१४ मंसिर, काठमाडौं । ग्लेन फिलिप्सको कीर्तिमानी शतक मद्दतमा घरेलु टिम न्युजिल्याण्डले दवस्रो टी२० मा वेष्ट इन्डिजलाई पराजित गर्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । अन्तिम खेलअघि नै न्युजिल्याण्डले सिरिज २-० ले आफ्नो बनाइसकेको छ ।
माउन्ट माउनगानुईमा आइतबार भएको दोस्रो टि-२० मा न्युजिल्याण्डले वेष्ट इन्डिजलाई ७२ रनले पराजित गरेको हो ।
फिलिप्सले ४६ बलमा शतक पूरा गर्दै टि-२० मा सबैभन्दा छिटो शतक बनाउने न्युजिल्याण्डको खेलाडी बने । उनले कलिन मनरोको कीर्तिमान तोडेका हुन् । मनरोले २०१८ मा वेष्टइन्डिजविरुद्धनै ४७ बलमा शतक प्रहार गरेका थिए ।
फिलिप्सको शतक मद्दतमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन मात्र बनाउन सक्यो ।
वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले सर्वाधिक २८ रन बनाए । यस्तै शिम्रन हेतमायरले २५, आन्द्रे फ्लेटचर र केली माएर्सले समान २० रन बनाए । किमो पाउलले अविजित २६ रन जोडे ।
न्युजिल्याण्डका केली जेमिसन र मिचेल स्टानरले २-२ विकेट लिए ।
त्यसअघि ग्लेन फिलिप्स र डेभोन कोनवेले तेस्रो विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि न्युजिल्याण्डको उच्च स्कोर बनाएको थियो । फिलिप्सले ५१ बल खेल्दै १० चौका र ८ छक्का मद्दतमा १०८ रन बनाए । टि-२० आईमा उनको यो पहिलो शतकसमेत हो ।
यस्तै डेभोन कोनवेले अविजित रहँदै ६५ रन बनाए । तेस्रो विकेटका लागि फिलिप्स र कोनवेले १८४ रनको साझेदारी गरे । जुन टि-२० आईमा तेस्रो विकेटका लागि कीर्तिमानी साझेदारी हो । यसअघि गत वर्ष इंग्ल्याण्डका डेविड मालान र इओन मवर्गनले तेस्रो विकेटको लागि न्युजिल्याण्डविरुद्ध १८२ रनको साझेदारी गरेका थिए ।
त्यस्तै मार्टिन गुप्तिलले ३४ र टिम सेइफर्टले १८ रन जोडे ।
वेस्ट इन्डिजका केइरन पोलार्ड, फाबियन एलन र ओसाने थोमसले १-१ विकेट लिए ।
न्युजिल्याण्डले पहिलो खेलमा वेष्ट इन्डिजलाई डिएल मेथडमा ५ विकेटले पराजित गरेको थियो । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सोमबार हुनेछ ।
प्रतिक्रिया 4