Comments Add Comment
कोरोनाले रोकेको कात्तिक नाच :

जब पाटनको डबलीमा विष्णुका दुई अवतारले ‘ताण्डव’ देखाउन थाल्छन्

१३ मंसिर, काठमाडौं । छिप्पिएको रातलाई चिरागको ज्वालाले उज्यालो छरिरहेको छ । सुनसान दरबार क्षेत्रलाई ब्युँझाउनका लागि खिँ, ता, झ्याली जस्ता बाजाको स्वर बिस्तारै चर्किँदैछ । दैत्य गुरु नाच, हिरण्यकश्यपु नाच र प्रल्हाद नाच सकिइसक्दा सबैको प्रतीक्षाको घडीले पनि छिटोछिटो कुद्न थाल्छ ।

पाँचवटा चिरागको आगो बिस्तारै कम हुँदैजाँदा संग्रहालयको द्वारबाट एउटा फरक आकृतिको स्वरुप निस्कन्छ । शरीर हेर्दा मान्छे जस्तो, अनुहार हेर्दा सिंह जस्तो छ ।

मालाले सजिसजाउ भएको एउटा उग्र स्वरुप बाहिर निस्किएसँगै सबैको भागाभाग सुरु हुन्छ । उसलाई ल्याएर डबलीको बायाँतर्फको भागमा बाँधेर राखिन्छ । त्यत्तिकैमा वाद्यवादन सुरु हुन्छ । त्यो भिन्दै किसिमको स्वरुप नृसिंह हो । नृसिंह एकाएक बाँधेको खाँबो नै फालेर डबलीको बीचमा आफ्नो उग्र नृत्य देखाउन थाल्छ ।

नृसिंहको उग्ररुपसँगै खिँ बाजाको स्वर चर्किँदै जान्छ । सोही तालमा धाः बाजा, भुस्या, दमो खिः, पोगा बाजाको ताल पनि चर्किँदै जान्छ । त्यही बाजाको तालले एकाएक अर्काे उत्पाद ल्याउला जस्तो गरी डबलीको अर्काे भागबाट हिरण्यकश्यपुको प्रवेश हुन्छ ।

लामो समयसम्म दुवैबीच ठूलो ‘युद्ध नाच’ चल्छ । नृसिंहले बध गर्नको लागि पटक–पटक गरेको प्रहार छल्दै झण्डै ४५ मिनेटसम्म यो युद्ध चलिरहन्छ । त्यत्तिकैमा एकातर्फको चिरागमा तेल सकिएर युद्ध ‘क्लाइमेक्स’मा पुगेको संकेत मिल्छ । दुवै पात्र धेरै थाकिसकेका हुन्छन् । त्यसैले चिरागमा तेल थप्ने अधबैंशेले अब बधको समय आएको संकेत गर्छन् । त्यही बेला भाग्दाभाग्दै थाकेको हिरण्यकश्यपुलाई नृसिंहले छुन पुग्छन् र हिरण्यकशिपु मुर्छित हुन्छन् ।

यो, कात्तिक नाचमा पनि मुख्य आकर्षणका रुपमा रहेको नृसिंह अवतारको नाच हो ।

यी सबैदृश्यहरू अघिल्ला वर्षतिरको कात्तिक नाचको हो । सधैंभरि कात्तिक नाचको मुख्य दुई दिन भरिभराउ हुने पाटनको डबलीमा यसपालि निक्कै सिमित दर्शक थिए । कलाकार र एकाध व्यक्तिहरूको चहलपहल भए पनि अन्य समयको तुलनामा सुनसान थियो यसपालिको कात्तिक नाचको रौनक ।

सुरुवाती समयमा २७ दिन मनाइने यो पर्व बीचमा दुई दिनमा सीमित भएको थियो । पछिल्लो समय कात्तिक पूर्णिमामा सकिनेगरी १२ दिनसम्म मनाउन थालिएको छ ।

तर, यसवर्ष कोरोना भाइरसको महामारीका कारण दुई दिन त्यो पनि दर्शकहरूलाई प्रवेश नदिने गरी नाच्न लागिएको कात्तिक नाच संरक्षण समितिको कार्यसञ्चालन समिति सदस्य सञ्जय शर्मा राजोपाध्याय बताउँछन् । यसैअनुरुप शुक्रबार राति बराह नाच सम्पन्न भइसकेको छ भने शनिबार राति नृसिंह नाच नाचिँदैछ ।

सिद्धिनरसिंह मल्लले आफ्ना दुईजना गुरु हरिवंश राजोपाध्याय र विश्वनाथ राजोपाध्यायको सल्लाह बमोजिम जनकल्याणको लागि सुरु गरेको यो नाचलाई कोरोना भाइरसको महामारीका बीच पनि खण्डित हुन नदिने उद्देश्यले विशेष सुरक्षा सतर्कता अपनाएर सञ्चालन गरिएको उनी बताउँछन् ।

वराह अवतार र हिरण्याक्ष दैत्यको वध

पौराणिक कालमा कश्यप ऋषिकी पत्नी दिती गर्भवती भएको तीन वर्षसम्म पनि बच्चा जन्मिएन । यो समस्या कश्यप ऋषि र देवताहरूले ब्रह्मालाई सुनाउन पुगे । तीन महिनासम्म आमाको गर्भबाट नजन्मिएका एक हिरण्याक्ष र अर्काे हिरण्यकशिपु ।

हिरण्याक्षले जन्मिएदेखि नै पृथ्वीमा उपद्रव मच्चाउन थाल्यो । ऊ ब्रह्माको ठूलो भक्त थियो । ठूलो तपस्यापछि उसले ब्रह्मासँग बरदान त पाउने भयो तर उसले बरदानमा अमरताको बरदानबाहेक अरु लिनै मानेन । अन्ततः जनावरको योनीबाट नजन्मिएको जनावरबाट मात्रै मृत्यु हुनेगरी ब्रह्माबाट आशीर्वाद पायो । हिराण्यक्षमा त्यसपछि घमण्ड बढ्दै गयो । जनावरजति सबै सिध्याउने भनेर उसले सबैभन्दा पहिले पृथ्वीलाई रसातलमा गाभिदियो, जसका कारण सारा पृथ्वी जलमग्न भयो भन्ने पौराणिक मान्यता छ ।

यही हिरण्याक्षलाई मार्नको लागि भगवान विष्णुले लिएको तेस्रो अवतार अर्थात् बराह अवतारको कथालाई कात्तिक नाचको महत्वपूर्ण बराह नाचको रूपमा शुक्रबार राति पाटनको डबलीमा प्रस्तुत गरियो । जसमा बराहको भूमिकामा थिए विवेककृष्ण श्रेष्ठ र हिरण्याक्षको भूमिकामा थिए किरण चित्रकार ।

यो पौराणिक कथाभन्दा कात्तिक नाचको कथा अन्तिममा अलिकति भिन्दैछ । पौराणिक कथा अनुसार बराह अवतारले हिरण्याक्षलाई बध गरेका हुन्छन् भने कात्तिक नाचमा हिरण्याक्षलाई लखेटेको मात्रै देखाउने गरिन्छ ।

विवेक श्रेष्ठको पहिलो वराह अवतारको अनुभव

विवेक कृष्ण श्रेष्ठको वराह अवतारमा यस वर्ष पाँचौं अभिनय हो । यसअघिको चौथो अभिनय पोहोर गरेपछि अहिले नै अभिनय गर्न पालो त नपर्ने हो । तर कोरोना भाइरसका कारण अर्का कलाकारलाई अभ्यास गराउन समस्या भएपछि उनले नै फेरि पनि बराह बनेर नाच नाच्ने अवसर पाएका हुन् । उनी पहिलो पटक बराहको भूमिकामा खेल्दाको अविस्मरणीय अनुभव यसरी सुनाउँछन् :

‘बाजाको बिनसँगै बढ्दै गएको मुटुको धड्कनले कात्तिकको जाडोमा पनि खलखली पसिनाको धारा बगिरहेको थियो । दुई महिनादेखि बन्द कोठामा परिवारका सदस्यसँग अभ्यास गरेर सिकेको कला आमदर्शक सामु प्रस्तुत गर्न जाँदा छुट्टै भयले मनलाई गाँजेको थियो ।

तान्त्रिक विधिको नाच थियो । यसमा शुद्धाशुद्धी र नियमलाई पूर्ण पालना गर्नै पर्दथ्यो । सुरुमा दुई महिनादेखि नाचको अभ्यासमा लाग्नु पर्दथ्यो । अभ्यास सकेर जब स्टेजमा जाने दिन आयो त्यसपछि हंशले ठाउँ छाड्न थाल्यो । जोकोहीले जहिलेसुकै यस्तो अवसर पनि पाउँदैनन् । त्यसैले यो अवसर अरुलाई दिन पनि मनले मानेन । दह्रो मन गराएर नाट्येश्वर भगवानलाई दर्शन गरेर स्टेजतिर लागेँ । उनी स्टेजमा गएपछि भने सबै भयहरू एकै पटक मुक्त भएको अनुभव सुनाउँछन् ।

अहिले कोरोना भाइरसका कारण दर्शकको संख्या शून्यप्रायः छ । तर पनि स्टेज भनेपछि अलिकति फरक भने भइहाल्ने बताउँछन् ।

दानवको भूमिकाका चित्रकारको अनुभव

किरण चित्रकारले झण्डै २३ वर्ष भयो कात्तिक नाच अन्तर्गत् हिरण्याक्ष र हिरण्यकशिपुको भूमिकामा आफ्नो कलाकारिता देखाउन थालेको । कात्तिक नाच झट्ट देख्दा एउटा स्टेजमा गएर कलाकारले प्रस्तुत गर्ने कलाकारिता जस्तो देखिन्छ । तर प्रत्यक्ष रुपमा नाचमा सहभागी भएका चित्रकार यो सामान्य कलाकारिताभन्दा भिन्न रहेको बताउँछन् ।

भिन्न यस अर्थमा कि पहिलो त यो तान्त्रिक विधिबाट नाचिने नाच पौराणिक कथामा आधारित छ । यहाँ नृसिंहले हिरण्यकशिपुलाई नाचको समयमा छुँदा मात्रै पनि हिरण्यकशिपु नामको पात्र मूर्छित हुने गर्छ । अर्काेतर्फ यो नाचमा तीन दिनदेखि नै पात्रहरूले चोखोनितोमा ध्यान दिनुपर्ने र नाच हुने दिन बिहानैदेखि निराहार व्रत बस्नुपर्ने हुन्छ । अझ नृसिंह बन्ने पात्रले त झनै पानी पनि पिउन मिल्दैन । यस्तै कारणले यो नाच अरू नाचभन्दा भिन्न रहेको चित्रकार बताउँछन् ।

वि.सं. २०४७ सालदेखि कात्तिक नाचमा औपचारिक रूपमा प्रस्तुत सुरुवात गरेका चित्रकारलाई आफ्ना हजुरबुबाको कलाकारिता देखेर अचम्म लाग्थ्यो । हिरण्यकशिपु बनेर नृसिंहको छेउमा जाँदा त्यो पात्रमा देखिने भय, हिरण्यकशिपुले छोइसकेपछि मूर्छित हुँदाको अवस्था, तलेजुका पुजारीले पानी छर्किएपछि आधा होसमा आएको अवस्था आदि हेर्दा उनलाई यी सबै साँच्चिकै हुन्छ र ? जस्तो महसुस हुन्थ्यो । ‘हामीले कतिपटक त हजुरबुबालाई यसबारेमा सोध्यौं पनि उहाँले साँच्चिकै बेहोस हुन्छ भनेर भन्नु हुन्थ्यो । यस्तो पनि हुन्छ र जस्तो लाग्थ्यो तर अहिले आफैँले अनुभव गरेपछि विश्वास लाग्न थालेको छ ।

चित्रकारले २०४८ सालदेखि ५५ सालसम्म कुमारी, जय, इन्द्र जस्ता विविध पात्रको भूमिकामा कात्तिक नाचमा सहभागी भए । ५५ सालसम्म पनि ‘आखिर कात्तिक नाचमा नृसिंहले छुनेबित्तिकै हिरण्यकशिपु कसरी मूर्छित् हुन्छ ? भन्ने जिज्ञासाले उनको मनलाई छोइरह्यो । जब २०५५ सालमा उनी आफैँ हिरण्यकशिपु र हिरण्याक्ष बन्नुपर्ने भयो त्यसपछि उनीभित्र डरको असीम बेग चल्न थाल्यो ।

‘पहिलेदेखि नै भिन्दै किसिमको डरले मनमा जरा गाडेको थियो, त्यसैमाथि नृसिंहको छाया पर्नेबित्तिकै सात्तो जान्थ्यो ।’ चित्रकार भन्छन् ‘नृसिंहले छोएपछि त साँच्चिकै मूर्छित भइँदो रहेछ । के भइरहेको छ ? भन्नेबारे केही पनि जानकारी हुँदैन ।’

पहिलो पटक हिरण्याक्ष र हिरयण्यकशिपु बन्नको लागि २०५५ सालमा उनले अभ्यास सुरु गर्न थाले । सुरुमा दुई महिनादेखि अभ्यास गर्नुपर्ने थियो । अहिले पनि नयाँ कलाकारलाई दुई महिनाअघिदेखि नै अभ्यास गराउने गरिन्छ ।

नाचमा सहभागी हुने दिन हिरयण्यकसिपु बन्ने पात्रले केश, नङ लगायत काटेर भएर बस्नुपर्छ । यो पात्रले पानी भने खान मिल्ने व्यवस्था छ ।

मध्यरातमा नृसिंहसँगको युद्धमा मूर्छित भइसकेपछि यो पात्रलाई तलेजु पुजारीले मंगाहिटीको धाराको पानी ल्याई मन्त्रोच्चारण गरी ब्युँझाउने गर्छन् । मंगाहिटीको पानी छर्किएपछि पनि सो पात्र घरमा लगेर सगुन खान दिएर वस्त्र परिवर्तन गरेपछि मात्रै होसमा आउने चित्रकार बताउँछन् ।

नृसिंह बन्ने पात्र महेश राजोपाध्यायको अनुभव 

महेश राजोपाध्याय यस वर्षको कात्तिक नाचमा दोस्रो पटक नृसिंह बन्दैछन् । १० वर्षअघि नृसिंह बन्दा थकिन महसुस भएर बीचैमा भूमिका परिवर्तन गर्नेसम्मको सोच बनाएका उनी आफूलाई नाट्येश्वर भगवान्ले शक्ति दिएकोले सो नाच नाच्न सक्षम भएको बताउँछन् । उनलाई १० वर्षअघिको जस्तै त्रासले गाँजेको छ ।

यो नाचमा कृष्णमन्दिरको पूजारी बन्ने जुन खलकको छ उसैले नृसिंह बन्ने पालो पाउँछ । ‘एकादशी र द्वादशीको दिन पनि लगभग भोकै जस्तो भइन्छ । तेस्रो दिन पानी पनि नखाई बसेर राति नृसिंहको भूमिका निर्वाह गर्न ठूलै सकस पर्दा रहेछ ।’

उनी भन्छन् ‘अघिल्लो पटक त नाट्येश्वर मन्दिरमा दर्शन गर्न नजाँदासम्म त मेरो गोडाले समेत कामै गरेको थिएन । पहिलो पटक दुई महिना अभ्यास गरेका उनी यस पटक भने एक महिनामा नै शनिबार राति नृसिंहको अवतारमा नाच देखाउने तयारीमा छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment