएको आवाज आएको समेत स्थानीयले बताएका थिए । त्यसपछि अष्टिको आशंका गरेर उक्त मन्दिरमा क्षमापूजा गरिएको थियो ।

केही वर्षअघि नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिंगको मूर्तिले जल पिएको भन्दै शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

पृथ्वीको सतहमुनि भएको ताप कुनै तरिकाले लिकेज भएर मूर्तिबाट पानी रसाएको हुनसक्ने भौतिकशास्त्री डा. विनोद अधिकारीको आँकलन छ । हिन्दू धर्मशास्त्रका ज्ञाता प्रा. डा. माधव भट्टराई भने मूर्तिमा पसिना आउनुलाई भगवान क्रुद्ध बनेको वा भावि अनिष्टको संकेतका रुपमा बुझ्नुपर्ने बताउँछन्

अनुसन्धान शून्य

दोलखा भीमसेन एउटा सामान्य पत्थरको मूर्ति हो । पत्थर एउटा नीर्जिव वस्तु भएकाले यसमा ‘पसिना’ आउनु आफैंमा एउटा वैज्ञानिक खोजको विषय हुन सक्छ । तर, अहिलेसम्म सरकारी वा गैरसरकारी निकायबाट यसका लागि कुनै तत्परता देखाएको पाइँदैन । परम्परादेखि जे चलिआएको छ, अहिले पनि त्यसैलाई निरन्तरता दिइएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी सिवाकोटी यस विषयमा अहिले वैज्ञानिक अनुसन्धानको कुनै योजना नरहेको बताउँछन् । परम्परादेखिकै तौरतरिकालाई निरन्तरता दिइएको उनले बताए ।

‘सबैले दोलखा भीमसेनको शक्तिमा विश्वास गर्दै आएका छन्, यस विषयमा खोज–अनुसन्धान गर्नेतिर ध्यान कसैको छैन,’ उनले भने, ‘वैज्ञानिक कारण अलग्गै होला, तर यो शक्तिबाट भएको हो भन्ने जनविश्वास छ । पहिले देशमा जे–जति जति ठूला घटनाहरु भए त्यसबेला पनि दोलखा भीमसेनलाई पसिना आएको रहेछ । राजा–महाराजाको मृत्यु हुँदा, भूकम्प आउँदादेखि लिएर कोभिड आउनुभन्दा अगाडि पनि पसिना आएको बुझियो । यो सत्य हो भन्ने नै छ ।’

भौतिकशास्त्री डा. विनोद अधिकारी दोलखा भीमसेनको बारेमा लामो समयदेखि अन्धविश्वास व्याप्त रहँदा कुनै पनि निकायबाट यसमाथि अनुसन्धानको पहल नहुनु दुःखद भएको बताउँछन् ।

‘यो वैज्ञानिक खोजका लागि एउटा रोचक र गहन विषय हो,’ उनले भने, ‘तर आजसम्म न कुनै सरकारले, न विश्वविद्यालयले, न कुनै अध्ययन केन्द्रले यसका लागि चासो दिएका छन् ।’

दोलखा भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट हुन्छ भन्ने भ्रमलाई चाँडोभन्दा चाँडो तोड्नुपर्ने उनी बताउँछन् ।

‘धर्मको कुरा, भगवानको कुरा आफ्नो ठाउँमा छ, तर मूर्तिलाई पसिना आउँदा विपत्ती आउँछ भन्ने कुरा विज्ञानको युगमा विश्वास गर्न सकिन्न र गर्नु पनि हुँदैन ।’

पृथ्वीको सतहमुनि भएको ताप कुनै तरिकाले लिकेज भएर मूर्तिबाट पानी रसाएको हुन सक्ने उनको आँकलन छ । यद्यपि, निस्कर्षमा पुग्न भने वैज्ञानिक अनुसन्धान नै गर्नुपर्ने उनको मत छ ।

हिन्दू धर्मशास्त्रका ज्ञाता डा. माधव भट्टराई भने मूर्तिमा पसिना आउनुलाई भगवान क्रुद्ध बनेको वा भावि अनिष्टको संकेतका रुपमा बुझ्नुपर्ने बताउँछन् ।

‘मानिसको कुनै कर्मले ठेस पुगेर भगवान क्रुद्ध हुनुभएमा वा भावि अनिष्टको संकेत गर्नुपरेमा मूर्तिमार्फत विभिन्न ढंगले संकेत गर्नुहुन्छ,’ भट्टराई भन्छन्, ‘दोलखा भीमसेनलाई पसिना आउनु त्यही संकेतको एउटा रुप हो ।’

‘विगतमा राजदरबार हत्याकाण्ड, महाभूकम्पजस्ता ध्वंसात्मक घटनाअघि भीमसेनको मूर्तिमा पसिना आएको थियो । यसले अनिष्टको संकेत गर्छ । यो संकेतलाई अटेर गर्दा नेपाली मात्र होइन, समग्र मानवजातीलाई नै हानी पुग्न सक्छ,’ उनले भने ।

दोलखा भीमसेनको विषयमा सरकारी वा गैरसरकारी निकायले अध्ययन गरेर तथ्य बाहिर ल्याउनुपर्नेमा भने उनी पनि सहमत छन् । ‘यदि भगवानको शक्तिमा कसैलाई विश्वास छैन भने त्यहाँ स्थलगत अनुसन्धान गरेर त्यसको वैज्ञानिक कारण देखाउनु सक्नुपर्यो, होइन भने धार्मिक आस्थामा चोट पुग्ने गरी बोलेर मात्र हुँदैन,’ उनले भने ।

भारतका मूर्तिमा पनि पसिना

मूर्तिमा पसिना आएका घटना हाम्रो छिमेकी देश भारतमा पनि सुनिन्छन् । तामिलनाडु राज्यमा रहेको सिक्कल सिङ्गर्भेलवार मन्दिरमा बेलाबखत पसिना आउने गर्छ । यो भगवान कार्तिकेयको मन्दिर हो ।

मन्दिरभित्र रहेको सुब्रमन्यमको ढुंगाको मूर्तिमा बेलाबखत पसिना आउने स्थानीयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खासगरी अक्टोबर–नोभेम्बरमा यहाँ आयोजना हुने उत्सवका बेला मूर्तिबाट पसिना आउने स्थानीयवासी र पुजारीहरुको दाबी छ ।

भगवान कार्तिकेयले सुरपादमन राक्षसमाथि विजय हासिल गरेको सम्झनामा यहाँ उत्सव मनाइन्छ । त्यसबेला भगवानले राक्षसमाथि बध गरेको क्रोध व्यक्त गर्न पसिना निकाल्ने गरेको जनविश्वास छ ।

भारतकै हिमाञ्चलमा रहेको भालेइ माताको मन्दिर रहेको मूर्तिमा पनि पसिना निस्कने गरेको बताइन्छ । पसिना आएको बेला मन्दिर दर्शन गरेमा मनोकामना सिद्ध हुने जनविश्वास यहाँ छ । यसैगरी मध्यप्रदेशमा रहेका दुई मन्दिरभित्र पनि मूर्तिमा पसिना आएको देखिन्छ ।

नेपालमा जस्तै भारतमा पनि मूर्तिबाट पसिना आएको विषयमा गम्भिर खोज भएको छैन । त्यहाँका स्थानीयले यसलाई दैवी चमत्कारका रुपमा लिने गरेका छन् ।

दोलखा भीमसेनको रहस्य

काठमाडौंबाट करिब १ सय ४० किलोमिटर दुरीमा रहेको दोलखा सदरमुकाम चरिकोटबाट चार किलोमिटर पूर्वतर्फ भिमेश्वर मन्दिर अवस्थित छ । सो मन्दिरभित्र रहेको भीमसेनको मूर्ति ‘दोलखा भीमसेन’ का नामले चर्चित बनेको हो ।

चिल्लो खरीको प्रस्तरबाट बनेको उक्त शिलामूर्ति त्रिभुजाकार छ । यसलाई भिमेश्वर, भीमसेन वा भैरवको रुपमा पनि पुजिन्छ । भिनसेन पाँच पाण्डवमध्येका माहिला भाइ हुन् । महाभारत युद्धमा महत्वपूर्ण भूमिका खेलेका उनी साहसी र पराक्रमी योद्धाका रुपमा चिनिन्छन् ।

भीमसेनलाई भगवान शिवकै अवतारको रुपमा समेत मान्ने गरिएको छ । त्यसैले यहाँ पशुपतिको रुपमा रुद्री पूजा गर्ने गरिएको छ । साथै, भीमसेन, भैरवको रुपमा बलीपूजा समेत गरिन्छ । यो प्रचलन कहिलेदेखि चलिआएको भन्ने एकिन छैन । बलीपूजाको बेला महादेव शिव चुडामणिमा (दोलखा भीमसेन चुडामणी) गएर बस्नुहुन्छ र भीमसेन भैरवले मात्र बलीपूजा गर्नुहुन्छ भन्ने मान्यता छ ।

भीमसेनलाई व्यापारीको इष्टदेवताको रुपमा समेत पुजिँदै आएको छ । सो मन्दिरमा पूजा गर्दा व्यवसायमा विघ्न–बाधा हट्ने र सफलता प्राप्त गर्न सकिने मान्यता छ । यहाँ भीमसेनको सामान्यदेखि ठूला पञ्चवलीका पूजासमेत गरिन्छ ।

पाँच पाण्डव एक वर्ष गुप्तबास बस्ने समयमा मन्दिर नजिकै बसेर गौरीशंकरको प्रार्थना गरेको किम्बदन्तीसमेत छ । त्यस समय पाँच पाण्डवले प्रयोग गरेको सांकेतिक भाषा नै दोलखाका नेवार समुदायको स्थानीय भाषा भएको बताइन्छ ।

यो भीमेश्वर भीमसेनको मूर्ति कहिले र कसले स्थापना गरेको हो भन्ने तथ्य पत्ता लागेको छैन । भीमसेनको मूर्तिसँगै उनकी आमा कुन्ती, पत्नी द्रौपदी, भाइहरु नकुल र सहदेवका शिलाहरु छन् । पाँच पाण्डवमध्येका युधिष्ठिर र अर्जुन भने यहाँ अनुपस्थित छन् ।

जब गणेशले ‘दूध पिए’

भगवानको मूर्तिसँग जोडिएका अरु पनि किस्साहरु नेपालमा छन् । गणेशको मूर्तिले ‘दूध पिएको’ प्रकरण सबैभन्दा चर्चित छ ।

करिब दुई दशक अगाडि काठमाडौंमा सनसनी खबर फैलियो– गणेशको मूर्तिले तनतन दूध पिएको । त्यसपछि के थियो, भक्तजनहरु दूध बोकेर गणेशका मन्दिरहरुमा भिड लाग्न थाले । केही दिनसम्म यो सिलसिला चल्यो । आफूले पनि गणेशलाई दूध पिलाएको भनेर धेरैले अनुभव सुनाए । हजारौं लिटर दूध गणेश भगवानको मूर्तिमा खपत भयो ।

यो विषयले ठूलो रुप लिएपछि नेपाल विज्ञान तथा प्रविधि संस्थान (नास्ट) ले आफ्नो धाराणा सार्वजनिक गरेको थियो । मूर्तिले दूध सोस्नुको वैज्ञानिक कारण नास्टले प्रस्तुत गरेपछि यो विषय बिस्तारै सेलायो ।

गणेशले ‘दूध पिउने’ घटना नेपालमा मात्र नभएर छिमेकी देश भारतमा पनि भयो । सन् १९९५ मा त्यसले अन्तर्राष्ट्रिय चर्चा नै पाएको थियो । भारतमा मूलधारका मिडियाले ‘भगवानको चमत्कार’ भन्दै सनसनी समाचार बनाएका थिए ।

समाचारमा आएअनुसार नयाँ दिल्लीमा एक व्यक्तिले राति सपनामा भगवान गणेशलाई देखेका थिए । गणेशले उनलाई दूध पिउन इच्छा व्यक्त गरेका थिए । बिहान जुरुक्क उठेर उनी दूधको गिलास बोकी मन्दिरतिर लागे ।

ती व्यक्तिले आफ्नो दूध गणेशको मूर्तिले पिएको भन्दै हल्लाखल्ला गरे । त्यसपछि अरु मानिसहरु पनि मन्दिरमा दूध बोकेर आए । यो क्रम देशब्यापी बनेको थियो । तत्कालीन विपक्षी पार्टीका नेता अटलविहारी बाजपेयी पनि मन्दिरमा गणेशलाई दूध पिलाउन पुगेका थिए ।

गणेशले दूध पिएको कुरालाई वैज्ञानिक तथा विज्ञहरुले ‘क्यापिल्लरी एब्जप्र्सन’ र ‘मास हिस्टेरिया’ को सिद्धान्तसँग जोडेका छन् । यद्यपि, यसको स्पष्ट र विश्वसनीय व्याख्या गर्न सकेका छैनन् ।

भारतको विज्ञान तथा प्रविधि मन्त्रालयबाट रोज म्याडवालको नेतृत्वमा वैज्ञानिकहरुको टोलीले नयाँ दिल्लीस्थित एउटा मन्दिरको भ्रमण गरेको थियो । उक्त टोलीले चम्चाबाट दूध पिलाउँदा चम्चाभन्दा मुनिको भागबाट दूध बगेको निस्कर्ष निकालेको थियो । यो प्रक्रियालाई उनीहरुले क्यापिलारी एक्सन (आँखाले नदेखिने सुक्ष्म क्रिया) का रुपमा व्याख्या गरेका थिए । दूधको ‘सर्फेस टेन्सन’ ले यस झोल पदार्थलाई चम्चाबाट बहिर निकालेको र गुरुत्वाकर्षणले यसलाई तल तानेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

तर, मूर्तिले दूध पिउने प्रक्रिया केही दिनपछि आफैं बन्द भएकाले वैज्ञानिकहरुको सो अध्ययन पनि त्यति विश्वसनीय भने ठहरिएन । कतिपय अन्तर्राष्ट्रिय मिडियाले चाहिँ गणेशले दूध पिएको विषयलाई ‘मास हिस्टेरिया’ को रुपमा समेत व्याख्या गरेका थिए ।

पसिनाले अनिष्टको संकेत गर्छ : प्रा.डा. माधव भट्टराई, पूर्वअध्यक्ष नेपाल पञ्चाङ्ग निर्णायक समिति

जब प्रकृतिमा केही उथलपुथल हुन आँट्छ, वा जब भगवान मानिससँग क्रुद्ध र दुखित बन्नुहुन्छ, त्यसबेला उहाँले विभिन्न ढंगबाट आफ्नो प्रतिक्रिया जनाउनुहुन्छ । यस्तो प्रतिक्रिया मन्दिरमा रहेका मूर्तिहरुमा स्पष्ट देखिने गर्छ ।

प्रा.डा. माधव भट्टराई

अहिलेका मान्छेले हाँसोमा उडाउँछन्, तर यो सत्य हो । मूर्तिबाट पसिना आउने मात्र होइन, मूर्ति रुने–कराउने, हिँड्नेसमेत गरेको पाइन्छ । अस्ति ४–५ महिना अगाडि काभ्रे नालामा भगवती रोएको तपाईंलाई थाहै होला । उहाँलाई पसिना पनि आयो र रुनुभयो पनि । बन्द मन्दिरभित्र बच्चा रोएको आवाज आएपछि कोही थुनियो कि भनेर खोलेर हेर्दा कोही थिएन ।

दोलखामा पसिना त पटक–पटक आइरहेको छ । त्यो सबैले प्रत्यक्ष देखेकै कुरा हो । ०५७ सालमा पसिना आयो, ०५८ सालमा दरबार हत्याकाण्ड भयो । ०७२ सालको भूकम्पअगाडि पनि पसिना आएको थियो । यो विषयमा कसैलाई पत्यार छैन भने दोलखा गएर अध्ययन गर्दा राम्रो हुन्छ । त्यहाँका बुढापाकाहरुसँग सोध्दा हुन्छ । हावादारी भनेर मात्रै भएन ।

कुनै बेला मख्खनको महादेव पनि रोएर हिँडेका थिए । मेरो बिचारमा अब पशुपतिनाथ भित्रको महादेवले पनि कुनै प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ, किनकी उहाँलाई ६–७ महिनादेखि थुनेर राखिएको छ । भक्तजनलाई दर्शन गर्न दिइएको छैन ।

एउटा शास्त्रमा के वर्णन छ भने मूर्ति अचानक कुनैबेला पट्ट फुट्छ । त्यसै पनि फुट्न सक्छ भन्छन् । तर, त्यो होइन । भगवानले पीडा सहन सक्नुभएन भने त्यसरी फुट्ने हो । यो नेपालीका लागि मात्र नभएर विश्वकै नागरिकका लागि पूर्वसंकेत हो । किनकी नेपाल भनेको संसारको शिर हो । शिरले संसारलाई सञ्चालन गर्छ नि, त्यसैगरी नेपालले पनि विश्व हाँक्न सक्नुपर्ने थियो । तर, हामीले अहिलेसम्म आफैंलाई चिन्न सकेका छैनौं ।

अब भीमसेनलाई पसिना आएपछि निकट भविष्यमा प्राकृतिक प्रकोप उत्पन्न हुने वा धनजनको क्षति हुने खतरा छ । यसलाई पूर्णरुपमा टार्न त सकिँदैन, तर न्यूनीकरण गर्न सकिन्छ । यसका लागि राज्यको सहभागीतामा विधिपूर्वक क्षमापूजा हुनुपर्छ । अरु मानिसले गरेर हुँदैन । यसमा राज्यकोषको उपयोग हुनुपर्छ । पहिले–पहिले राज्यले सबै गर्थ्यो । अघिल्लोपटक मुस्किलले गर्यो, त्यो पनि ढिला गरेर । यसपालि के गर्छ हेरौं ।

अन्वेषण गरौं, अफवाहको पछि नलागौं : डा. विनोद अधिकारी, भूगर्भविद

म धर्मको विषयमा जान चाहन्न । तर, मूर्तिलाई पसिना आउँदा देशमा अनिष्ट हुने कुराचाहिँ रत्तिभर विश्वास गर्दिनँ । अरुले पनि विश्वास गर्नु हुँदैन ।

हामी वर्षौंदेखि यो भ्रमित मानसिकता बोकेर हिँडिरहेका छौं कि भीमसेनको मूर्तिमा पसिना आएपछि केही अनिष्ट हुन्छ । यो जमानामा पनि यस्तो विचारहरु बोकेर हिँड्नु आफैंमा हास्यास्पद हो । यसलाई तोड्नका लागि विश्वासिलो अनुसन्धान हुनुपर्छ । राज्यको तर्फबाट होस वा अन्यत्रबाट ।

डा. विनोद अधिकारी

हाम्रो पृथ्वीको चारवटा भाग हुन्छन्– क्रस्ट, मेन्टल, कोर र इनर कोर । हाम्रो शरीरमा रहेको तातोपन सूर्यबाट आएको विश्वास गर्छौं, त्यो होइन । मेरो शरीरको तापक्रम मेरो शरीरभित्रको मेटाबोलिज्म सिस्टमबाट आएको हो । पृथ्वीको भित्र पनि एकदमै धेरै तातो छ । विश्वका कयौं ठाउँमा भोल्कानो निस्किन्छ । त्यो यही तापको विष्फोट हो । भित्रको तातो प्रसार हुँदा कुनै ठाउँमा लिकेज भयो भने हिट बाहिर निस्किन सक्छ ।

हाम्रो देशको सतहमा महत्वपूर्ण कुराहरु छन्, युरानियम, पेट्रोलियम, मेटलहरु आदि । तर तिनीहरुको अन्वेषण हुन सकेको छैन । हुने हो भने देशको अर्थतन्त्र नै उलटफेर हुन सक्छ । दोलखा भीमसेनको पनि गम्भिर अन्वेषण आवश्यक छ । यो धर्मको भन्दा अनुसन्धानका लागि रोचक विषय हो ।

नेपाल सरकारले भुगर्भविदहरुलाई पठाएर अनुसन्धान गर्नुपर्यो । त्यहाँभित्र र त्यसको वरिपरी के छ भन्ने पत्ता लगाउनुपर्यो । त्यो नहुँदासम्म समाजले अनिष्टको सिद्धान्तमा विश्वास गरिरहन्छ ।

ढुक्क हुनुस्, अनिष्ट भन्ने कुरै हुँदैन । मूर्तिमा पसिना आउने र कुनै नराम्रो घटना एकैसाथ भयो भने त्यो केवल संयोग हो । यस्तो संयोगलाई सिद्धान्त बनाउन मिल्दैन । कुनै ठाउँमा प्राकृतिक ग्यास पनि निस्किन्छ । त्यसलाई पनि अर्को अनिष्ट मान्ने त ?

मलाई लाग्छ त्यहाँ दोलखामा मन्दिरको सतह मुनिको ताप लिकेज भएको हुन सक्छ । त्यही तापले मूर्ति रसाएको हुन सक्छ । तर, यो अध्ययनविना कुनै निस्कर्षमा पुग्न भने सकिँदैन । हामीले प्रामाणिक आधारमा मात्रै निस्कर्ष निकाल्ने हो । त्यसका लागि अध्ययन त हुनैपर्छ ।

म कसैको धार्मिक आस्थामा चोट पुर्याउन चाहन्न । भगवानलाई मान्ने–नमान्ने व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर, यत्ति हो कि धर्मका नाममा अन्धविश्वासलाई प्रश्रय दिनुभएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
चिरञ्जीवी पौडेल

झण्डै डेढ दशकदेखि पत्रकारितामा सक्रिय पौडेल अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

ट्रेन्डिङ

Advertisment