Comments Add Comment

डिजेल र पेट्रोलमा मिसावट छैन भनेर कसरी पत्याउने ?

Photo Credit : फाइल फोटो

१४ मंसिर, काठमाडौं । भारतको बरौनीबाट पेट्रोल लिएर दुईवटा ट्यांकर ३ मंसिरमा नेपाल आयल निगमको थानकोट डिपो आइपुगे । वीर बेताल आर्शिवाद कम्पनीको ना ७ ख ३९९६ र ना७ख २९९५ नम्बरको ती ट्यांकरले सधैंझैं निगमको भण्डारण केन्द्रमा पेट्रोल खन्याए ।

बरौनीबाट नेपालका जुनकुनै डिपोमा आउने ट्यांकरले २० हजार लिटर पेट्रोल बोक्छन् । यसमा केही नोक्सानी हुन्छ । वीर बेतालका ट्यांकर दुई ट्यांकरमा भने एक-एक हजार लिटर पेट्रोल कम थियो । अर्थात्, दुईवटा ट्यांकरले एक लाख रुपैयाँको तेल चोरेका थिए ।

‘निगमले ट्यांकरमा लगाएको लक जस्ताको त्यस्तै थियो, क्षमता र मूल्यअनुसारको पेट्रोल चाँहि थिएन’ डिपोका वरिष्ठ सहायक कपिल भट्ट भन्छन्, ‘ट्यांकरमा फल्स च्याम्बर बनाएर पेट्रोल चोरी गरेको पाइयो ।’

तीन महिनाबीचका घटना

पछिल्लो समय पेट्रोलियम पदार्थमा मिसावट र चोरीका घटना बढेको छ । गत असोज १३ गते पेट्रोलमा मटितेल मिसावट गर्ने ट्यांकर चालक निगमको थानकोट डिपोबाटै पक्राउ परेका थिए ।

ना ४ ख ३०८५ नम्बरको ट्याकंरका ती चालकले भारतीय आयल निगमको बरौनी रिफाइनरीबाट उठाएको २० हजार लिटर पेट्रोलमा मिसावट गरेका थिए । त्यसअघि ना ४ ख ७२५६ नम्बरको ट्याकंरमा पनि मिसावट पाइएको थियो ।

पेट्रोलमा मिसावट गरेका तीन वटा ट्याकंर साउन अन्तिम साता निगमको अमलेखगन्ज डिपोमा फेला परेका थिए । बैकुण्ठ बलामी ढुवानीकर्ता रहेकोे ना ७ ख ४०९३ ट्यांकरको पाँच नम्बर च्याम्बरमा ४ हजार लिटर पेट्रोलमा मिसावट भेटिएको थियो ।

ढुवानीकर्ता रामचन्द्र मिश्र रहेको ना ७ ख ३९२३ नम्बरको ट्याकंरमा १२ हजार लिटर पेट्रोलमा मटितेल जस्तो देखिने केमीकल मिसाएको पाइएको थियो ।

त्यस्तै, सुरेन्द्र श्रीवास्तवको ना ७ ख १७५७ नम्बरको ट्याकंरले १२ हजार लिटर पेट्रोलमा मट्टतिेल मिसाएको पाइएको थियो ।

मिसावटमा संलग्न चालकहरु निगमले कालोबजारी तथा केही सामाजिक अपराध ऐन अनुसार कारबाही गर्न प्रहरीमा बुझाएको थियो ।

कसरी खुल्यो डिजिटल लकिङ

थानकोटमा ३ कात्तिकमा पक्राउ परेको दुईवटा ट्यांकरमा हजार लिटरको च्याम्बर बनाईएको थियो । चार वर्षदेखि पेट्रोलियम ढुवानीमा रहेको ति ट्यांकरले सुरुदेखि नै चोरी गर्दै आएको हुन सक्ने निगमको आशंका छ ।

लकिङको नक्कली साँचो बनाएर बरौनीदेखि वीरगञ्जन आइनपुग्दै चोरी र मिसावट गर्ने गरेको बयान पक्राउ परेका चालकहरुले दिएका छन् ।

डिजिटल लकिङ नबिगारी मेकानिकल स्वीचिङ अरेजमेन्ट कमजोर बनाएर ट्यांकरमा मिसावट र चोरीको घटना हुने गरेको निगमका प्रवक्ता बिनितमणि उपाध्यय बताउँछन् ।

‘हाइड्रोलिक लक लगाएर डोम कभर खोल्न सजिलो बनाई त्यहीबाँट चोरी र मिसावट गरेको पाइएको छ,’ उनी भन्छन् ।

देशभर १८ सय ६५ वटा ट्यांकर सञ्चालनमा छन् । अब ति सबैमा चोरी र मिसावट रोक्न आगामी साउनदेखि इआरपी प्रविधि अपनाईने उनले बताए ।

कसरी पत्ता लाग्दैछ मिसावट र चोरी

आगामी दिनमा यस्ता बदमासी सतहमा निस्किदैं जाने निगमको दाबी छ । क्यान्सर जस्तो बनेको निगमभित्रको सेटिङ भत्काउँदा नतिजाहरु देखिन थालेको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको दाबी छ ।

तीनमहिना अघि डिपो र विभाग प्रमुखहरुको सरुवा गरेर नयाँ जिम्मेवारीमा खटाएपछि सेटिङ ध्वस्त भएको उनको भनाइ छ । तल्ला तहका कर्मचारी समेत हेरफेर गरेर प्रष्ट निर्देशन हुँदा पुरानो मिलोमतो सकिएको पौडेल बताउँछन् ।

निगमको ५० वर्षको इतिहासमा आफ्नो कार्यकाल भन्दा अघि मिसावट र चोरीको घटनामा एउटा मात्र कारबाही भएको उनले बताए ।

‘हामीले तीन महिनामा दर्जन हाराहारी बदमासी फेला पारेेर सबैलाई कालोेबजारी मुद्धा चलाएका छौँ’,उनी भन्छन्,’मालिकसम्म मिलोमतो रहेको घटनाको छानबिनका लागि सीआईबीलाई पत्राचार गरेका छौँ ।’

डिजिटल लकिङ र ल्याब स्तरोन्नतीको काम थाल्न नयाँ प्रविधिमार्फत अध्ययन गर्दा धमाधम मिसावट फेला पर्न थालेको उनले बताए । बदमासीमा संलग्न ट्यांकर र ढुवानीकर्तासँगको सम्झौता भंग गर्न सकिनेगरी ढुवानी विनियमावली संशोधन गर्ने गृहकार्य भईरहेको जानकारी उनले दिए ।

निगमको पनि कमजोरी छ

पेट्रोलियम पदार्थ चोरी र मिसावटको घटना हुनुमा व्यवसायी र ट्यांकर चालक मात्र दोषी नरहेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको दाबी छ । महासंघका महासचिव विश्वप्रसाद अर्याल निगमले आफ्ना डिपोहरुमा प्रभावकारी अनुगमन र प्रविधि चुस्त नराख्दा यस्ता घटना दोहोरिएको बताउँछन् ।

‘हामीले आफ्नै लगानीमा सेक्युरीटी लकिङ प्रणाली लगायौं’, उनी भन्छन्, ‘हामीले चोरी रोक्न कै लागि ताल्चा लगायौं, तर निगमले नियमन किन नगरेको ?’

ट्यांकरले गरेको बदमासी थाहा हुने वीङ्ग बि्रज प्रणाली निगमका हरेक डिपोमा बिगारिएको अर्यालले बताए । ‘बदमासी निगममा पनि छ, प्रविधिमैत्री भएर चोरी घटाउन थप काम गर्न हाम्रो अनुरोध छ,’ महासचिव पौडेलले भने ।

नेपाल पेट्रोलियम डिलर एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान चोरी रोक्न लगाएको ताल्चा चोरहरुले खोलेको बताउँछन् । ‘चोरको नैतिकता हुँदैन, अब कडा नियमन गरौं’, उनी भन्छन्, ‘बदमासी रोक्न निगम र चालकलाई जिम्मेवार बनाउने उपायहरु अपनाऔं ।’

इन्धनमा मिसावट र चोरीको घटनाको चुरो थाहा पाउन आपूर्ति मन्त्रालयले सर्वपक्षीय छानबिन समिति बनाउँदा अझ राम्रो हुने प्रधानको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment