+
+
Shares

कक्षाकोठामै मृत फेला परिन् शिक्षिका

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ साउन ५ गते १५:३८
मृतक शिक्षिका विमला कुमारी ध्रोङचिङ मगर

५ साउन, जनकपुरधाम । धनुषाको एक विद्यालयको कक्षा कोठामा झुन्डिएको अवस्थामा एक शिक्षिका मृत फेला परेकी छन् ।

मिथिला नगरपालिका-८ जमुनिबासस्थित जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षा कोठामा झुन्डिएको अवस्थामा एक शिक्षिका मृत फेला परेकी हुन् ।

मृतक मिथिला नगरपालिका–८ जमुनिबासकी ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगर भएको खुलेको छ । परिवारजनका अनुसार शिक्षिका मगरले सोही विद्यालयमा बाल विकास कक्षामा पढाउँदै आएकी थिइन् ।

गत साउन १ गते बिहान करिब ४:४५ बजे जमुनिबासमा विद्यालय कक्षा कोठामा मृत फेला परेपछि घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा मिटरब्याजी जनकपुरधाम उपमहानगरपालिका–९ का ५५ वर्षीय राजकिशोर यादवसँग मृतक मगरले ऋण लिएकी थिइन् ।

घटनास्थल नजिकै रहेको मगरको ज ११ प ७४९२ नम्बरको स्कुटीको डिक्कीबाट प्रहरीले सुसाइड नोट समेत बरामद गरेको जनाएको छ ।

घटनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मिटरब्याजी यादव समेत जोडिएको देखिएकाले उनलाई साउन २ गते नै पक्राउ गरी आत्महत्या दुरुत्साहन मुद्दा चलाइएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार मृतक मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन् ।

ऋण चुक्ता गरिसकेको भए पनि यादवले खाली चेक लिएर ४५ लाख रुपैयाँ उल्लेख गरेर बार्गेनिङ गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

यादवले पटक पटक मानसिक यातना, धाक धम्की र बेज्जती गर्ने चेतावनी दिएको अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी सिंहले बताए ।

यादवको घरबाट प्रहरीले विभिन्न व्यक्तिका नाममा भएका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कलै जग्गाधनी प्रमाणपत्र, विभिन्न बैंक भौचर र चेकहरू समेत बरामद गरेको डिएसपी सिंहले जानकारी दिए ।

परिवारजनका अनुसार मिटरब्याजी यादवले असार ३२ गते घरमै पुगेर पैसा तिर्न दबाब दिएका थिए । नभए चेक बाउन्स गरेर जेल पठाउने धम्की दिएका थिए । मृतक मगरले ऋण लिएको कुरा परिवारका केही सदस्यले मात्रै थाहा रहेको परिवारजन बताउँछन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?