Comments Add Comment

यी महिला, जसले आफ्नै घरमा ‘चोरी’ गरिन् !

१५ मंसिर, काठमाडौं । ललितपुरको महालक्ष्मी–१ का सानुकान्छा पोडे र उनकी श्रीमती कान्छी पोडे आइतबार दिउँसो ललितपुर प्रहरी परिसर, जावलाखेलमा वादविवाद गरिरहेका थिए । कान्छीले आफूमाथि घरेलु हिंसा भएको बताउँदै प्रहरीमा उजुरी दिएपछि एकजना प्रहरी निरीक्षकले उनीहरुबीच छलफल गराइरहेका थिए ।

साँझ उनै पोडेको घरमा २६ लाख रुपैयाँ नगद र सुनचाँदीका गरगहना चोरी भएको खबर आएपछि सातदोबाटोका डीएसपी मित्रबन्धु शर्मा आफैं घटनास्थलमा पुगे । उनी पुग्दा ढोका र दराज फोडिएको अवस्थामा भेटिएको थियो भने सामान पनि यत्रतत्र छरिएका थिए, झट्ट हेर्दा चोरी नभएको भन्ने कुनै संकेत देखिएको थिएन ।

तर, अनुसन्धानका क्रममा घरमा न कुनै नयाँ व्यक्ति आएको देखियो न अन्य कुनै संकेत फेला परे । बरु कान्छीको बयान शंकास्पद देखियो ।

नभन्दै खनतलासी लिने क्रममा पुजा कोठाको स्टील दराजको सेफमा लुकाएको अवस्थामा हराएको भनिएको नगद र सुनचाँदीका गरगहना फेला पर्‍यो । त्यसपछि प्रहरीले कान्छीलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

‘कुनै ठाउँमा लगानी गरेको पैसा फिर्ता आएको रहेछ’, शर्मा भन्छन्, ‘त्यही पैसा परिवारका अन्य व्यक्तिलाई बाँड्नु नपरोस् भनेर महिलाले चोरीको नाटक गरे जस्तो देखिन्छ ।’

तर, उनी जावलाखेलमा भएको वेला कसरी चोरी भयो भन्ने विषयमा प्रहरी अझै अनविज्ञ छ । कान्छी मौन छिन् ।

‘कानुनतः अभियुक्तलाई नबोली बस्न पाउने अधिकार पनि छ, त्यसैले जबरजस्ती सोध्ने कुरा पनि भएन’, ललितपुर प्रहरीका एसपी प्रज्वल महर्जन भन्छन् । त्यसैले अहिले प्रहरीले प्राविधिक पक्षको अनुसन्धान र विश्लेषण गरेर महिलाले अन्य कुनै व्यक्तिलाई प्रयोग गरेर चोरीको नाटक गरेको हुनसक्ने आंशकामा छानविन गरिरहेको छ ।

डीएसपी शर्माका अनुसार कान्छीको श्रीमान सानुकान्छासहित परिवारका अन्य सदस्यसँग झगडा परिरहने गरेको पाइएको छ । चोरिएको भनिएको पैसामा उनले कमाएकोसहित श्रीमान र छोराबुहारी लगायतको पनि लगानी छ । त्यो रकमले जग्गा किन्ने समेत उनीहरुको तयारी रहेको खुलेको छ ।

तर, जगगा किन्न नसकेपछि राखिएको पैसा झगडा बढ्दै जाँदा लुकाएर चोरीको नाटक गरेपछि पैसा अरुलाई बाँड्नु नपर्ने कान्छीले सोचेको हुनसक्ने देखिएको प्रहरी बताउँछ । उनको योजनाबारे श्रीमानलाई जानकारी नभएको हालसम्मको अनुसन्धानले देखाउँछ ।

घर झगडामा झुठो अफवाह फैलाएर प्रहरीलाई दुःख दिएको अभियोगमा कान्छीमाथि विस्तृत अनुसन्धान हुने ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्रचार्य बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment