Comments Add Comment

आई मिस यु म्याम !

लकडाउनको समय सकेसम्म जरुरी काम नपरी कतै नहिँडौं जस्तो लाग्ने । तर, पत्रकार भएपछि नहिँडी सुख नि के पाइन्थ्यो र । बिहान रेडियो अनि दिउँसो टेलिभिजन । मुखमा दुईवटा मास्क लगाएर भए पनि काममा त जानै पर्‍यो ।

बाटोमा यस्सो हाछिउँ आए पनि सातो जाने । कसैले थाहा पाए बर्बाद भन्दै सकेसम्म सलले मुख थुनेर आवाज बाहिर आउनै नदिने । आइहाल्यो भने आफूलाई कसैले अपराधीलाई झैं गरी हेरे झैं लाग्ने । एकातिर बिरामी भइन्छ कि भन्ने चिन्ता, अर्कोतिर बिरामी भए समाजबाट बहिस्कृत भइएला कि भन्ने पनि डर ।

यस्तै डरैडरमा काम गर्दागर्दै एक दिन अन्तराष्ट्रियरुपमा परिचित मोटिभेसनल स्पिकर सृष्टि केसीले फोन गरेर प्रश्न गरिन्- दिदी हजुर कता हराको ?

मैले कोरोनाको डरले घर, रेडियो, टेलिभिजनभन्दा बाहिर भेटघाटमा डरले निस्केकै छैन भन्ने जवाफ दिएँ ।

तपाई जस्तो क्रियाशील महिला पनि डराएर बस्ने ? आफूलाई सुरक्षित राख्दै समाजिक अभियानमा लाग्नुपर्छ भन्दै उनले विभिन्न आश्रयस्थलमा बसेका मानिसलाई नृत्यको माध्यमबाट प्रेरणा दिने अभियान चलाऔं भन्दै मलाई उत्प्रेरित गरिन्

तपाई हामीजस्तो मानिसलाई त कोरोनाले यसरी मानसिकरुपमा विक्षिप्त पारेको छ भने विभिन्न आश्रममा बसेका मानिसहरुलाई यतिबेला कति नैराश्य बढ्यो होला ? उनको कुराले मलाई साच्चै नै आजसम्म देखेका भेटेका ती निश्चल अनुहारको सम्झनाले हुटहुटी गरायो ।

विभिन्न कारणले घरबारविहीन हुन पुगेका बालबालिका, वृद्धवृद्धा अनि किशोर किशोरीको अनुहार आँखामा नाच्न थाल्यो । कोरोनाको माहामारीमा आफूलाई घरभित्रै खुम्च्याएर राख्नुपर्दा हाम्रो मानसिकतामा आएको विचलन र वर्षाैदेखि संस्थाको चार दिवारलाई नै आफ्नो संसार सम्झेर जीवन बिताएका ती आश्रमा बसेका मानिसहरु सम्झनामा आउन थाले ।

कहिलेकाहिँ संस्थाले कतै घुमाउन लैजाने, कहिले मानिसहरुले सहयोगका लागि भन्दै भेट्न जाँदा कपडाको फेरो समातेर अझै एकछिन बस्नुस् न भन्दै आँखा पिलपिल पार्नेर् । तर, अहिले त कोरोनाको माहामारीले उनीहरुलाई कोही भेट्न जान पाएका छैनन् । बाहिरबाट जाने मानिसमा आफ्नै परिवारको सदस्य देख्ने ती निर्दोष आँखाहरुले यतिबेला हामीलाई कत्ति खोजिरहेका होला है ? मन भित्रभित्रै कुँडियो ।

कोरोनाको डर त कता भाग्यो भाग्यो । सृष्टिलाई एकै वाक्यमा भनेँ, अभियान चलाऔं, म तयार छु ।

ब्लाइन्ड रक्सबाट सृष्टि केसी, कोरियोग्राफर केशव थापा अनि हाम्रो संस्था मिडिया मोभिलाइजेसन फर सस्टेनेबल डेभलपमेन्ट नेपालका तर्फबाट मैले अभियानको नेतृत्व लिने निर्णय लियौं ।

डान्सिङ्ग विथ द स्टारमा सबैले मन पराएको जोडी थियो सृष्टि र केशवको । जजबाट राम्रो नम्बर पाए पनि भोट नपुगेका कारण उनीहरु शोबाट बाहिरिएका थिए । नृत्यप्रतिको लगाव र रुचिकै कारण शोबाट बाहिरिए पनि सामाजिक अभियान सुरु गरिहाल्ने निर्णय गरेर सृष्टि र प्रकाशको जोडीले अभियानमा सहकार्यका लागि मलाई अनुरोध गर्ने निर्णय गरेका रहेछन् ।

हामीले पहिलो अभियान पयुँटारस्थित अपांग सेवाकेन्द्रबाट सुरु गर्‍यौं ।

सो संस्थामा रहेका हि्वलचेयर प्रयोगकर्ताहरुलाई नृत्यको माध्यमबाट मोटिभेसन गराउने कामबाट हाम्रो अभियानको सुरुवात गरियो ।

सृष्टि केसी र कोरियोग्राफर केशव थापाले नृत्य गराउँदा हि्वलचेयरमा बसेका किशोर किशोरीहरु चेयरमै मच्चिई मच्चिई नाचिरहेका थिए ।

हि्वलचेयरमै आफ्नो दैनिकी गुजार्न बाध्य अपागङता भएका किशोर किशोरीहरुलाई समय-समयमा यस्ता मनोवल बढ्ने अभियान चलाउन सकेमा उनीहरुको जीवनमा पक्कै सकारात्मक प्रभाव पथ्र्योहोला नि है ?

कार्यक्रम गर्दै गर्दा सृष्टि र मैले उनीहरुको अनुहार हेर्दै खासखुस गर्‍यौं । कार्यक्रम सकेपछि फर्कन लाग्दा उनीहरु केही नयाँ कुरा सिकेकोमा खुशी थिए । हामी फेरि छिट्टै आए हुन्थ्यो भन्ने भावसहितको हात हल्लाएर विदा गरे ।

अभियानअन्र्तगत हामीले दोस्रो  कार्यक्रम जोरपाटीमा रहेको सुनौलो संसारमा आयोजना गर्‍यौं । संस्थामा भूकम्पले परिवार गुमाएका बालबालिकाहरु रहेछन् । गेटबाट पस्नेवित्तिकै उनीहरुले हार्दिकताका साथ नमस्कार गर्दै हामीलाई स्वागत गरे ।

कोरियोग्राफर केशव थापाले अत्यन्तै सरल तरिकाले नृत्य सिकाउँदा बालबालिकाको अनुहारमा देखिएको खुशी देखेर यस्तो लाग्यो, मानांै उनीहरु भगवानको दूत बनेर हाम्रो सामु उभिएका छन् ।

सृष्टि केसीले खेलको माध्यमबाट उनीहरुको मनोवल बढ्ने किसिमका क्रियाकलाप गराइन् भने डान्सिङ विथ द स्टारबाट बाहिरिएका टिकटक स्टार जोडी दिपा-दमन्ताले बालबालिकालाई योगको माध्यमबाट नाच्न सिकाए ।

आफू बस्ने संस्थाका सञ्चालकलाई नै आमा मानेर बसिरहेका उनीहरुले आमा बिरामी हुनुभयो भने हामी कहाँ जाने भन्दा कार्यक्रममा जम्मा भएका हामी सबैका आँखा रसाए ।

सरकारी विद्यालयमा पढ्दै गरेका ती बालबालिकाको अनलाइन कक्षासमेत बन्द भएकाले उनीहरु ६ महिनादेखि पढ्न पाएका रहेनछन् । उनीहरु कोरोनाको डर भन्दा पनि स्कुल जान नपाएका कारणले मानसिकरुपमा विक्षप्त रहेछन् ।

भन्दै थिए, म्याम अब हामीले कहिल्यै पढ्न पाउनौं ? उनीहरुलाई दिने जवाफ हामीसँग थिएन ।

बालअधिकारलाई संविधानको मौलिक हकमा नै सुनिश्चित गरेको सरकारले अनलाइन कक्षासमेत सञ्चालन गर्न नसकेको देख्दा कठै सरकार पनि धनी र गरिबबीच कति पक्षपाती रहेछ भन्न मन लाग्यो ।

कार्यक्रम सकेर घर र्फकनै लाग्दा गेटमै दगुर्दै आएर एक बालिकाले च्याप्प हात समात्दै भनिन्- आई मिस यु म्याम !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment